Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

महेश बर्तौलाले मार्दैछन् एमाले संसदीय दलमा फड्को


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, फाल्गुन २८ २०७९
  • 1.6K
    SHARES

काठमाडौं । प्रतिनिधि सभामा पटक पटक सासंद भएकाहरुलाई पन्छाउँदै ३९ बर्षीय महेश बर्तौलाले पहिलो संसदीय यात्रामै सचेतकको जिम्मेवारी पाएका छन् ।  ३९ वर्षीय महेश बर्तौला संघीय संसदमा नयाँ अनुहार हुन्, उनी आइतवार नेकपा एमालेको सचेतकमा चयन भएका छन् । ‘नयाँ भएर पनि छोटो समयमै परिपक्व व्यवहार देखाएका कारण’ बर्तौलालाई सचेतकको जिम्मेवारी दिइएको नेकपा एमाले नेताहरु बताउँछन् ।

उपाध्यक्ष सुवास नेम्वाङ भन्छन, ‘पार्टीले एउटा सोच बनाएर उहाँलाई संसदीय दलमा जिम्मेवारी दिएको हो ।

प्रतिनिधि सभा चुनावमा नेकपा एमालेबाट ७८ जना निर्वाचित भए । त्यसमध्ये अधिकांश नयाँ अनुहार छन् । संसदमा आफ्नो भूमिका देखाउन सबै सांसदहरु प्रयासरत छन् । त्यसमध्ये मकवानपुर २ बाट निर्वाचित महेश बर्तौला छोटो समयमै तुलनात्मक रुपमा आफूलाई अग्र स्थानमा राख्न सफल थिए ।

पार्टीले पनि बर्तौलालाई यसबीचमा बिभिन्न जिम्मेवारी दिएको थियो । उनले नेकपा एमालेबाट प्रतिनिधि सभा नियमावली मस्यौदा समिति सदस्य भएर काम गरे । राष्ट्रपतिका उम्मेदवार सुवास नेम्वाङको प्रतिनिधि भएर राष्ट्रपतिको निर्वाचन प्रक्रियामा भूमिका निवार्ह गरे । नेकपा एमालेबाटै उपराष्ट्रपतिका उम्मेदवार अष्टलक्ष्मी शाक्यको पनि प्रतिनिधि हुन् बर्तौला ।

राष्ट्रपतिमा पुरुष निर्वाचित भएकाले उपराष्ट्रपतिमा महिला हुनुपर्ने जिकिर गर्दै उम्मेदवारका तर्फबाट बर्तौलाले निर्वाचन आयोगमा उजुरी दिएका थिए । निर्वाचन आयोगले संविधानमा राष्ट्रपति र उपराष्ट्रपति फरक लिंग र समुदायको दुवै हुनैपर्ने अनिवार्य वा बाध्यात्मक व्यवस्था नगरेको निर्णय गर्यो । संविधानले राष्ट्रपति र उपराष्ट्रपतिमा लिंग वा समुदाय फरक हुनुपर्ने भनेको छ ।

आफ्नो उजुरीउपर निर्वाचन आयोगको निर्णयलाई बर्तौलाले अन्यथा लिएका छैनन् । उनी भन्छन्, ‘संविधानको धारा ३८ (४) ले राज्यका सबै निकायमा समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागी महिलाको सहभागिता हुने भनेको छ । त्यस आधारमा उजुरी दिएको हुँ । निर्वाचन आयोगले आफ्नो ढंगले ब्याख्या गर्यो । यसलाई अब हामी राजनीतिक रुपमा उठाउँछौं ।

संवैधानिक कानुनका जानकारहरु बर्तौलाको तर्कलाई सुझबुझपूर्ण र चलाखीपूर्ण रुपमा लिनुपर्ने ठान्छन् । निर्वाचन आयोगकै एक अधिकारी भन्छन्, ‘राष्ट्रपति पुरुष हुँदा उपराष्ट्रपति महिला बनाउनुपर्छ भन्ने भावनालाई सम्बोधन गर्न उजुरी दिइएको थियो । त्यसअनुसार समाजमा, सञ्चारमाध्यमहरुमा बहस हुनु नै उजुरीकर्ताको लागि सफलता हो ।

राजनीतिमा कुनै चीज प्राप्तिका लागि माहोल आवश्यक हुने र त्यो बनाउन बर्तौला सक्षम सांसदको रुपमा देखा परेको नेकपा एमालेकै संसदीय फाँट हेर्ने उच्च अधिकारीहरु बताउँछन् । त्यसकै परिणाम ७८ सांसदमध्ये बर्तौलाले एकपछि अर्को जिम्मेवारी प्राप्त गरेको र प्राप्त जिम्मेवारीमा उनले निर्वाह गरेको भूमिकाका आधारमा सचेतकको जिम्मेवारी पाउन सफल भएको नेकपा एमाले उच्च अधिकारीको जवाफ छ ।

स्वयम सांसद बर्तौला पनि छोटो समयको संसदीय अनुभवले आफूलाई धेरै कुरा सिकाएको बताउँछन् । ‘मेरा लागि संसद नयाँ विश्वविद्यालय नै हो । तर, यो छाटो समयको अनुभवले भन्छ– संसदलाई ‘विजनेश’ दिलाउने विषय सांसदहरुमै निर्भर रहने रहेछ’ उनी थप्छन्, ‘सरकारलाई जवाफदेही बनाउन पनि सांसदहरुले नै रचनात्मक जाँगर देखाउनुपर्ने रहेछ ।

सांसदहरुले मेहनत गर्दा सोही अनुसार प्रभावकारी कानुन बन्न सक्ने अनुभव आफूले प्राप्त गरेको बर्तौला बताउँछन् । उदाहरणका रुपमा उनी प्रतिनिधिसभा नियमावलीको मस्यौदा देखाउँछन् ।

११ माघमा गठित मस्यौदा समिति १० फागुनसम्म क्रियाशिल रह्यो । सदस्यका रुपमा बर्तौला उक्त समितिको गतिविधिमा सक्रिय थिए । थोरै महेनत गरेर बैठकमा जाँदा पनि तथ्यहरुसहित तर्कसंगत बहस गर्न सकिने र त्यसलाई काट्न अन्यलाई अप्ठ्यारो पर्ने अनुभूति मस्यौदा समितिको बैठकका गतिविधिले आफूलाई गराएको बर्तौला सुनाउँछन् ।

‘अघिल्लो कार्यकालमा रहेका र नरहेका अनुभवी सांसदहरु, सरोकारवाला क्षेत्रका जानकारहरु, कर्मचारी सबैसँग के कस्ता अप्ठ्यारा छन्, परिस्थिति अनुसार नयाँ व्यवस्था के गर्न आवश्यक छ भनेर राय लिएँ । प्राप्त रायउपर आफैँले अध्ययन गरेँ’, मस्यौदा समितिको बैठकमा जान गरेको तयारीबारे बर्तौला सुनाउँछन् । अन्तराष्ट्रिय अभ्यास समेत नियालेर प्रतिनिधिसभा नियमावलीलाई बिगतमा भन्दा थप परिपक्व बनाउन भूमिका निर्वाह गरेको उनलाई लाग्छ ।

‘सुवास नेम्वाङ, रमेश लेखक लगायत २०४८ साल देखिका सांसदहरु मस्यौदा समितिमा हुनुहुन्थ्यो । उहाँहरुलाई समेत इनपुट दिने गरी काम गर्न सक्यौं भन्ने लाग्छ’, बर्तौलाले भने ।
अनुभवी र नयाँ सांसदहरुको स्पिरिट मिलाउँदा प्रतिनिधिसभा नियमावली प्रोग्रेसिभ बनेको उनको ठम्याइ छ । उदाहरणका रुपमा उनी यसपटक थप गरिएका व्यवस्थाहरु देखाउँछन् ।

विगतमा उपसभामुखलाई प्रतिनिधि सभाको बैठकको सुरुवात र अन्त्य गर्ने अधिकार थिएन । यसपटक सभामुखको स्वीकृतिमा उपसभामुखले प्रतिनिधि सभाको बैठकको सुरुवात र अन्त्य गर्न सक्ने प्रावधान राखिएको छ ।

राष्ट्रपति, उपराष्ट्रपति र संवैधानिक निकायका प्रमुख एवं पदाधिकारीहरुउपर लाग्ने महाअभियोग उपर निर्णय गर्नुपर्ने समयसीमा यसपटक प्रतिनिधिसभा नियमावलीमै राखिएको छ । बर्तौला भन्छन्, ‘सभामुखले अनन्तकालसम्म महाअभियोग लम्ब्याउन सक्ने अवस्था अन्त्य गर्न समय सिमा (पाँच महिना) राखिएको हो ।

अब बर्तौलाले निर्वाचन क्षेत्रमा व्यक्तिगत प्रभावको भोट र केन्द्रमा पहुँच देखाउन नसके अर्को पटक संघीय सांसदको टिकट भूगोलका नेताहरुले खोस्न सक्ने भएकाले त्यसका निम्ति समेत आफूलाई तयार गर्दै लगेको कतिपय नेताहरुको बुझाइ छ ।
नेताहरुका अनुसार, कानुनको समेत विद्यार्थी भएकाले मस्यौदा समितिमा जिम्मेवारी दिइएको थियो । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा पनि भूमिका पाए । यसबीचको कार्यकुशलता हेरेर सचेतकको जिम्मेवारी दिइएको हो ।

बर्तौलाले २०६९ सालमा अधिवक्ताको लाइसेन्स लिएका थिए । तर, उनी वकालतमा भन्दा विद्यार्थी राजनीतिमा केन्द्रित रहे । उनले राजनीति शास्त्रमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेका छन् । व्यवस्थापनमा मकवानपुर बहुमुखी क्याम्पसबाट स्नातकोत्तर गरेका छन् ।

बर्तौला मकवानपुर बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको दुई पटक (२०६२ र २०६५) सभापति भएका थिए । त्यसयता स्वतन्त्र विद्यार्थी युनियन काउन्सिल नेपालको केन्द्रीय संयोजक, विभिन्न समयमा अनेरास्ववियुको केन्द्रीय सदस्य, मध्यमाञ्चल विकास क्षेत्रीय प्रमुख हुँदै अनेरास्ववियुको केन्द्रीय सचिव, केन्द्रीय उपाध्यक्षसम्म भए । कार्यवाहक अध्यक्षको जिम्मेवारी समेत निर्वाह गर्ने अवसर पाएका थिए उनले ।

बर्तौला अनेरास्ववियुको अध्यक्ष हुन चाहन्थे तर, सुनिता बराल अध्यक्ष हुने परिस्थिति बनेपछि विद्यार्थी राजनीतिबाट अलग्गिए । उनी विद्यार्थी राजनीतिबाट अलग्गिएको एक वर्षमै प्रतिनिधिसभा सदस्यको रुपमा संघीय सांसद छिरेका हुन् ।

नेकपा एमाले फुटेको र मकवानपुर निर्वाचन क्षेत्रमा २०४३ सालदेखि कुनै न कुनै रुपमा नेकपा एमालेको तर्फबाट जिम्मेवारीमा रहँदै आएका विरोध खतिवडा नयाँ दलमा हुँदा बर्तौलाले अवसर पाएका हुन् ।

नेकपा एमाले मकवानपुरका नेताहरुका अनुसार, खतिवडालाई पराजित गरेर सांसद भएका बर्तौलाका मुख्य दुई वटा चुनौती छन् । खतिवडाले केन्द्रीय राजनीतिमा खेलेको भूमिका बिर्साउने र भूगोलमा लामो समयदेखि काम गरिरहेका नेताहरुको विश्वास जित्ने ।

यी दुई पक्षको सफलताले नै बर्तौलाको थप राजनीतिक जीवनको रेखा कोर्ने बताउँछन् नेकपा एमाले मकवानपुरका नेता अच्युतम ढकाल । ‘उहाँ (बर्तौला) ले नेकपा एमालेको मात्रै भोट पाएर जितेको होइन । त्यसकारण निर्वाचन क्षेत्रका सबै जनताको आश उहाँ प्रति छ । पार्टीको सरकार नहुँदा विकासका कुराहरुमा अप्ठ्यारो पनि हुन्छ’, ढकाल भन्छन्, ‘युवा पढेलेखेको नेता हो । चुनौतीलाई सामना गरेर अगाडि बढ्नुहुन्छ । जनतालाई निराश पार्नुहुन्न, पार्टीलाई पनि निराश पार्नुहुन्न भन्ने विश्वास छ ।

अब बर्तौलाले निर्वाचन क्षेत्रमा व्यक्तिगत प्रभावको भोट र केन्द्रमा पहुँच देखाउन नसके अर्को पटक संघीय सांसदको टिकट भूगोलका नेताहरुले खोस्न सक्ने भएकाले त्यसका निम्ति समेत आफूलाई तयार गर्दै लगेको कतिपय नेताहरुको बुझाइ छ । यसका लागि उनले पार्टीमा रहेका गुटहरुमा पनि आफूलाई सन्तुलित देखाउने प्रयास गरिरहेका छन् । साथसाथै, संसदमा प्राप्त समयमा निर्वाचन क्षेत्रका विषय उठाएर निर्वाचन क्षेत्रका जनताहरुको पनि ध्यान खिच्ने प्रयास गरिरहेका छन् ।

४ मंसिरमा सम्पन्न चुनावपछि प्रतिनधिसभाको पहिलो बैठक २५ पुसमा बसेको थियो । यसबीचमा प्रतिनिधिसभाका १२ वटा बैठक बसे । यसबीचमा बर्तौलाले एक पटक ढ्यापढ्यापे र एक पटक शून्य समयको सदुपयोग गरे । ढ्यापढ्यापेमा किसानले रासायनिक मल पाउन नसकेको विषय उठाएका थिए । शून्य समयमा मकवानपुरको मनहरीमा हात्तीले स्थानीयबासिन्दालाई दु:ख दिएको भन्दै सरकारको ध्यानाकर्षण गरेका थिए ।

सचेतक बर्तौला प्राप्त जिम्मेवारी कुशलतापूवर्क पुरा गर्ने बताउँछन् । उनी भन्छन्, ‘जनताले विश्वास गरेर सांसद बनाए । संसदीय दलको नेताले भरोसा गरेर सचेतकको जिम्मवारी दिनुभएको छ । त्यो विश्वास र भरोसालाई ख्याल गरेर अगाडि बढ्छु ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४