काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले आफू समस्यै समस्याले जेलिएको मन्त्रालयमा पुगेको आभास भएको बताएका छन् । मंगलबारको राष्ट्रिय सभा बैठकमा सांसदले उठाएको प्रश्नहरुको जवाफ दिने सिलसिलामा मन्त्री भुसालले यस्तो बताएका हुन् । अहिले कृषि मन्त्रालयले समाधान गर्नुपर्ने सबैभन्दा ठूलो समस्या भनेको कृषि क्षेत्रमा मलको समस्या रहेको उनले बताएका छन् ।
मलको समस्या ठुलो समस्याको रुपमा रहेको छ, उनले भने,अहिले समयमै मल आपूर्ति गर्न केही पहल सुरु भइसकेको छ । केही आशा पलाएको छ । समयमै मल ल्याउन अझै धेरै पहल गर्नुपर्ने अवस्था आएको छ । उनले अरु थुप्रै समस्या समाधान गर्नुपर्ने अवस्था रहेको बताएका छन ।
‘१० लाख हेक्टरभन्दा बढी कृषियोग्य जमिन बाँझो छ,’ उनले भने, ‘त्यसलाई कसरी खेतीयोग्य र हराभरा बनाउन सकिएला भन्ने समस्या छ । कृषि उत्पादनलाई बजारसँग जोड्ने समस्या छ । कृषिलाई उद्यमशीलता र औद्योगिकीकरणसँग कसरी जोड्ने भन्ने समस्या छ । कृषिमा यान्त्रिकीकरण, आधुनिकीकरण र बजारीकरण कसरी गर्ने भन्ने समस्या छ ।
ऋण अनुदान सक्कली किसानको हातमा पुर्याउन समस्या छ । कृषि विमा तथा पशुविमाको समस्या छ । यी समस्यामा घोत्लिँदा माननीयहरुकै सुझाव लिएर अघि बढ्नु पर्ने आवश्यकता छ । यो हाम्रा साझा समस्या हो सबैले मिलेर समाधान गर्नुपर्छ । सांसदहरुलगायत सरोकारवाला सबै पक्षको सुझाव लिएर समस्या समाधान गर्ने योजना बनाउने भन्दै उनले सुझावको आह्वान गरेका छन् ।