काठमाडौँ । नेपाली क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज जिल्ला अदालत काठमाडौँमा सुनवाइ हुने भएको छ । आज तोकिएको पेसी जिल्ला अदालतका न्यायाधीश शंकरराज बरालको इजलासमा परेको छ ।
यसअघि दुई पटक तोकिएको पेशी लगातार स्थगित भएका थिए । गत बिहीबार तोकिएको पेशीलाई सुनवाइ गर्न समय अभावका कारण नभ्याइनेमा राखिएको थियो । आजको पेशीमा भने सुनवाइ हुने लगभग निश्चित जस्तै भएको छ ।
नेपाली क्रिकेटर सन्दीप लामिछाने विरुद्ध गौशाला २६ नाम परिवर्तन गरेकी एक किशोरीले गएको भदौ २१ मा आफुलाई जबरजस्ती करणी गरेको आरोप लगाएकी थिइन् । त्यसको एक महिनापछि २०७९ असोज २० गते सन्दीप लामिछाने पक्राउ परेका थिए । सुरुमा जिल्ला अदालत काठमाडौँले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । तर तीन महिना भन्दा बढी थुनामा बसेपछि उच्च अदालत पाटनले जिल्ला अदालत काठमाडौँको आदेशलाई बदर गर्दै २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दियो । त्यसपछि यो मुद्दा सर्वोच्च अदालतमा पुगेको थियो ।
दुवै पक्ष सर्वोच्चमा पुगेपनि सर्वोच्चले उच्च अदालतको आदेश संशोधन गर्दै सन्दीप लामिछानेमाथि विदेश जान लागेको प्रतिबन्ध समेत हटाउन आदेश दिएको थियो । अब भने अन्तिम सुनुवाइ सुरु हुने भएको हो ।