काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी विज्ञापनलाई सरकार एकद्वार प्रणालीबाट व्यवस्थापन गर्ने तयारीमा रहेको बताउनु भएको छ ।
नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाको २३औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै मन्त्री शर्माले लोककल्याणकारी विज्ञापन र समानुपातिक विज्ञापनलाई सरकारको न्यूनतम साझा कार्यक्रममार्फत एकद्वार प्रणालीअनुसार लैजान नीति बनाउन लागेको उल्लेख गर्नु भएको हो । त्यसका लागि मन्त्रालयले आवश्यक प्रक्रिया थालेको ऊहाको भनाइ छ ।
‘सरकारले फजुल खर्च कटौती गर्न लागेको छ’ मन्त्री शर्माले भने, विज्ञापनको व्यवस्थापनले न्यूनतम पारिश्रमिक नपाउने समस्या हल हुने उहाँले विश्वास व्यक्त गर्नु भएको थियो । उहाँले भन्नु भयो ‘जाजरकोटमा विज्ञापन खोल्नु छ, त्यहाँको बाटो बनाउने विज्ञापन काठमाडौँको पत्रिकामा छापिन्छ । त्यो पत्रिका लिएर विज्ञापनको पैसा लिने तरिका बेठिक छ, यसरी हुदैन । यसलाई रोक्न आश्यक परे नियमावलीमा संशोधन गरौँ ।
पत्रकारिता लोकतन्त्रको सुन्दर पक्ष भएको उल्लेख गर्दै मन्त्री शर्माले सामूहिक छलफल र निष्कर्षबाट सञ्चार जगत्का समस्याको समाधान खोज्न आग्रह गर्नु भएको छ । उहाँले भन्नु भयो, ‘पत्रकारिता क्षेत्रमा रहरले प्रवेश गर्ने र कालान्तरमा पछुताउनु पर्ने अवस्था राम्रो हैन । यो लोकतन्त्रका लागि नराम्रो हो ।’ नेपाल पत्रकार महासङ्घको काठमाडौँ शाखाको भवन निर्माणका लागि जग्गाका विषयमा सहजीकरण गर्न सो अवसरमा उहाँले प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।
कार्यक्रममा महासङ्घको काठमाडौँ शाखाका अध्यक्ष सूर्य सुवेदीले विज्ञापन, सदस्य शुद्धीकरण, नवीकरण र पत्रकारका लागि निःशुल्क स्वास्थ्य सेवाप्रति मन्त्री शर्माको ध्यानार्कषण गराएका थिए । उनले भने, ‘विज्ञापन बोर्ड पत्रकार बचाउने भन्दा पनि नियमनकारी भूमिकामा बढी हाबी भएको छ । विज्ञापनका लागि चाकडी गनुपर्ने अवस्थाको अन्त्य नभए अधिकांश सञ्चारमाध्यम बन्द हुने अवस्थामा रहेका छन् ।
वार्षिक साधारणसभाका अवसरमा शाखाले स्थापना गरेको आदर्श पत्रकारिता पुरस्कार, २०७९ बाट वरिष्ठ पत्रकार किशोर नेपाललाई सम्मान गरिएको थियो ।