चितवन । होटल व्यावसायी महासंघका केन्द्रीय अध्यक्ष दिनेश चुकेले होटल तथा रेष्टुरेन्ट क्षेत्रमा आर्थिक मन्दीको प्रभाव देखिन थालेका बेला चितवन–२ को उपचुनावले भरतपुर तथा नारायणगढ बजार क्षेत्रका केही होटल तथा रेष्टुरेन्टहरु चलायमान हुँदा राहत मिलेको बताएका छन् ।
चितवन क्षेत्र नं. २ मा यही वैशाख १० गते हुने उपनिर्वाचनका लागि ठूला राजनीतिक दलहरुले आ–आफ्ना उम्मेदवारलाई जिताउन सम्पूर्ण शक्ति परिचालन गरेका छन् । विभिन्न जिल्लाबाट नेता, कार्यकर्ताहरु माहोल बनाउन भन्दै भरतपुर आएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता गैरकानुनी भएको भन्दै सर्वोच्च अदालतले उनको सांसद पद खारेज गरिदिएपछि हुन लागेको उपनिर्वाचनलाई दलहरुले प्रतिष्ठाको विषय बनाएको बुझ्न गाह्रो छैन । सोही कारण दलका ठूला नेतादेखि कार्यकर्ताहरु चितवनको भरतपुर आएका आउने क्रम जारी छ । कतिपय विभिन्न जिल्लाबाट आएका पार्टी नेता तथा कार्यकर्ताहरु क्षेत्रगत रुपमा बाँडिएर मत फकाउन लागिपरेका छन् ।
नेकपा एमाले र नेपाली कांग्रेस नेतृत्वको गठबन्धन गत मंसिर ४ मा गुमेको मत फिर्ता गराउने कसरतमा छन् भने लामिछाने जित दोहोर्याउने दाउँमा छन् । चुनावको रस्साकस्सीको समाचार संकलनका लागि विभिन्न सञ्चारमाध्यमका पत्रकार र युटुबरहरुको लर्को पनि भरतपुरमा लागेको छ । बाहिरबाट नेता, कार्यकर्ता र अन्य व्यक्तिहरु आउने क्रमसँगै यहाँका होटल तथा रेष्टुरेन्टहरुमा भिडभाड देखिन थालेको छ ।
भरतपुर महानगरपालिका वडा नं.२ क्षेत्रपुरमा रहेको दियालो फुडल्याण्डका कार्यकारी निर्देशक रमेश अधिकारीले चुनाव नजिकिन थालेसँगै होटलका कोठाहरुको बुकिङ्ग र रेष्टुरेन्टको ब्यापार बढ्न थालेको बताएका हुन् । दियालोमा १९ वटा कोठा पछिल्लो ५ दिन यता सबैजसो बुकिङ्गमा छन् । ‘वैशाखको २३ गतेदेखि होटलको अकुपेन्सी लगभग शतप्रतिशत जस्तो हुन थालेको छ, विभिन्न कार्यक्रमहरु, भेटघाटहरु पनि भैरहेका छन्, सुविधायुक्त हलहरुसमेत भएकाले बुकिङ्ग राम्रो छ’ अधिकारीले भने, ‘अधिकांश चुनावसँग सम्वन्धित मान्छेहरु नै आएको पाउँछु ।
५ महिनापछि चितवन २ मा देखिएको बदलाव
हाकिमचोकमा रहेको सिएमटी रिसोर्ट पनि पछिल्लो केही दिन यता चुनावको प्रचारप्रसारका लागि आउने व्यक्तिहरुका कारण भरिन थालेको छ । ‘ठूला नेताहरु आउँदा यहीँ बस्ने, यहीँ नै भेटघाट गर्ने कार्यक्रम हुन्छ, रुमहरु पनि राम्रो गएको छ’ होटलका जनरल म्यानेजर बोधराज लम्सालले भने, ‘बाहिरी जिल्लाबाट आउने नेता कार्यकर्ताहरुले नै होटल बुक गरेको पाइन्छ ।’
चुनाव प्रचारप्रसारका लागि नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी “रास्वपा”का केन्द्रीय नेताहरुको लर्को चितवनमा लागेको छ । भरतपुरकै सिराईचुली होटलका म्यानेजर अरविन्द के.सीले ठूला दलका ठूला नेताहरु भरतपुर आउँदा होटलमा बस्ने गरेको बताएका छन् । कतिपय यही मौकाले घुम्ने भन्दै पनि चितवन आएका छन् ।
क्षेत्रीय होटल संघ सौराहाका पूर्वअध्यक्ष सुमन घिमिरेका अनुसार चुनाव प्रचारप्रसारको माहोल बनाउन भन्दै चितवन आउँदा सौराहामा बास बस्न समेत कतिपय आउने गरेका छन् ।
होटल व्यावसायी महासंघका केन्द्रीय अध्यक्ष दिनेश चुकेले होटल तथा रेष्टुरेन्ट क्षेत्रमा आर्थिक मन्दीको प्रभाव देखिन थालेका बेला चितवन–२ को उपचुनावले भरतपुर तथा नारायणगढ बजार क्षेत्रका केही होटल तथा रेष्टुरेन्टहरु चलायमान भएकाले राहत मिलेको बताएका छन् ।