काठमाडौं । ईस्लाम धर्मावलम्वीको महान पर्व ‘इदुलफित्र’ आज मनाइँदै छ । यो पर्वका लागि मुसलमानले एक महिना ब्रत बसेका थिए । जसलाई ‘रोजा’ भनिन्छ ।
ईद पर्वमा अल्लाह (भगवान्) का नाममा विशेष नमाज (प्रार्थना) गर्ने इस्लाम परम्परा छ । ईदका दिन इस्लाम समुदायको मुख्य धार्मिक ग्रन्थ कुरान मोल्वी (धर्मगुरु)ले वाचन गरेर सदविचार र सत्कर्ममा रहन प्रेरित गर्छन् । धार्मिक परम्परामा यो मुख्य पर्व भएको हुँदा नयाँ लुगा लगाउने, सेवइ (गहुँको पिठोबाट बनाइएको खाद्यवस्तु) को खिर र मिष्ठान्न परिकार खाने-खुवाउने चलन छ ।
एक महिनासम्म चल्ने ‘रमजान’ पर्वमा मुुसलमान दिनमा निराहार बस्छन् । बिहानको समय ३ः२० मिनेटमा ‘सेहरी’ हलुका खानेकुरा खाएर दिनभर निराहर बस्ने मुसलमान ब्रतालु सूर्यास्त भएपछि ‘एफतार’ मिठो खानेकुरा खाएर रोजा खोल्ने चलन रहेको छ । रमजान उर्दू क्यालेण्डरअनुसार हिजरी सम्बत् १४४४ हो भने रमजान महिना नवौँ महिना हो । रमजान महिनामा नै मुसलमानको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो भने यो महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास लिएको छ ।
दान दिनु गरिब र दीन दुःखीलाई सेवा गर्नु, जकात निकाल्नु यो महिनाको ठूलो विशेषता हो । रमजानामा ब्रत बस्ने साँझ पश्चिम दिशामा आकाश हेरेर चन्द्रमा हेर्ने र चन्द्रमा नजर आएमा अत्यधिक खुशी हुने र एकआपसमा इदमुबारक बधाई साटासाट गर्ने प्रचलन रहँदै आएको छ ।
रमजान महिना मुसलमानका लागि निकै महत्वपूर्ण एवं पवित्र हो र यसमा मुसलमानका पाँच आधार स्तम्भमा हज बाहेक सबै स्तम्भ पूरा हुने गर्दछ । इदुलफित्र मनाउनका लागि आज मुसलमान ‘इदगाह’ वा ‘मस्जिद’ मा भेला भएर सामूहिकरुपमा नमाज पढ्ने गर्दछन् ।
