Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सरकारको आशंका : ३१ लाख थान विद्युतीय चुरोट मात्रै आयो कि सुन पनि ? भारत तस्करीको आशंका


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, जेष्ठ ११ २०८०
  • 2.2K
    SHARES

काठमाडौं । फागुन २०७९ को अन्तिम साता नेपालको भैरहवा भन्सार नाका आसपास हुँदै एक ट्रक विद्युतीय चुरोट (भेप) भारत छिरेको सूचना अर्थ मन्त्रालयमा पुग्यो । तातोपानी भन्सार कार्यालयबाट छुटेको भनिएको उक्त ट्रक काठमाडौं हुँदै भैरहवाबाट अवैध रुपमा भारत पसेको अस्पष्ट सूचनामा उल्लेख थियो । मन्त्रालयले यसअघि खासै नसुनेको यस्तो सूचनाबारे मातहतको भन्सार र नाकाका प्रहरीलाई मन्त्रालयले खोजबिनका लागि आग्रह गर्‍यो ।

मन्त्रालय स्रोतकाअनुसार ‘नेपालमा पछिल्लो समय विद्युतीय चुरोट अधिक मात्रामा भित्रिएकोसम्मको रिपोर्ट भन्सारबाट भयो,’ ती अधिकारीले भने, ‘तर, तातोपानी नाकाबाट भित्रिएको चुरोट भैरहवाबाट भारत पसेको भन्ने यकिन विवरण मातहतका निकाय र प्रहरीबाट पनि आएन ।’ पुष्टि नभएको सो सू्चनालाई मन्त्रालयले रेकर्डमा राख्दै विद्युतीय चुरोटको कारोबार नियाली रहेको बेला वैशाख अन्तिम साता त्रिभुवन विमानस्थलमा लिलामी प्रक्रियामा रहेकाे विद्युतीय चुरोटमा ठूलो परिमाणमा सुन भएको घटना सार्वजनिक भयो ।

१९ किलो सुन लुकाइएको उक्त चुरोट १० पुसमा चीनबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल भित्रिएको अनुसन्धानबाट खुलेसँगै अर्थ मन्त्रालय आफूलाई प्राप्त भएको चैतको पुरानो सूचनासँग झस्कियो । नेपालबाट तस्करी भएर सुन भारत जान्छ भन्ने भाष्य छ । पुसमै सुन भरिएको भेप आएको रहेछ, यसको अर्थ चैतमा भेप मात्रै आएन होला र या त्यसमा पनि केही थियो कि भन्ने आशंका नहुने कुरै भएन ।’

भेपको नेपाल कनेक्सनबारे मन्त्रालयले गरेको अनुसन्धानमा भारतले यो वस्तु प्रतिबन्धको सूचीमा राखेको देखियो । विद्युतीय चुरोट ब्याट्रीबाट चल्ने यन्त्रहरू हुन् । श्वास लिने बाफमा निकोटिन, स्वाद, र विषाक्त पदार्थहरू समावेश हुने भएकाले यसलाई क्यान्सर निम्त्याउन सक्ने सुर्तीजन्य पदार्थ मानिन्छ । भारतको केन्द्रीय राजस्व चुहावट निकाय डिपार्टमेन्ट अफ रेभिन्युले गत वर्ष मात्रै एक अर्ब ३४ करोड भारु भन्दा धेरैको यस्ता अवैध विद्युतीय चुरोट भेप बरामद गरेको देखियो । तस्करी भएर भारत पुग्ने यस्ता भेप नेपालबाट पुगेको भन्ने कुनै विवरण त छैन । तर, पछिल्लो केही वर्षदेखि भारतमा प्रतिबन्धित भेपको नेपालमा बढ्दै गएको अस्वभाविक आयातले नेपालमा विद्युतिय चुरोट (भेप) कारोबार शंकाको घेरामा परेको छ ।

के हो भेप ?

विद्युतीय चुरोट ब्याट्रीबाट चल्ने यन्त्रहरू हुन् । जुन मानिसहरूले तरल पदार्थलाई सास फेर्न सकिने वाष्पमा तताउन प्रयोग गर्छन् । श्वास लिने बाफमा निकोटिन (सुर्तीमा लाग्ने लत लाग्ने औषधि), स्वाद, र विषाक्त पदार्थहरू समावेश हुने भएकाले यसलाई क्यान्सर निम्त्याउन सक्ने सुर्तीजन्य पदार्थ मानिन्छ ।संसार भरका देशहरुमा यो वस्तुलाई सरकारले ई–सिगरेटलाई सुर्तीजन्य पदार्थको रूपमा नियन्त्रण गर्छ । तिनीहरूलाई ई–सिगरेट वा भेप भनिन्छ । नेपालमा बजारमा एक हजार रुपैयाँ देखि १० हजार भन्दा धेरै प्रतिथान मूल्यमा यस्तो चुरोटहरु बिक्री हुने गरेका छन् । विभिन्न अनलाइन बिजनेश साइटहरुले यस्तो चुरोट बिक्रीका लागि राखेको भेटिन्छ ।

१० महिनामा ३१ लाख ७१ हजारभन्दा बढी थान भेप आयात

चालु आर्थिक वर्षको वैशाखसम्म नेपालमा ३१ लाख ७१ हजार ९९७ थान भेप नेपाल भित्रिएको छ । जुन गत आवको ठिक यसै समयको तुलनामा २७ लाख ४५ हजार थानले बढी हो । नेपालमा खासै धेरै प्रयोगमा नआउने यस्तो भेप आयातका लागि चालु आवमा १८ करोड ५९ लाख ५४ हजार रुपैयाँ खर्च भएको छ ।जसबाट सरकारले ११ करोड ६८ लाख ४८ हजार राजश्व संकलन गरेको छ । गत आव २०७८÷०७९ मा कुल ४ लाख २६ हजार ३७२ थान भित्रिएको यस्तो वस्तु अघिल्लो आर्थिक वर्ष २०७७÷०७८ मा २९ हजार २८ पिस मात्रै नेपाल आएको थियो । जसको लागत ३२ लाख ९८ हजार मात्रै थियो ।

चीनबाट ३१ लाख थान भेप

सरकारी विवरणअनुसार पछिल्लो समय चीनबाट नेपालमा अधिक मात्रामा भेप भित्रिरहेको छ । चालु आवको वैशाखसम्म भित्रिएको ३१ लाख ७१ हजार थान भेप मध्ये चीनबाट मात्रै ३१ लाख २६ हजार थान भेप नेपाल भित्रिएको थियो । जसको मूल्य १८ करोड रुपैयाँ भन्दा धेरै छ ।यस्तै, २६ हजार ५६४ थान भेप अमेरिकाबाट नेपाल भित्रिएको छ भने १० हजार ९ सय थान भेप दुबईबाट नेपाल आएको देखिएको छ । यसबाहेक थोरै परिमाणमा कोरिया र बेलायतबाट पनि भेपहरु नेपाल आएको देखिएको छ । गत वर्ष आएको ४ लाख बढी थान भेपमध्ये ३ लाख ९४ हजार थान भेप चीनबाट मात्रै नेपाल भित्रिएको थियो । यस्तै ११ हजार थान भेप अमेरिका र दुबईबाट १० हजार थान भेप नेपाल आएको सरकारी तथ्याङ्क छ ।

किन भित्रियो नेपालमा भेप ?

नेपाल भारत सीमा क्षेत्रका भन्सार अधिकारीहरुकाअनुसार करिब एक सय रुपैयाँमा चीनमा पाइने यस्तो भेप भारतीय बजारमा प्रतिबन्धका कारण २ हजार रुपैयाँसम्ममा बिक्री हुने गरेको छ । भेपलाई सिधा हिसाबले कारोबार गर्दा पनि प्रतिथान कम्तीमा एक हजार देखि १८ सय रुपैयासम्म नाफा हुन्छ । नेपालमा खासै आयात नहुने भएका कारण यस्तो वस्तुको नेपाली भन्सार मूल्यांकन प्रतिथान ३५ सेन्ट अमेरिकी डलर मात्रै छ । यदी त्रिभुवन विमानस्थलमा भेटिएको भेपमा सुन भेटिए जस्तै गरी नेपाल भित्रिएको भेपको दुरुपयोग भएको हो भने त्यो झनै ठूलो अपराध हुने भन्सार विभागका अधिकारीहरु बताउँछन् ।

बढ्यो भन्सार मूल्यांकन

अत्यधिक मात्रामा नेपाल भित्रिएको भेप शंकास्पद रहेको भन्सार विभागको दाबी छ । विभागका अधिकारीहरुका अनुसार नेपाल भित्रिएको यो आर्थिक वर्षको भेपको परिमाणअनुसार बजारमा कारोबार र खपत देखिदैंन । शंकास्पद कारोबारकै कारण भन्सार विभागले केही अघि भेपको मूल्यांकन बढाउने निर्णय गरेको छ । बढेको मूल्यांकनले यसको आयातलाई कम गर्ने दाबी गरिएको छ ।

अझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भेटिएको सुनसहितको भेपका कारण यस्तो कारोबार झनै शंकाको घेरामा परेको भन्सारको आन्तरिक मूल्यांकन छ ।भन्सार विभागका सूचना अधिकारी पुण्यबिक्रम खड्काले भने भेपको भन्सार मूल्यांकन बढेको मात्रै आफ्नो जानकारीमा रहेको बताउँछन् । ‘यस अघि धेरै आयात नभएका कारण विभागको नोटिसमा नभएको यो वस्तुको भन्सार मूल्यांकन ३५ अमेरिकी सेन्ट मात्रै थियो,’ खड्काले भने, ‘अहिले मूल्यांकन एकै पटक ३.६५ सेन्ट अमेरिकी डलरले बढाएर ४ डलर पुर्‍याइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४