काठमाडौँ । गण्डकी प्रदेशमा नेकपा माओवादी केन्द्रले सरकारको समर्थन फिर्ता लिएसँगै अहिलेको सरकार अल्पमतमा परेको छ । नेकपा एमाले,नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका ३२ सांसदको समर्थनमा नेकपा एमालेका नेता खगराज अधिकारी मुख्यमन्त्री बनेका थिए । नेकपा माओवादी केन्द्रका ८ सांसदले समर्थन फिर्ता लिएपछि उनी अल्पमतमा परेका हुन् ।
६० सदस्यीय गण्डकी प्रदेश सभामा रहेको गण्डकीमा सरकार बनाउनका लागि ३१ जना सांसदको समर्थन चाहिन्छ । अहिले अधिकारी नेतृत्वको सरकारसँग जम्मा २४ सीटको मात्रै समर्थन रहेको छ । अधिकारीले संविधान अनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । उनले विश्वासको मत प्राप्त नगरे वा राजीनामा दिए नयाँ सरकार बन्छ । २७ सीटको नेपाली कांग्रेस र ८ सीटको नेकपा माओवादी केन्द्र विपक्षमा रहँदा उनले विश्वासको मत पाउने सम्भावना लगभग टुंगिएको छ ।
नेकपा एमाले श्रोतका अनुसार अधिकारीले ३० दिन पूरै सरकार चलाउने र अन्तिम समयमा राजीनामा दिने बुझिएको छ । ‘२९ दिनसम्म यही सरकार रहन्छ । अन्तिममा राजीनामा दिनुहुन्छ,’ श्रोतले भन्यो । नयाँ गठबन्धनसँग ३६ सांसद छन् । नेकपा माओवादी केन्द्रले आफ्नो नेतृत्वमा सरकार बन्नुपर्ने दाबी गरेको छ भने नेपाली कांग्रेसले सरकारको नेतृत्व नछोड्ने बुझिएको छ ।
यद्यपि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड’ले संघ र प्रदेशसम्म सबै सरकारहरू आलोपालोमा चल्ने बताइसकेका छन् । गण्डकीमा पनि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र बीच आलोपालो हुन्छ । तर पहिले कसले नेतृत्व गर्ने भन्नेमा अहिले अलमल रहेको छ । नेकपा माओवादी केन्द्र सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट समेत बाहिरिएपछि नेपाली कांग्रेस- नेकपा माओवादी केन्द्रको गठबन्धनले बैठक बसेर ‘पावर शेयरिङ’ टुंग्याउने बताएका छन् ।