काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरले सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिने विषयमा शीर्ष नेतृत्त्वबीच सहमति जुटेको बताएका छन् । बानेश्वरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले गठबन्धनका नेताहरूबीच मुख्यमन्त्री शाहलाई विश्वासको मत दिने विषयमा सहमति जुटिसकेको बताएका हुन् ।
शाहले विश्वासको मत नपाए सुदूरपश्चिममा राजनीतिक अस्थिरता निम्तिने उनको भनाई छ । ‘केन्द्रमा पनि गठबन्धन छ । यसको प्रभाव तलसम्म पर्छ । गठबन्धन भएकाले पछि दलहरूबीच सत्ता आलोपालो होला,’ उनले भने, ‘तत्काल कमलबहादुर शाहजीलाई विश्वासको मत दिन नेकपा माओवादी केन्द्र सहमत भएको छ ।
आज दिउँसो १ बजे बस्ने गरी प्रदेशसभा बैठक आह्वान गरिएको छ । सोही बैठकमा उनले विश्वासको मत लिन लागेका हुन् । नेकपा एमालेका राजेन्द्र सिंह रावललाई नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि ठूलो दलको हैसियतमा नेपाली कांग्रेसका शाहलाई २६ माघमा प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।
नेकपा एमालेका रावलले विश्वासको मत नपाएर राजीनामा दिएपछि ठूलो दलको हैसियतले नेपाली कांग्रेस संसदीय दलका नेता शाह संविधानको धारा १६८ को उपधारा ३ बमोजिम नियुक्त भएका थिए । माघ २६ गते गठित सरकारले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।
५३ प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा सरकार बनाउन २७ सांसदको आवश्यकता पर्दछ । नेपाली कांग्रेसका १९,नेकपा माओवादी केन्द्रका ११ (सभामुख), नागरिक उन्मुक्ति नाउपा”का ७ र नेकपा एकीकृत समाजवादीका ४ सहित ४१ सांसद नयाँ गठबन्धनसँग छन् । तर नेकपा माओवादी केन्द्र र नाउपाका सांसदले मत नदिँदा मुख्यमन्त्रीले २३ मत मात्रै पाउनेछन् । त्यहाँ नेकपा एमालेका १० उपसभामुख राप्रपा र स्वतन्त्र १-१ सांसद छन् ।