काठमाडौं । विख्यात नेपाली पर्वतारोही कामीरिता शेर्पाले सगरमाथा आरोहणमा नयाँ रेकर्ड राख्न सफल भएका छन् ।
कामीरिताले यसअघि २६औँ पटकको आफ्नै किर्तिमान तोडेर २७औँ पटक सगरमाथाको सफल आरोहण गरेको नयाँ किर्तिमान बनाएका छन् । सोलुखुम्बुको थामेमा सन् १९७० मा जन्मेका कामीरिताको नाममा सन् २०१८ देखि सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गरेको कीर्तिमान कायम छ । उनले मे १६, २०१८ मा २२औँ पटक सगरमाथा आरोहण गर्दै आप्पा शेर्पाको कीर्तिमान तोडेका थिए ।
१३ मे १९९४ मा पहिलो पटक सगरमाथा चुचुरो चुमेका कामीरिताको नाममा ८ हजार मिटर अग्ला चुचुरोमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान समेत रहेको छ ।
बुधबार विहान २७ औं पटक सगरमाथाको चुचुरोमा पुगेर शेर्पाले आफ्नै रेकर्ड तोडेका हुन ।
शेर्पाले नेतृत्व गरेको पर्वतारोहीको टोली बुधबार विहान ८ बजे सगरमाथाको चुचुरोमा पुगेको सेभेन समिट ट्रेकले जानकारी दिएको छ ।
सोलुखुम्बुको थामेका ५३ वर्षिय शेर्पाले पाकिस्तानको केटु, चो ओयु, ल्होत्से र मनास्लु लगायतका हिमालको पनि सफल आरोहण गरिसकेका छन् ।