पोखरा, १४ वैशाख । गण्डकीको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् । बिहीबार प्रदेश प्रमुख पृथ्वीमान गुरुङले कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
उनलाई कांग्रेससहित नेकपा माओवादी केन्द्र र एक स्वतन्त्र सांसदको समर्थन छ । पाण्डेलाई कांग्रेसका २७, माओवादी केन्द्रका सात र दीपक मनाङेको समर्थन छ ।
बहुमत सदस्यले समर्थन गरेपछि प्रदेश प्रमुखले उनलाई संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
नवनियुक्त मुख्यमन्त्रीको शपथ शुक्रबार मध्याह्न १२ बजेपछि हुने प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले बताए ।
६० सदस्यीय प्रदेश सभामा बहुमतका लागि ३१ सांसदको समर्थन चाहिन्छ । गण्डकीमा एमालेका २२, नेपाली कांग्रेसका २७, माओवादीका ८ ( सभामुक सहित ), राप्रपाका २ जना र स्वतन्त्रबाट चुनाव जितेर समाजवादी पार्टी प्रवेश गरेका एक सांसद छन् ।