काठमाडौँ । उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले नेकपा एमालेसँगको अप्राकृतिक गठबन्धन भत्काएर प्राकृतिक गठबन्धन बनाउन सफल भएको बताएका छन् ।
प्रधानमन्त्री प्रचण्डले पहिलो पटक विश्वासको मत लिँदै गर्दा नेकपा एमाले अध्यक्ष केपी ओलीले संसद्मा जसरी संसद् विघटनबारे बोलेका थिए, त्यसले प्राकृतिक गठबन्धनमा फर्कन वातावरण बनाएको उनको भनाइ थियो ।
शनिबार सुर्खेत विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले अब शान्ति प्रक्रियाका बाँकी कामलाई पूर्णता दिनेगरि सरकार अघि बढ्ने बताएका छन् ।
‘द्वन्द्वबाट पीडितको मुक्तिका लागि पनि यही प्राकृतिक गठबन्धन उपयुक्त हो,’ उनले थपे,‘ हामी त्यही उद्देश्यसहित अघि बढ्ने छौँ । सरकारसँग अवसर र चुनौती दुवै रहेको बताउँदै खड्काले अबको केही दिनमै सरकारले पूर्णता पाउने बताएका छन् ।
साथै उनले अब कर्णालीको विकासका लागि केन्द्रबाट पर्याप्त बजेट पाउने समेत उल्लेख गरेका छन् ।
मुलुकको अर्थतन्त्र कमजोर बनिरहेको र कर्मचारीलाई तलब खुवाउन पनि ऋण लिनुपर्ने अवस्था आएको खड्काको भनाइ रहेको छ ।
उनले जनताको शिर झुक्नेगरि आफूले काम नगर्ने बताएका छन् । प्रदेश सरकारबारे खड्काले सातै प्रदेशमा वर्तमान गठबन्धनकै सरकार बन्ने बताएका छन् । यद्यपि कर्णाली प्रदेश सरकारबारे भने उनले ढिलो चाँडो कांग्रेस सरकारमा जाने बताएका छन् ।