Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

“यो भोटो कसको ? राष्ट्रपति पौडेलद्वारा भोटो जात्रा अवलोकन भोटो देखाउने जात्राका तस्वीरहरू”


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, जेष्ठ ११ २०८०
  • 2.3K
    SHARES

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो जात्रा अवलोकन गर्नुभएको छ । राष्ट्रपति पौडेलले जावलाखेलमा बिहीबार अपरान्ह आयोजित भोटोजात्रामा सहभागी भइ भोटोजात्रा अवलोकन गर्नुभएको हो ।

मत्स्येन्द्रनाथ (मच्छिन्द्रनाथ)को रथ लगनखेलबाट जावलाखेल पुर्‍याइएको चौथो दिन भोटो देखाउने परम्पराअनुसार आज राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा गुठी संस्थान ललितपुरका कर्मचारीले भोटो देखाएका थिए ।

सो अवसरमा राष्ट्रपति पौडेलले रातो मच्छिन्द्रनाथको दर्शन गर्नुका साथै प्रसाद ग्रहण गर्नुभएको हो । सो अवसरमा राष्ट्रपति पौडेलले जीवित देवी कुमारीको दर्शन पनि गर्नुभयो । गत बैशाख ११ गतेदेखि सुरु भएको रथ जात्रा बिहीबार भोटो देखाएसँगै यस वर्षका लागि जात्रा सम्पन्न भएको छ ।

भोटोजात्रा अवलोकन गर्न उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र मन्त्रीहरु सहभागी हुनुहुन्थ्यो ।रातो मत्स्येन्द्रनाथको जात्रा नेपालमा मनाइने जात्रा मध्येकै सबैभन्दा लामो जात्रा हो । मत्स्येन्द्रनाथको रथ यात्रा बैशाख शुक्ल प्रतिपदामा सुरु भएर आषाढ शुक्ल चतुर्थी (दुई महिना)सम्म चल्छ ।

मत्स्येन्द्रनाथको रथ यात्राको अन्तिम दिन भोटो देखाउने जात्रा हुन्छ । पुल्चोकमा रथारोहण गरी शुरु भएको मत्स्येन्द्रनाथको रथयात्रा गाःबाहल, मंगलबजार, सुन्धारा, लगनखेल, इटिटोल हुँदै जावलाखेलमा पुर्‍याएर भोटो देखाइन्छ । यससँगै मत्स्येन्द्रनाथलाई सानो खटमा राखी बुंगमतीमा लगिएपछि जात्रा समापन हुन्छ । पौराणिक कथन अनुसार १२ वर्षसम्म अनिकाल लागेपछि भक्तपुरका तत्कालीन राजा नरेन्द्र देवले यो जात्राको शुरुवात गराइएको किंवदन्ती छ ।

भोटो जात्राको कथा

किंवदन्तीअनुसार काठमाडौँ उपत्यकामा रहेको टौदहमा एक जोडी नाग दम्पती बस्थ्यो । उक्त दम्पती नागहरूका राजा कर्काेटक नागको जोडी थियो । एक पटक नागिनीको आँखा बिरामी भयो । राजाले नागिनीको आँखा उपचार गराउने वैद्य खोज्ने क्रममा भक्तपुरमा एक जना जान्ने ज्यापू वैद्य रहेको थाहा पाए । कर्कोटक नाग ज्यापू वैद्यलाई खोज्न गए । नागले ज्यापूलाई नागिनीको आँखा दुखेको बिन्ती बिसाए । ती ज्यापू वैद्यले नागको अनुरोध स्वीकारी दुवै टौदह पुगे ।

वैद्यले नागिनीका आँखामा मलम बनाएर लगाइदिए । उनको आँखा निको भयो । नाग नागिनी ज्यादै खुसी भएर ज्यापू वैद्यलाई अनेक पुरस्कार दिए । सो पुरस्कारमा अनेक किसिमका मणि जडेको झलझल झल्कने भोटो पनि थियो । त्यो भोटो लगाएर ज्यापू वैद्य ढल्कँदै हिँड्थे । ज्यापूको त्यति राम्रो भोटो देखेर भूतलाई लोभ लाग्यो । ज्यापूले भोटो फुकालेर आलीमा राखी खेत खन्न थालेपछि भूतले भोटो सुटुक्क चोरेर लग्यो । हस्याङ्फस्याङ गर्दै वैद्य भूतको पछि लागे । उनले भूतलाई समात्न सकेनन् ।

पाटनमा त्यसअघि मत्स्येन्द्रनाथको रथ तान्ने मात्र चलन थियो । यस समय मत्स्येन्द्रनाथको रथ तानेर जावलाखेल ल्याइपुर्‍याउँदा उपत्यकावासी र भूतप्रेतहरू पनि जात्रा हेर्न आउँथे । त्यो भोटो चोर्ने भूत पनि जात्रामा आउँछ कि भनेर ज्यापू त्यहाँ आइपुगे । नभन्दै, झल्झली झल्केको भोटो लगाएर भूत जात्रा हेर्न आएको रहेछ । त्यो भूत झिलिक्क देखिएर मिलिक्क हराउँथ्यो । बल्लतल्ल वैद्यले पछाडिबाट भूतका पाखुरामा च्याप्प समाते । उनले भूतसँग आफ्नो भोटो मागे । भूतले मानेन । दुवैका बीच ठुलो झगडा भयो । राजा गुणकामदेव पनि मत्स्येन्द्रनाथको दर्शन गर्न र जात्रा हेर्न त्यहाँ आएका थिए । राजाका भारदारले ती दुवैबीच ठुलो झगडा भएपछि राजाका अगाडि हाजिर गराए ।

वैद्यले राजासामु ‘महाराज मलाई कर्काेटक नागले दिएको भोटो यसले चोर्‍यो’ भने । भूतले भोटो मकै बारीमा आफूले पाएको राजासामु बतायो । गुणकामदेव न्यायी र धर्मात्मा राजा भएकाले दुवैसँग प्रमाण मागी निर्णय नहुञ्जेल त्यो भोटो नासोका रूपमा मत्स्येन्द्रनाथको पुजारीलाई राख्न अनुरोध गरेको मानिन्छ ।

प्रमाणका लागि ज्यापू वैद्य टौदह किनारमा पुगेर कर्काेटक नागलाई भेटे । नागले आफू पनि मान्छेको रूप लिई सेतो लुगा लगाएर मत्स्येन्द्रनाथ जात्रामा साक्षी बन्न आउने बताए । ‘म आउँदा हुरी चल्नेछ । म अरूभन्दा अग्लो पनि देखिनेछु’, कर्काेटक नागले भने ।

त्यस समय जावलाखेलमा मत्स्येन्द्रनाथको रथ आइपुगेको तीन दिन भएको थियो । ज्यापू भोटो पाउने आश लिएर बेलैमा जावलाखेल आए । राजा गुणकामदेव पनि त्यहाँ आए । एक छिन हुरी चल्यो तर, वैद्यले हुलमा अरूभन्दा अग्लो मान्छेलाई ठम्याउन सकेनन् । राजाले त्यो कसको भोटो हो भनी मत्स्येन्द्रनाथ रथका चारै कुनाबाट देखाउने आज्ञा दिए तर, साक्षी प्रमाणसहित त्यो भोटो लिन कोही पनि अघि सरेनन् भन्ने मान्यता अझसम्म नेपालमा रहिआएको छ ।

यसरी, हरेक वर्ष रातो मच्छिन्द्रनाथको जात्राको चौथो दिन देशको सम्माननीय व्यक्तिको उपस्थितिमा भोटो देखाउने परम्परा आजसम्म चलिआएको छ। नेपालमा राजतन्त्र हुञ्जेल राजाको उपस्थितिमा र राजतन्त्र हटी गणतन्त्र कायम भएपछि राष्ट्रपतिको उपस्थितिमा भोटो देखाइँदै आएको छ ।

तस्बिरहरु:

     

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४