Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

तपाईंसँग निकट नहुँदैमा कसरी अयोग्य हाकिम सा’ब ?


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, जेष्ठ ८ २०८०
  • 1.7K
    SHARES

बहिनी तिमीसँग केही कुरा भन्न मन थियो, कहाँ छ्यौ ?’ भन्दै एकजना दिदीले म्यासेज पठाउनुभयो । म घरमा भएको जानकारी गराएँ । ‘तिमीलाई फुर्सद र एक्लै भएको बेला मलाई खबर गर है’, उहाँले फेरि अर्को म्यासेज पठाउनुभयो ।

शनिबारको दिन थियो । बिहान घरको काम सकेर दिदीलाई फोन गरें र सोधें, ‘बिहान के विषयमा कुरा गर्न खोज्दै हुनुहुन्थ्यो दिदी ? के भयो र ?

मेरो कुराले एकैछिन अवाक् भएपछि दिदीले जवाफ दिनुभयो, ‘के हुनु र बहिनी ? मेरो स्वभाव तिमीलाई थाहा छँदैछ, म अलि छुच्ची छु, कसैसँग झुक्न र चाकडी गर्न जान्दिनँ, हाकिमसँग नजिक हुन त झन् मेरो ब्रहृमले कहिल्यै पनि सिकाएन । तर यही कारण आफ्नो करियर नै डामाडोल हुने अवस्था पनि आउने रहेछ । अहिले चलेको गीत झैं सकम्बरी जस्ता मालामाल हुने रहेछन्, म जस्ता काममा मात्रै पेलिनेहरूको मुखमा आइपुगेको गाँस पनि खोसिने रहेछ ।

निकै घुमाउरो पाराले कुरा गर्नुभयो । मलाई लाग्यो, उहाँसँग भेटेरै कुरा गर्नुपर्छ । बिदा परेकाले आइतबार भेटेरै कुरा गर्ने मेरोे प्रस्तावमा दिदीले सहमति जनाउनुभयो ।

दिदीसँग कुरा गरेपछि फोन काटियो तर मनका कुरा काटिएनन्, ‘किन यी दिदीले आज यस्तो कुरा गरिन् ? कहिल्यै कसैसँग नझुक्ने कठोर दिदीलाई निराश बनाउने हिम्मत कसको होला ?’ एउटा अफिसमा हाकिमसँग नोकझोंक पर्दा ‘यस्ता जागिर जति पनि पाइन्छ, तपाईंको जागिर तपाईं नै खानुस्’ सम्म भनेर हिंडेकी दिदीले १५ दिनपछि अर्कै जागिर पाएकी थिइन् । महिला कर्मचारीलाई दुर्व्यवहार गर्ने हाकिमलाई चप्पलले हिर्काउन आँटेकी दिदीलाई सुरक्षा गार्डले रोकेका थिए रे !

भोलिपल्ट दिदीसँग भेट भयो । सधैं हाँसिरहने, उज्यालो चेहराकी दिदीको मुहार खिसि्रक्क परेको थियो । ‘त्यस्ती उज्याली दिदीको मुहारमा आज किन ग्रहण ?’ हाँसी-हाँसी सोधें ।

‘कुनै दिन हँसिली थिएँ तर अहिले अर्कै तनावमा छु । ल यता बस, आऊ’ छेउको कुर्सी तान्दै उहाँले भन्नुभयो, ‘म कस्तो छु भन्ने तिमीलाई राम्रोसँग थाहा छ नि ! म कसैसँग नझुक्ने स्वभावकी केटी हुँ, न घरमा न माइतीमा । आजसम्म शानसँग जिन्दगी बितेको छ तर मेरो अफिस अहिले अफिस जस्तो भएन ।

दिदी बोल्दै जानुभयो, ‘क्षमता होइन सुन्दरता बिक्न थाल्यो, इमानदारी होइन चाकडी बिक्न थाल्यो । कामको प्रगति होइन हाकिमसँग मस्केर गफ चुट्ने, कुरा लगाउनेहरूको बोली बिक्न थाल्यो । अनि म जस्ता खरो स्वभाव हुने, काममा मात्रै घोत्लिने कर्मचारीको औचित्य नै सकिन थालेछ भन्ने लाग्न थाल्यो । तिमीहरूको अफिसतिर पनि यस्तै हुन्छ कि प्राइभेटमा मात्रै यस्तो हो, बहिनी ?

म केही बोलिनँ र श्रोता बनेर उहाँका कुरा सुनिरहें, ‘घरमा श्रीमानसँग पनि कुरा गरें । तनाव छ भने जागिर छोड्न भन्नुभयो । यत्रो १५ वर्ष भइसक्यो जागिर खाएको, यही अफिसमा मात्रै मेरो आठ वर्ष पुग्यो होला । यतिका वर्ष पसिना बगाएको अफिस किन यत्तिकै छोड्ने ? छोड्न र दबिएर बस्न पनि मन छैन ।

‘दिदी, नाम चलेकै कम्पनीमा माथिल्लै ओहोदामा कार्यरत हुनुहुन्छ, तपाईं जत्तिको माथिल्लो पदको महिला कर्मचारी पनि यस्तो अँध्यारो अनुहार लगाउनुहुन्छ, हाकिमको व्यवहारसँग सन्तुष्ट हुनुहुन्न भने तल्लो तहका महिलाहरूको हालत के होला ? खासमा भएको चाहिं के हो ?’ सानो मान्छेको ठूलो बुद्धि देखाएँ ।

उहाँ समस्याको पोको फुकाउन थाल्नुभयो :

‘मैले अहिले सम्हालेको पदमा बहाल भएको पाँच वर्ष पुग्यो, स्वाभाविक रूपमा मेरो बढुवा हुनुपर्ने थियो । मेरो सबै मापदण्ड पुगेको छ । तर मेरो नाम कटाएर अर्कै महिला पात्रको नाम हाकिमले पठाएछन्, जुन कुरा मलाई थाहै थिएन । सिनियरको हिसाबमा तपाईंको नाम आउनुपर्ने, अर्कैको नाम आएको भनेर एचआर प्रमुख म्यामले फोन गर्नुभयो । त्यसपछि मन झसङ्ग भयो ।

मेरो अनुभव, शैक्षिक योग्यता, अफिसले दिएको कामको कार्यसम्पादन सबै पुगेको छ तर मभन्दा जुनियर कर्मचारीको नाम छनोटमा परेछ, यस्तो हुँदा कसलाई पिर पर्दैन ? हाकिमको कोठामा गएँ, मेरो कुरा सुनेर केही बोलेनन् । लाजै नमानिकन उल्टै अर्को वर्ष भइहाल्छ नि किन पीर मान्नुहुन्छ भने ।

सरकारी होउन् या निजी, अपवाद बाहेक जहाँ पनि हाकिम सा’बहरू कोही न कोहीसँग अपत्यारिलो किसिमले नजिकिएका हुन्छन् । तर घरपरिवार र छोराछोरी हुँदाहुँदै एकाध पात्रसँग नजिकिएकै भरमा, उनीहरूका कुरा सुनेकै भरमा अर्काको करियर ओझेलमा पार्ने हर्कत चाहिं किन हुन्छ ?
हाकिमले जुन पात्रको नाम सिफारिस गरेका थिए, ती पात्र हाकिमकी निकै निकटस्थ हुन् भन्ने हल्ला त तीन वर्ष पुरानै हो । अफिसमा सबै शाखातिर हल्ला फैलिएपछि लाज पचाउन आफैं अभिभावक बनेको नाटक गरेर ती महिलाको विवाह गराइदिएका हुन् रे भन्नेसम्म सुनियो । यी दुईको व्यवहारले अफिसका सबै कर्मचारी आजित छन्, तर भएर के गर्नु ? हाकिम साब दाहिना भएपछि कसैको केही लाग्दो रहेनछ । तल्लो तहका कर्मचारी भए पो स्पष्टीकरण सोधेर उस्तै परे जागिरबाट निकाल्थे ! तर हाकिम साबलाई कसले हिम्मत गर्ने ? हाकिमको ओत लागेकी बडा हाकिम्नीलाई झन् कसले आँट गर्ने ?

उनीहरूको व्यक्तिगत सम्बन्ध जे सुकै होस् तर हाकिमसँग निकट भएकालाई बढुवा गराउनकै लागि म जस्ता पात्र सिकार हुनु त भएन नि ! मिडियामा सबै कुरा छरप्रष्ट पारौं कि भन्ने पनि लाग्छ तर अन्यायमा नि आफैं पर्ने, सबैतिरको तारो नि आफैं भइने हो कि भन्ने पनि लाग्यो । हाकिमको यो व्यवहारले म निकै विचलित भएँ, अफिसका मन मिल्ने महिला साथीहरूसँग कुरा पनि गरें । अधिकांश महिला सहकर्मीहरू धेरै पहिलेदेखि नै पीडित रहेछन्, उनीहरूले आफ्ना पीडा मैले झैं साथीभाइलाई नसुनाएका मात्रै रहेछन् ।

दिदीले अरू शाखाबाट सरुवा भएर आएका कर्मचारीहरूले पनि यस्तै कुरा सुनाएको बताउनुभयो । मलाई उहाँको कुराले मेरी साथीकी दिदीले भोगेको व्यवहार सम्झायो ।

केही समयअघि साथीकी दिदीलाई उपत्यका बाहिरको एउटा सरकारी कार्यालयमा शाखा प्रमुख बनाएर पठाइएको थियो । ती दिदी जानुभन्दा पहिलादेखि नै त्यो शाखामा कार्यरत सहायक स्तरका पुरुष कर्मचारीले स्थानीय पत्रकार, राजनीतिक दलदेखि ठूला-साना सबैलाई गच्छेअनुसार रिझाएर राखेका रहेछन् । कार्यालय प्रमुख भएर गए पनि उहाँले सबै जिम्मेवारी पाउनुभएन ।

उहाँले चौतर्फी दबाबपछि बल्लतल्ल जिम्मेवारी थमाइएको तर कार्यालयभित्रैबाट असहयोग भएको गुनासो एक दिन सुनाउनुभएको थियो, ‘ती पुरुषले सबैलाई रिझाएर राखेका रहेछन्, रिझाउनलाई गोजीमा गाँठ हुनैपर्‍यो तर म जस्ता कर्मचारी महिनासम्म काम गरेर एक दिन बुझेको तलब अरूलाई बाँडेर सबैको हाईहाई हुन सकिंदैन । खान पाइरहेकाहरू खान पाउने बाटो सुकेपछि त्यसै चिढिने रहेछन् । महिलालाई जसरी हुन्छ असफल बनाउने भन्ने ध्याउन्नमा नै लाग्दा रहेछन् ।

महिला कर्मचारीमाथि हुने विभेदपूर्ण व्यवहारका कैयौं उदाहरण छन् । जस्तै, मेरी एकजना साथी नाम चलेको कम्पनीमा अफिसर छिन् । उनको ड्युटी बिहान नौ बजेदेखि साँझ ६ बजेसम्म अधिकांश समय उभिएरै गर्नुपर्ने खालको छ । उनलाई अरू बेला त्यो काम असहज लागेन । तर गर्भवती भएपछि भने कठिन लागेको थियो ।

साथीले एकदिन बसेर काम गर्ने शाखामा सरुवा गरिदिन भन्दै हाकिमलाई बिन्तीसमेत बिसाएकी रहिछन् । तर हाकिमले सुनेको नसुन्यै गरेछन् अनि उल्टै अगाडिको फ्रन्ट डेक्समा सारिदिएछन् । हाकिमले क्लाइन्टसँग राम्ररी डिल गर्न सक्ने भएकाले अगाडि नै राख्न भनेका रहेछन् ।

‘धेरैबेर उभिएर काम गर्दा गोडा पूरै सुन्निन्थे, एकातिर सुन्निएका गोडा अर्कातिर बढ्दै गएको पेट । असहज र पीडा दुवै एकैसाथ आइपर्‍यो’, साथीले एकदिन मलाई सुनाइन्, ‘छिनछिनमा शौचालय गइरहनुपर्थ्यो, क्लाइन्टहरू आइरहन्थे । काम गर्न धौ-धौ भएर छिनछिनमा ट्वाइलेट गएर काम ठग्छे, काम ठग्नेहरूलाई सरुवा गर्दिए हुन्छ, क्लाइन्ट आएर उभिएका छन्, स्टाफ खाली ट्वाइलेट गएर घण्टौं बसेर हुन्छ ? भन्नेसम्मको टिप्पणी हुन थालेछ । मेरो अफिसमा म जस्तै महिलाहरू नै थिए तर यस्ता विषयमा हाकिमलाई कुरा लगाउने पनि महिला नै रहेछन् ।’

यसै क्रममा हाकिमले आफ्नो कोठामा बोलाएर स्पष्टीकरण सोधेपछि उनले भनेकी रहिछन्, ‘सर, मैले पहिले नै आफ्नो समस्या भनेकी थिएँ, मलाई बसेर काम गर्ने शाखामा सरुवा गर्दिनुस् भनेर । म पाँच महिनाकी गर्भवती छु, धेरै समय उभिएर काम गर्न गाह्रो भयो, छिनछिनमा ट्वाइलेट गइरहनुपर्छ । यस्तो बेलामा पनि काम ठग्छे, ट्वाइलेटमा घण्टौं बस्छे भन्न अलिकति पनि अप्ठ्यारो लागेन सर ?’

‘हाकिमले ल ठिक छ हेरौंला मात्रै भने, अरू केही बोलेनन् । मलाई दिनदिनै गाह्रो हुँदै गइरहेको थियो । मेरो कुरा हाकिमले सुनेनन् । घरपरिवारले जागिर छोड्न भने, स्थायी भएको जागिर छोड्न मनले मानेन । नौ महिनाको पेट हुन्जेलसम्म पनि उभिएरै काम गरें । कतिपय क्लाइन्टहरू मेरो हालत देखेर बस्नुस् बहिनी, बसेरै भन्दा पनि हुन्छ भन्थे तर मेरो हाकिमको मनमा दया पलाएन’ त्यतिबेला साथीले भनेको कुरा पूरै याद छ, ‘कुनै दिन हाकिमको नजिक भइनँ । आफ्नो कामभन्दा दायाँ-बायाँ केही सोचिनँ तर काममा मात्रै केन्द्रित हुने मान्छेका हाकिम दाहिना नहुने रहेछन् । यो हदसम्मको अमानवीय व्यवहार पनि गर्दा रहेछन् ।’

साथीको कुरा भन्दै गर्दा अर्को घटना याद आयो । एउटा विभागको महानिर्देशकमा सरुवा भएर गएका हाकिम सा’बले करार सेवामा रहेकी महिला कर्मचारीलाई हटाउन खोज्दा उल्टै ती हाकिमको सरुवा भएको थियो । करारवाला महिला कुनै सचिवकी निकटस्थ थिइन् । त्यतिबेला ‘जसको पावरले सहसचिवको समेत सरुवा गराउन सक्यो’ भन्नेसम्मको समाचार प्रकाशित भएको थियो ।

सरकारी होउन् या निजी, अपवाद बाहेक जहाँ पनि हाकिम सा’बहरू कोही न कोहीसँग अपत्यारिलो किसिमले नजिकिएका हुन्छन् । तर घरपरिवार र छोराछोरी हुँदाहुँदै एकाध पात्रसँग नजिकिएकै भरमा, उनीहरूका कुरा सुनेकै भरमा अर्काको करियर ओझेलमा पार्ने हर्कत चाहिं किन हुन्छ ? अनि बढुवाको दाबेदार हुँदाहुँदै पनि किनारामा पार्ने, जिम्मेवारी पाएर जाँदा पनि जिम्मेवारीविहीन बनाउने र गर्भावस्थामा ट्वाइलेट जाँदा पनि ‘काम ठग्न ट्वाइलेट गइरहन्छे’ भन्ने हाकिम सा’बहरूको सोच देखेर प्रश्न गर्न मन लाग्यो- तपाईंसँग निकट नहुँदैमा कसरी अयोग्य हाकिम सा’ब ?

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४