काठमाडौँ । कोशी प्रदेश सरकारका स्वास्थ्य मन्त्री निर्मला तावा लिम्बुले स्वास्थ्य मन्त्रालयमा भएको तोडफोडकोका कारण मन्त्रालय अस्तव्यस्त भएको बताएकी छन् । प्रदेश सभाको बैठकलाई सम्बोधन गर्ने क्रममा स्वास्थ्य मन्त्री निर्मला तावा लिम्बुले स्वास्थ्य मन्त्रालय आन्दोलनकारी र सुरक्षा निकायको टार्गेटमा परेको जानकारी गराएकी छन् ।
स्वास्थ्य मन्त्रालय दोहोरो मारमा परेको कारण रणभूमिको मैदान बनाइएको उनले बताइन् । प्रदेशको औषधी, खोप तथा स्वास्थ्यसँग सम्बन्धित गर्नुपर्ने स्वास्थ्य मन्त्रालयलाई सुरक्षा दिन नसकेको बारे प्रश्न उठाइन् । उनले आफू असुरक्षित रहेको समेत सदनलाई जानकारी गराइन् । पहिचान पक्षधर भएकै कारण सरकारले १ नम्बर टार्गेटमा आफूलाई राखेको समेत आरोप लगाइन् ।
‘मेरो सुरक्षा र मेरा परिवारको सुरक्षा कसले लिने,’ उनले भनिन्, म यो भूमिको भूमि पुत्र हैन ?
सरकार पक्षबाट अश्रुग्याँस प्रहार भएको, प्रदेश स्वास्थ्य निर्देशनालयको गाडी फुटाइएको, प्रदर्शनकारीहरूले मन्त्रालय भित्र तोडफोड गरेको उनले बताइन् । शान्तिपूर्ण आन्दोलनलाई बिथोल्ने काम भएको उनले बताएकी छिन् ।
‘म बस्ने चेम्बरमा गोली हान्ने काम भएको छ, त्यसको न्याय कसले दिने उनले भनिन्, त्यहाँ भित्र म भएको भए मलाई गोली लाग्ने थियो ।
उनले पार्टीको निर्णय अनुसार आफू सरकारमा रहेको जानकारी दिँदै स्वास्थ्य मन्त्रालयको आर्थिक वर्षको अन्त्यको लागि हलमा समीक्षा भएको कारणले मात्र आफू सुरक्षित हुन सफल भएको बताइन् ।
‘सरकारले गोली ठोक्ने मलाई, प्रदर्शनकारीबाट ढुङ्गा हान्ने मलाई अनि मैले के गर्ने,’ मन्त्री लिम्बुले भनिन्, ‘मलाई जवाफ चाहियो, देवकोटा चोकमा त्यति धेरै सुरक्षाकर्मीहरू हुँदा स्वास्थ्य मन्त्रालयमा ४ जना मात्र सुरक्षाकर्मी किन राखियो ?