काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो प्रतिनिधिसभा सदस्य डा.ढाकाकुमार श्रेष्ठको रकम लेनदेनको अडियो सार्वजनिक भएको प्रकरणमा माफी मागेको छ ।
सोमबार प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले यो घटनाले प्रतिनिधिसभा सदस्यको सम्मानमा परेको चोटप्रति क्षमा मागेका छन् ।
“हाम्रो प्रतिनिधिसभा सदस्यमार्फत तपाईहरुको सम्मानमा परेको चोटप्रति क्षमा चाहन्छौं’ उनले भने, ‘संसदको गरिमा बढाउने राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको अभियानमा हामी अक्षुण रहनेछौं । यो घटनाले विचलित हुने छैनौं । राष्ट्रिय पार्टीहरु यस्ता घटनाबाट टाढा रहनुपर्छ ।”
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका प्रतिनिधिसभा सदस्य डा. ढाका कुमार श्रेष्ठले स्वास्थ्यमन्त्री बन्न आफूले पार्टी सभापति रवि लामिछाने निकटका व्यक्तिलाई २ करोड रुपैयाँ बुझाउनुपर्ने भन्दै सहयोग गर्न मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग रकम मागेको अडियो आइतबार सार्वजनिक भएको थियो ।
उक्त अडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले प्रतिनिधिसभा सदस्य डा. ढाका कुमार श्रेष्ठलाई जिम्मेवारीबाट मुक्त गरी ७२ घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन दिएको र पार्टीको अनुशासन समितिले छानबिन गरिरहेको प्रमुख सचेतक परियारले जानकारी गराएका छन् ।
तर, यस्तो घटना पहिलो पटक भने नभएको उनको भनाइ छ ।
“नेपालको राजनीतिमा यो घटना पहिलो भने होइन । यस्ता घटना विगतमा पनि भएका छन् । ती सबैको सत्यतथ्य छानविन हुन सक्यो भने अझै लोकतन्त्रप्रतिको हाम्रो प्रतिवद्धता अझ प्रतिवद्ध हुन्छ भन्ने हामीलाई लाग्दछ’ प्रमुख सचेतक परियारले भनेका छन् ।”