चितवन, बारा र तनहुँमा, को–को बन्दैछन् उम्मेदवार ?
काठमाडौँ । नेकपा एमालेले आगामी वैशाख १० गते हुने तीनवटै क्षेत्रको उपनिर्वाचनमा गठबन्धन नगर्ने भएको छ । वैशाख ३० गते चितवन २, बारा २ र तनहुँ १ मा प्रतिनिधि सभा सदस्य पदमा उपनिर्वाचन हुँदैछ ।
उनले तीनवटै उपनिर्वाचनका लागि उम्मेदवार छान्न पार्टी कमिटीका तल्लो तहलाई निर्देशन दिइसकेको जनाएका छन् । चैत २० गते उम्मेदवारी दर्ताको समय तोकिएकाले १९ गतेभित्र टुङ्गो लगाउने गुरुङको भनाइ छ । ‘२० गते उम्मेदवारी मनोनयनको समय छ, त्यसअघि १९ गतेसम्म हामी उम्मेदवार तय गर्छौ’, नेता गुरुङको भनाइ छ । ‘विधान त हामी उम्मेदवार छान्दा जिल्ला हुँदै प्रदेश कमिटीमार्फत प्रस्ताव माग्छौ, त्यसका लागि तत्तत् कमिटीलाई उम्मेदवार सिफारिस गरेर पठाउन भनेका छौ’ गुरुङले भने, ‘तलबाट आएको सिफारिसमध्येबाट केन्द्रले जसलाई उपयुक्त ठान्छ उसैलाई उम्मेदवार बनाउँछ ।
को–को हुँदैछन् उम्मेदवार ?
जिल्ला र प्रदेशबाट सिफारिस भएर आएकालाई केन्द्रले उम्मेदवार तोक्ने भएकाले चितवन, बारा र तनहुँमा नेकपा एमालेले कसलाई उठाउँदैछ भन्ने प्रस्ट भैसकेको छैन । तर नेकपा एमालेका नेताहरूका अनुसार चितवनमा मङ्सिरमा निर्वाचन लडेर पराजित भएका कृष्णभक्त पोखरेल, बागमती प्रदेश सभामा पराजित देवी ज्ञवाली र नेकपा एमाले जिल्ला अध्यक्ष समेत रहेका र स्थानीय तह निर्वाचनमा भरतपुर महानगरमा रेनु दाहालसँग पराजित भएका विजय सुवेदीमध्ये एक जनालाई उम्मेदवार बनाउने तयारी गरेको छ । मङ्सिरको निर्वाचनमा चितवन २ रास्वपाका रवि लामिछाने ४९ हजार ३०० मत ल्याएर निर्वाचित हुँदा नेपाली कांग्रेसका उमेश श्रेष्ठले १४ हजार ९८८ र नेकपा एमालेका कृष्णभक्त पोखरेल १४ हजार ६५२ मत ल्याएका थिए । सो क्षेत्रमा राप्रपाका रवीन अधिकारीले ९५५ मत ल्याएका थिए ।
बारा २ मा भने गत निर्वाचनमा नेकपा एमालेले उम्मेदवार उठाएको थिएन । सो क्षेत्रबाट जसपाका रामसहाय यादव १३ हजार ८२२ मतसहित निर्वाचित भएका थिए । सो क्षेत्रमा नेकपा माओवादी केन्द्रका शिवप्रसाद कुशवाहाले १३हजार ४६८ र स्वतन्त्र उम्मेदवारहरू रामकिशोर यादव ११ हजार ४३, रवीन्द्रप्रसाद यादव १० हजार ७५०, अरुणकुमार ज्ञवाली ७ हजार ६९८, तथा जनमतका राजेश साहले २ हजार ७२५ र नागरिक उन्मुक्तिको तेजबहादुर भगतले ११११ ल्याएका थिए । नेकपा एमाले मधेस प्रदेश अध्यक्ष ज्वाला कुमारी साहले वारा २ मा यो पटक कसलाई उम्मेदवार बनाउने भन्ने छलफल चलिरहेको बताइन् । ‘छलफल भइरहेको छ केही दिनमा टुङ्गोमा पुग्छौ’, साहको भनाइ छ । त्यस्तै नेकपा एमाले मधेस प्रदेश इन्चार्ज रघुवीर महासेठले यसपटक आफ्नो पार्टीको उम्मेदवारले बारा २ मा जित्ने भन्दै सोही किसिमको उम्मेदवार उठाउने बताएका छन् ।
त्यस्तै तनहुँमा सो पार्टीले सर्वेन्द्र खनाललाई उम्मेदवार बनाउने लगभग निश्चित जस्तै रहेको नेकपा एमाले नेताहरू बताउँछन् । खनालले पार्टीले निर्णय गरेको खण्डमा आफू पछि नहट्ने समेत बताउँदै आएका छन् । खनाल मङ्सिरको निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ६ मा उम्मेदवार बनेका थिए । गृह जिल्ला तनहुँ भएका खनाल मङ्सिरको निर्वाचनमा पनि तनहुँबाटै निर्वाचन लड्न चाहन्थे । तर पार्टीले त्यसबेला एकबहादुर राना मगरलाई उठाएको थियो । उनले १९ हजार ९८१ मत ल्याएका थिए । त्यस्तै स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशीले ६,८८६ र रास्वपाका विकास सिग्देलले ६ हजार ४४ र राप्रपाका उम्मेदवारले २ हजार ४ सय मत ल्याएका थिए । खनालले भने, ‘तनहुँका साथीहरू चुनाव लड्न आइदिनुपर्यो भनिराख्नुभएको छ । उहाँहरू मेरो घरमै आएर रिक्वेस्ट गर्नुभएको थियो । मैले पार्टीको निर्णय मान्छु भनेको छु ।’ जवाफमा उनले आफूलाई भन्दा पनि अध्यक्ष कमरेडलाई भन्न सुझाव दिएको बताएका छन् ।