काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने ठगी प्रकरणमा मुछिएपछि जिल्ला प्रहरी परिसर, काठमाडौं पुगेका पूर्वसभासद् आङटावा शेर्पा घाइते भएका छन् ।
जिल्ला प्रहरी परिसर, टेकुको हिरासतमा राखिएका उनी घाइते भएपछि प्रहरीले वीर अस्पताल पुर्याएको छ । अस्पतालमा उनको प्रारम्भिक उपचार गराएर प्रहरीले फेरि उनलाई टेकुमा ल्याएको छ । उनको टाउकोमा ७ वटा टाँका लगाएको छोरा आङनिमा शेर्पाले बताएका छन् ।
बुबा भर्ना हुनुभएको थाहा पाएपछि अस्पताल गएको थिएँ, डाक्टरले औषधि ल्याउन भनेको थियो । लिएर फर्किन नपाई प्रहरीले फेरि टेकु लगेछ’, उनले भने, ‘हिजो सद्धे अवस्थामा आफैं कानुनको सम्मान गर्दै बुझ्न जानुभएको बुबालाई आज नाजुक अवस्थामा देखेँ ।
प्रहरी कार्यालयमा पुगे पूर्वसभासद आङटावा शेर्पा
कुरा गर्न खोज्दा बाबु धेरै नबोलेको छोरा आङनिमाले बताएका छन् । ‘बोल्नै दिएनन् । तर उहाँको जिउ कामिरहेको थियो । एकदमै धेरै डर र त्रासमा भएको देखेँ’, उनले थपे, ‘उहाँ आफ्नो नाम जोडिएपछि कानुनको सम्मान गर्दै बुझ्न आफैं जानुभएको थियो । तर, प्रहरीले थुनेर राख्यो ।
संलग्न नै नभएको घटनामा प्रहरीले आरोपी जस्तो व्यवहार गरेर कुटपिट गरेको परिवारको आरोप छ । तर, जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्की शेर्पा बिहान शौचालयमा लडेर घाइते भएको बताउँछन् । ‘उहाँ लडेर घाइते हुनुभएको हो, उपचारपछि फेरि ल्याएका छौं’, कार्कीले थपे, ‘उहाँको संलग्नताबारे अनुसन्धान भइरहेको छ ।
सोमबार साँझ शेर्पा आफैं प्रहरी कहाँ पुगेको एसएसपी कार्की बताउँछन् । ‘उहाँमाथि अनुसन्धान गर्नुपर्ने विषयहरु थिए, सोधपुछ गरेर बेलुकी यहीँ राखेका थियौं’, उनले भने,थप प्रमाण र बुझ्दै जाँदा के आउँछ, त्यसको आधारमा उनलाई राख्ने कि छाड्ने भन्ने निर्णय हुन्छ ।
प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले १२ चैत २०७९ मा भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै असुली गरेको आरोपमा मोरङका केशव दुलाल, ललितपुरका सानु भण्डारी र पाँचथरका टेक गुरुङलाई पक्राउ गरेको थियो । यसको तीन दिनपछि मोरङका सागर राई पनि पक्राउ परेका थिए ।
उनीहरुको बयानका आधारमा हालसम्म पूर्वउपप्रधानमन्त्री एवं उर्जामन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, उनका स्वकीय सचिव नरेन्द्र केसी, तत्कालिन सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई, नेता रायमाझीका छोरा सन्दीप लगायत पक्राउ परिसकेका छन् ।
बादलका छोरा प्रतिक थापा, सल्लाहकार राईका छोरा निरज लगायत अझै फरार छन् । प्रकरणमा प्रहरी अनुसन्धान निष्कर्षतर्फ उन्मुख छ । बुधबारसम्म अनुसन्धान सकेर प्रतिवेदन बुझाउन सरकारी वकिलको प्रहरीलाई निर्देशन छ ।