काठमाडौँ । भीआईपीहरुको अगाडि पछाडि सुरक्षाकर्मीको टोली तैनाथ हुन्छन् । तर तिनै भीआईपीको खल्तीबाट पैसा चोरी हुन्छ भन्दा आश्चर्य लाग्न सक्छ । तर मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव आफैंले आफू सभामुख पदमा रहेको बेला र मुख्यमन्त्री भएको बेला दुई पटक पाकेटमारबाट पीडित भएको घटना सुनाएका छन् ।
जनकपुरधाममा उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ समेत सहभागी एक कार्यक्रममा मुख्यमन्त्री यादवले भने”म सभामुख थिएँ, गाउँ गएको थिएँ, मेरै खल्तीबाट ५० हजार काटिदियो ।
जसपा अध्यक्ष उपेन्द्र यादव उपनिर्वाचनमा विजय भएपछि निकालिएको विजय जुलुसमा सहभागी भएको बेलामा पनि आफ्नो खल्तीबाट पैसा चोरिएको घटना यादवले सुनाएका छन् । उनले भने, “म मुख्यमन्त्री भएर भर्खर गएको थिएँ बिहीबार । मेरै घरको दुई किलोमिटर बगलमा उपेन्द्र जीको विजय जुलुस आयो । म त्यहाँ गएँ । त्यो दिन पनि मेरो खल्तीबाट पैसा चोरिदियो ।
आफू पाकेटमारबाट पीडित भएका दुई प्रतिनिधि घटना सुनाउँदै उनले सुरक्षा व्यवस्था फितलो भएको बताएका छन् । प्रहरी समायोजन नहुँदा पनि शान्ति सु-व्यवस्थामा असर गरेको उनको भनाइ छ । समायोजन नगरे पनि समन्वयमा काम गरिदिँदा पनि समस्याको समाधान निकाल्न सकिने उनको मत छ ।
योभन्दा पहिले म सभामुख थिएँ । कुनै ठाउँमा घटना घट्थ्यो । प्रदेश सभा सदस्यले आवाज उठाउनु हुन्थ्यो, म रुलिङ गर्थें । पछि गृहमन्त्रीलाई सोध्दा त घटना थाहै हुँदैनथ्यो,’ उनले अगाडि भने, ‘प्रहरी समायोजन नगरिदिए पनि समन्वय गरेर जाँदा पनि धेरै कामको निकास निस्किन्थ्यो । तर यहाँ समन्वय पनि छैन ।”