काठमाडौं । उपनिर्वाचनबाट चुनिएका तीन जना प्रतिनिधि सभा सदस्यहरुको शपथग्रहण आज हुँदैछ ।
चितवन २ बाट निर्वाचित रवि लामिछाने र तनहुँ १ बाट निर्वाचित डा. स्वर्णिम वाग्ले बारा २ बाट निर्वाचित उपेन्द्र यादवले आज बिहान साढे ११ बजे शपथ ग्रहण गर्न लागेका हुन् ।
उनीहरुलाई सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथ खुवाउँदै लोगो वितरण गर्नेछन् ।
गत मंसिर ४ को निर्वाचनबाट तनहुँ १ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति भएकाले, बारा २ बाट निर्वाचित रामसहाय प्रसाद यादव उपराष्ट्रपति भएकाले र चितवन २ बाट निर्वाचित रास्वपा सभापति रवि लामिछानेको नागरिकता विवादका कारण पदमुक्त भएकाले यही वैशाख १० गते उपनिर्वाचन गरिएको थियो । उपनिर्वाचनबाट रबि लामिछाने पुनः ५४१७६ मत प्राप्त गरि सांसद चुनिएका हुन् ।
यसैगरी यसअघि नेपाली कांग्रेसले जितेको तनहुँ १ बाट नेपाली कांग्रेस परित्याग गरि राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपामा गएका अर्थविद डा. स्वर्णिम वाग्ले चुनिएका छन् । अघिल्लो पटक जनमत पार्टीका सीके राउतसँग सप्तरी २ बाट पराजित भएका जसपा अध्यक्ष उपेन्द्र यादवले सत्ता गठबन्धनको बलमा बारा २ बाट चुनाव जितेका छन् ।