आगामी बजेट आफैँ ल्याउने एमालेकाे तयारी !
काठमाडौँ । वर्तमान कोशी प्रदेश सरकार ढालेर आगामी सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा नेपाली कांग्रेसमा तीन खाले दौडधुप चलिरहेको छ । प्रदेश सरकारबाट तत्काल फिर्ता नहुने माओवादी केन्द्रले स्पष्ट अडान राखिसकेको छ । नेपाली कांग्रेसमा भने कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापा, दलका उपनेता हिमाल कार्की र अर्का नेता केदार कार्कीले भने नयाँ सरकार गठन गर्न भन्दै छुट्टाछुट्टै अभियान चलाइरहेका छन् । नेता उद्धव थापा आफैँ मुख्यमन्त्री हुनुपर्ने गरी छलफल चलाइरहेका छन् । यदि आफू नेतृत्वमा सरकार नबन्ने परिस्थितिमा मध्यावधिमा जान सक्ने सम्भावनालाई देखाएर उनी नेकपा एमाले नेतृत्वकै सरकारमा जानुपर्ने धारणा पनि राखिरहेका छन् ।
उता, दलका उपनेतासमेत रहेका हिमाल कार्की भने नेकपा एमाले नेतृत्वको सरकार ढालेर तत्कालै अर्को सरकार बनाउनु पर्ने पक्षमा छन् । त्यसका लागि नेपाली काँग्रेस,नेकपा माओवादी केन्द्र र जनता समाजबादी पार्टी जसपाको नेतृत्वमा नयाँ सरकार बन्ने अवस्था नभए राप्रपालाई मुख्यमन्त्री दिएर भए पनि प्रदेश सरकार बनाउनु पर्ने पक्षमा कार्की रहेको स्रोतको दाबी रहेको छ । अर्का सांसद केदार कार्की भने नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई कुनै पनि हालतमा मुख्यमन्त्री बनाउनु नहुने लबिङमा रहेका छन् । उनी सकेसम्म लाइन मिलाएर आफैँ मुख्यमन्त्री हुने नभए नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो वा नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउनु पर्ने धारणा राख्छन् ।
नेपाली कांग्रेस दलका नेता थापा नेता कृष्ण सिटौला पक्षका हुन् भने उपनेता कार्की संस्थापन पक्षका र सांसद केदार कार्की डाक्टर शेखर कोइराला निकटका हुन् । सांसद कार्कीले आफूलाई मुख्यमन्त्री बनाउनका लागि वातावरण निर्माणमा सक्रिय रहेका छन् । ‘काेशी प्रदेशकाे मुख्यमन्त्री नेपाली कांग्रेसले पाउनुपर्छ, त्यसाे हुँदा दलकाे नेताकाे रूपमा रहनुभएका हाम्राे नेता उद्दव थापा नै बन्नुपर्छ, यदि उहाँकाे नाममा सहमति नभएकाे खण्डमा अरू विकल्प खाेज्नुपर्छ,’ सांसद केदार कार्कीले भनेका छन् । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र प्रदेश १ संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाको सम्बन्ध नेपाली कांग्रेस नेता कृष्ण सिटौलासँग राम्रो छैन । त्यही कारण राप्रपाले उद्धव थापालाई मुख्यमन्त्री अस्वीकार गर्ने र पालो आफ्नो आउने सांसद कार्कीको दाउ रहेको छ । यस्तै नेपाली कांग्रेस वृत्तमा प्रत्यक्ष निर्वाचित सांसदलाई मात्रै मुख्यमन्त्री बनाउनु पर्ने मत बलियो हुँदै गएको छ । जसका कारण थापालाई पार्टी सभापति देउवाले अन्तिम समयमा ‘ब्याक’ गराउने कोइराला पक्षका सांसदहरूको अपेक्षा रहेको छ ।
त्यसैगरी नेपाली काँग्रेसमा ६०–४० को भागबन्डा हुँदा डाक्टर शेखर कोइरालाको भाग कोशी प्रदेशमा पर्ने निश्चित छ । नेपाली काँग्रेसले नेतृत्व गरेको सुदूरपश्चिम प्रदेश तथा अब निर्माण हुने गण्डकी र लुम्बिनी प्रदेशमा देउवा पक्षबाटै मुख्यमन्त्री हुने सो पक्षको दाबी छ । त्यसो हुँदा कोशी प्रदेश काँग्रेसको भागमा आए आफ्नो पोल्टामा पार्न देउवा बाध्य हुने कोइराला पक्षका एक नेता बताउँछन् । त्यही योजनालाई सफल पार्न नेपाली कांग्रेसका नेता डा. कोइरालाले राप्रपा अध्यक्ष लिङ्देनसँग पटक पटक भेटवार्ता र छलफल गरिसकेका छन् । ‘केन्द्रबाट पार्टी सभापति देउवाले एक पटक उद्धव थापाबाहेक व्यक्तिको नाममा सहमति गर्न राप्रपा अध्यक्ष लिङ्देनलाई अनुरोध गरेको खण्डमा यहाँ राप्रपाले समर्थन गर्छ,नेपाली कांग्रेसका एक नेताले भने, ‘सभापतिलाई मनाउन कोइराला आफैँ लागिरहेका छन् । राप्रपा अध्यक्ष लिङ्देनले कम्युनिस्टको नेतृत्वमा भन्दा कोशी प्रदेशमा डेमोक्रेटिक पार्टीले नेतृत्व गरेको खण्डमा आफूले सहयोग गर्ने बचन दिएको नेपाली काँग्रेस स्रोतको दाबी रहेको छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका प्रदेश सांसद अमृत अर्याल पनि मुख्यमन्त्रीको आकाङ्क्षी हुन् । देउवा पक्षका अर्यालले संसदीय दलको निर्वाचनमा लज्जास्पद हार व्यहोरेका कारण तत्काल उनको पक्षमा पल्लाभारी हुने सम्भावना कमजोर रहेको नेपाली काँग्रेस वृत्तमा चर्चा परिचर्चा हुन् थालेको छ ।
नेकपा एमालेको अर्को दाउ
सरकार ढाल्ने र नयाँ बनाउने चासो बढिरहेको बेला कोशी प्रदेश सरकार टिकाउने विषयमा नेकपा एमालेले भने टिकाउने उपाय खोजिरहेको छ । आफू इतर गठबन्धनको सरकार बनाउन र विश्वासको मत लिन जति असजिलो छ त्यो भन्दा केही अनुकूल अवस्थामा नेकपा एमाले छ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले नेकपा एमालेको साथ छोडेको अवस्थामा भने नेकपा एमालेलाई संकट पर्ने देखिन्छ । सरकारबाट नेकपा माओवादी केन्द्र फिर्ता भएमा ३० दिनभित्र मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिनुपर्छ । तर,नेकपा एमालेले भने विश्वासको मत लिँदा एक जना सांसद ‘चोर्ने’ दाउ हेरेर बसिरहेको छ । ‘त्यस्तो सांसद त नेपाली काँग्रेस,नेकपा माओवादी केन्द्र नेकपा एकीकृत समाजबादी जोसँग पनि हुनसक्छ नि नेकपा एमाले एक नेता भन्छन् । अघिको संसदको कार्यकालमा पनि नेकपा एमालेले आफ्नो सरकार टिकाउनका लागि नेकपा माओवादी केन्द्र संसदीय दलका उपनेता टंक आङ्बुहाङ्लाई मन्त्री बनाएको थियो । यसपटक पनि ‘टंक आङ्बुहाङ’ जन्माउन सकिने नेकपा एमालेका नेताहरु बताउँछन् ।
सरकारबाट फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिने समयसम्ममा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले क्याम्प परिवर्तन गरेको खण्डमा के गर्ने भनेर पनि योजना बनाइसकेको छ । उसले त्यस्तो परिस्थितिमा विश्वासको मत लिने २९ औं दिनमा मुख्यमन्त्रीले राजीनामा दिने र संविधानको धारा १६८ को उपधारा ३ बमोजिम ठुलो दलको तर्फबाट पुनः मुख्यमन्त्रीमा नियुक्त हुने योजना बनाएको छ । त्यसो हुँदा अबको दुई महिना पर धकेलिन सक्ने नेकपा एमालेको दाउ रहेको छ । त्यसपछि पुनः विश्वासको मत लिन कसरत गर्ने र नभए आफ्नै नेतृत्वमा मध्यावधिमा लान सक्ने नेकपा एमालेले आकलन गरेको छ ।

कोशी प्रदेशमा नेकपा एमाले,नेकपा माओवादी केन्द्र ,राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा र जनता समाजबादी पार्टी जसपा मिलेर बहुमत ६० सांसदको समर्थन जुटाएर गत पुष २५ मा मुख्यमन्त्री बनेको छ । ९३ सदस्यीय प्रदेश सभामा बहुमत कायम हुन ४७ मत आवश्यक पर्छ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले नयाँ गठबन्धनमा आउन सहमत भएको अवस्थामा भने नेपाली काँग्रेस,नेकपा माओवादी केन्द्र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा, नेकपा एकीकृत समाजबादी पार्टी र जनता समाजबादी पार्टी जसपाको गरी ५३ जना सांसदको समर्थन प्राप्त हुन्छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले समर्थन नगरेको खण्डमा नेकपा माओवादी केन्द्रबाट सभामुखमा निर्वाचित बाबुराम गौतमले विश्वासको मत दिन नपाउँदा नेपाली काँग्रेस,नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजबादी र जनता समाजबादी पार्टी जसपाको संयुक्त सरकार पुनः अल्पमतमा पर्न सक्ने देखिन्छ ।