काठमाडौं । न्याय माग्दै काठमाडौं आएका मिटरब्याज पीडितहरुले टंगालमा प्रदर्शन गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारतर्फ अगाडि बढेका पीडितहरुलाई निषेधित क्षेत्रतर्फ जानबाट प्रहरीले रोकेपछि उनीहरुले टंगालमै बसेर प्रदर्शन गरेका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने मिटरब्याज पीडितहरुलाई भेट्न टंगाल पुगेका छन् । उनले आफू पीडितहरुको साथमा रहेको बताएका छन् ।

आफू गृहमन्त्री हुँदा मिटरब्याज पीडितहरुको समस्याको समाधान गर्न पहल गरेको भन्दै अहिले पनि त्यो पहल जारी राख्ने उनले बताएका छन् । उनले भने, ‘जाली तमसुक च्यातिनुपर्छ, गरिबलाई ऋणमुक्त बनाउनुपर्छ । त्यसका लागि मैले हस्ताक्षर गरेर हुने भए अहिले यहीँ नै हस्ताक्षर गर्न तयार छु ।
न्याय माग्दै महोत्तरीको बर्दिवासबाट पैदल हिँडेर मिटरब्याज पीडितहरु काठमाडौं आएका हुन् । सोमबार काठमाडौं आइपुगेका उनीहरु खुलामञ्चभित्र प्रवेश गरेर बस्न खोज्दा काठमाडौं महानगरपालिकाले रोकेको थियो । रातभर खुला सडकमा रात बिताएका उनीहरु आज बिहान प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गर्न भन्दै अगाडि बढेका थिए । तर निषेधित क्षेत्रतर्फ प्रवेश गर्न नपाइने भन्दै प्रहरीले टंगालमै उनीहरुलाई रोकेको छ ।