Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मन्त्रीको नाम पठाउन कांग्रेसलाई प्रधानमन्त्रीको ताकेता शेखर–गगनको तीन मन्त्रालयमा दाबी, दबाबमा देउवा


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, चैत्र २० २०७९
  • 6.1K
    SHARES

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेका छन् । नेपाली कांग्रेसभित्र गुटगत विवादका कारण प्रधानमन्त्री प्रचण्डले शुक्रबार सातौँ पटक मन्त्रिपरिषद् विस्तार गर्दा पनि पूर्णता दिन सकेका थिएनन् । शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्दा नेपाली कांग्रेसबाट उपप्रधानसहित रक्षामन्त्री सम्हाल्ने गरी नेपाली कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले नेतृत्व गरेका छन् । अर्थमन्त्रीमा प्रकाशरण महत, उद्योग वाणिज्य तथा आपूर्तिमा रमेश रिजाल र सहरी विकासमा सीता गुरुङ नियुक्त भएका छन् । 

देउवाले सोही दिन शेखर कोइरालाको मनसाय बुझेर उपसभापति धनराज गुरुङ र सांसद डिगबहादुर लिम्बूलाई पनि मन्त्री बनाउन खोजेका थिए । गुरुङ र लिम्बुलाई मन्त्री बनाउने देउवाको सङ्केत पाएपछि महामन्त्री गगनकुमार थापासहितका नेताले ३ मन्त्रालय नलिई सरकारमा जानै नहुने अडान राखे । शेखर–गगन समूहले तीन मन्त्री पाउनुपर्ने अडान राखेर नाम नदिएपछि देउवाले आफू पक्षीय २ जनाको नामको शपथ पनि रोकिदिए । नेता एनपी साउद र मोहन बस्नेतलाई पनि मन्त्री बनाउने निर्णयमा पुगेका देउवा शेखर–गगन समूहको अडानपछि ब्याक भए । प्रधानमन्त्री प्रचण्डले शुक्रबार तयार पारेको मन्त्रीको सूचीमा बस्नेतको नाम युवा तथा खेलकुद मन्त्रीका रूपमा थियो जुन अन्तिममा केरमेट गरिएको थियो ।

प्रधानमन्त्रीसँग रहेका ६ मन्त्रालयमध्ये नेपाली कांग्रेसका भागमा कानुन, न्याय तथा संसदीय मामिला, परराष्ट्र, युवा तथा खेलकुद र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय छन  । नेपाली कांग्रेसभित्र मन्त्रीका लागि चर्किएको विवाद मत्थर पार्न प्रधानमन्त्री प्रचण्डले गम्भीर बनेका छन् ।  सोमबार बिहान प्रधानमन्त्री प्रचण्ड र उपप्रधान तथा रक्षामन्त्रीसमेत रहेका नेपाली कांग्रेस उपसभापति पूर्णबहादुर खड्काबीच संवाद भएको छ । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलका अनुसार भोलि मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी छ । उनले भने,मन्त्रिपरिषद्लाई पूर्णता दिने सन्दर्भमा आज विहान प्रधानमन्त्रीजी र उपप्रधानन्त्रीजीबीच छलफल भएको छ । भोलि मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी छ ।

प्रधानमन्त्री प्रचण्डले नेता डा.शेखर कोइराला र महामन्त्री गगनकुमार थापासँग पनि संवाद गरेका छन् । उनीहरूलाई पार्टीभित्रको आन्तरिक कुरा मिलाएर मन्त्रिपरिषद्लाई पूर्णता दिने कुरामा सहयोग गर्न प्रधानमन्त्री प्रचण्डले आग्रह गरेका थिए । गठबन्धनमा भएको सहमति अनुसार ८ मन्त्री र एक राज्यमन्त्री पाएको नेपाली कांग्रेसले अहिले थप एउटा मन्त्रालय बढी खोजेको छ । उता मन्त्रालयको भागबन्डामा असहमति जनाउँदै जनमत पार्टी सरकारबाट बाहिरिएको छ ।

शुक्रबार नै जनमत पार्टीका अब्दुल खानले खानेपानी मन्त्रीबाट राजीनामा दिएका थिए । पार्टीभित्रको गुटगत सन्तुलन मिलाउन नेपाली कांग्रेसले उक्त मन्त्रालय पाउनुपर्ने प्रधानमन्त्रीसँग प्रस्ताव राखेको छ ।  डा.शेखर–गगन समूहले तीन मन्त्रालय नपाएसम्म मन्त्रीको नाम नपठाउने अडान लिएपछि नेपाली कांग्रेस सभापति देउवा पनि दबाबमा परेका छन् । नेता एनपी साउद र मोहन बस्नेतलाई मन्त्री बनाउने तयारीमा रहेका देउवाले शेखर–गगन समूहलाई दुई मन्त्री र एक राज्यमन्त्रीको प्रस्ताव गरेको अवस्था छ । 

डा.शेखर–गगन समूहले देउवाको उक्त प्रस्ताव पनि पनि स्वीकार गरेको छैन । पार्टीभित्रको सन्तुलन मिलाएर मन्त्री छनोट गरिएको अवस्थामा दुई मन्त्रीमै चित्त बुझाउने शेखर–गगन समूह सोच थियो । नेता प्रकाशमान सिंह, शशाङ्क कोइराला, कृष्णप्रसाद सिटौला पक्षको कुनै सांसदलाई मन्त्री बनाएको अवस्थामा तीन मन्त्रालयको दाबी प्राकृतिक नदेखिने उक्त पक्षको बुझाइ थियो । 

तर,पार्टी सभापति शेर बहादुर देउवाले प्रकाशमान, शशाङ्क र कृष्णप्रसाद सिटौलाले विगतमा पाउने भाग कटौती गरिदिए । त्यसपछि डा. शेखर–गगन समूहले दुई जना मन्त्रीका लागि नाम नपठाउने अड्डी कसेको छ । सहमहामन्त्री बद्री पाण्डेले भने,तीन मन्त्रालयको ग्यारेन्टी नभई मन्त्रीको नाम पठाउँदैनौँ । अहिलेसम्म त्यो सकारात्मक कुरा आएको छैन । उपसभापति धनराज गुरुङले सहरी विकास मन्त्री हुने इच्छा देखाएका छन् । 

डा.शेखर–गगन समूहका नेताहरूका अनुसार सहरी विकास, स्वास्थ्य र कानुन मन्त्रालय पाए मात्र मन्त्री बन्नेको नाम पठाइने छ । सो समूहले माग सम्बोधन भए मापदण्ड अनुसार मन्त्री छनोट गरी सभापतिलाई नाम दिनेछ । डा.शेखर–गगन समूहबाट उपसभापति धनराज गुरुङ, सहमहामन्त्री बद्री पाण्डे, जीवन परियार, नेता डिगबहादुर लिम्बु मन्त्री बन्ने सम्भावना रहेको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४