काठमाडौं । काठमाडौं र ट्राफिक जाम एकअर्काका पर्याय नै हुन् भन्दा हुन्छ । काठमाडौंका मुख्य चोक यस्ता छैनन् जहाँ जाम नहोस् । ट्राफिक व्यवस्थापनका लागि सडकमा अहोरात्र खटिरहेका हुन्छन् ट्राफिक प्रहरी । ट्राफिक प्रहरीलाई मात्रै सवारी व्यवस्थापन गर्न सकस भएपछि चोकहरुमा ट्राफिक बत्ती पनि राखिएको छ । अहिले केहीबाहेक अधिकांश मुख्य चोकमा ट्राफिक बत्ती जडान गरिएका छन् ।
तर ट्राफिक बत्ती भने सबैभन्दा बढी सवारी चाप हुने समय अर्थात् पिक आवरमा भने बल्दैनन् किन ?
एक बिहान साढे ९ बजेतिर नयाँबानेश्वरबाट लगनखेल जाने टेम्पोमा चढिन् नरिवान एडी । उनलाई अफिस समयमै पुग्नुथियो । तर टेम्पो गुडेन । उनले टेम्पोबाट यसो चिहाएर हेरिन्, बानेश्वरबाट माइतीघरतर्फ जाने सवारीसाधन चलिरहेका थिए । निकै लामो समय त्यतातर्फका गाडी ट्राफिकले छोडिरहेको थियो, ट्राफिक लाइट चाहिं बन्द गरेको थियो । जबकि बिहान ११ बजेपछि भने ती लाइट निर्वाध बल्न थाल्छन् ।
उनले मन नमानेर चालकलाई सोधिन्, ‘ट्राफिकले समातेको हो दाइ ?’ चालकले होइन कहिलेकाहीं यस्तै हुन्छ भने ।
बानेश्वरबाट भक्तपुर जाँदै गरेकी मनिषा सुवालको पनि यस्तै अनुभव छ । अफिसबाट चाँडै काम सकाएर बेलुका ६ बजेतिर निस्किएकी उनी गाडी चढेको ४५ मिनेटसम्म बानेश्वरमै रोकिइन् । कारण थियो, ट्राफिकले एकापट्टिको मात्रै सवारीलाई पास गरिरहनु । शंखमूल जाने, माइतीघर जाने गाडीहरुलाई पालैपालो पठाइरहँदा कोटेश्वरतर्फका गाडी भने लामै समय रोकिन पुगेका थिए । उनको अनुभवमा ट्राफिक बत्ती बालिएको भए, सबैले पालो पाउँथे ।
सवारीचालक र सर्वसाधारणले ट्राफिक प्रहरी बसेपछि झन् जाम हुन्छ भन्दैथिए । अरुबेला लाइट बाल्दा यस्तो जाम नै नहुने उनीहरुको भनाइ थियो । बिना कारण जाममा किन गरेको हो यात्रुहरु आक्रोशित पनि भइरहेका थिए ।

काठमाडौंबासी हुनुहुन्छ भने यस्तो समस्या तपाईंले भोग्नुभएकै होला । ट्राफिक व्यवस्थापनका लागि बत्ती राख्ने तर बढी जाम हुने बेलामै किन निभाउने ? यो प्रश्न धेरैको मनमा उठिरहेको हुन्छ । तर काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टको तर्क भने अर्कै छ ।
‘पिक आवरमा सवारीसाधनको चाप सडक अनुसार घटबढ हुने भएकाले ट्राफिक बस्ने गरिएको हो । सवारीको चाप कता बढी छ त्यता हेरेर पठाउनुपर्ने भएकाले लाइट बन्द गर्ने गरेका छौं,’ उनी भन्छन्, ‘अहिले हामीकहाँ जडान गरिएका ट्राफिक लाइट फिक्स टाइमका हुन् । कुनैमा १३० देखि १८० सेकेण्डको समय राखिएको छ ।’
उनी थप्छन्, ‘उदाहरणका लागि बेलुकाको समय कोटेश्वरबाट सातदोबाटो वा उपत्यकाबाहिर जाने गाडीको चाप बढी हुन्छ । हामीले बाहिर जाने गाडीलाई दुईचोटि पठाउने र भ्यालीभित्र छिर्नेलाई एकचोटि दिने र बिहानको समय भ्यालीभित्र छिर्ने बढी हुने र बाहिर जाने खालीखाली वा कम चाप हुने भएका कारण त्यही अनुसार मिलाउने गर्छौं । ट्राफिक लाइट फिक्स टाइमको हुने भएकाले व्यवस्थापन गर्न पिक आवरमा गाह्रो हुन्छ ।
यद्यपि अहिले तत्कालका लागि पिक आवरमा ट्राफिक प्रहरीको भौतिक उपस्थिति नै प्रभावकारी देखिए पनि अन्य बेला भने ट्राफिक बत्तीबाट सवारी व्यवस्थापन राम्रो भइरहेको प्रवक्ता भट्ट बताउँछन् । चाँडै नै सेन्सरयुक्त ट्राफिक बत्ती आए सवारी व्यवस्थापनमा धेरै सहज हुन सक्छ । ‘सेन्सरवाला लाइटले जता बढी सवारी चाप छ, त्यता बढी र कम भएकोतिर कम समय देखाउँछ । त्यस अवस्थामा अहिलेजस्तो ट्राफिक प्रहरी खटिन आवश्यक हुँदैन,’ उनी भन्छन् ।
काठमाडौंमा नयाँ बानेश्वर, थापाथली, त्रिपुरेश्वर, सिंहदरबार, दरबारमार्ग, पुतलीसडक, कमलपोखरी, नारायणगोपाल चोक, गौशाला लगायत चोकमा ट्राफिक बत्ती राखिएका छन् ।