काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् पुनर्गठनका विषयमा भोलि मंगलबार छलफल सुरु गर्ने भएका छन् ।
सरकारबाट नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निस्किएपछि मन्त्रिपरिषद् पुनगर्ठनका विषयमा मंलबारदेखि छलफल सुरु गर्ने भएका हुन् । प्रधानमन्त्री प्रचण्डले भोलि (मंगलबार) देखि मन्त्रिपरिषद् पुनगर्ठनका विषयमा आठ दलीय गठबन्धनका नेताहरुसँग छलफल थाल्ने प्रधानमन्त्री निकट एक नेताले बताएका छन् ।
आज नेकपा एमाले सरकारबाट बाहिरियो । राप्रपा र रास्वपा केही दिन अघि बाहिरियो’ प्रधानमन्त्री प्रचण्ड निकट एक नेताले भने, ‘अब सबै परिस्थितिको विषयमा विश्लेषण हुनेछ । भोलिदेखि नयाँ गठबन्धनका नेताहरुसँग मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल हुनेछ ।
आठ दलीय गठबन्धनका कुन दललाई कति मन्त्रालय दिने भन्ने विषयमा शीर्ष नेताहरुको बैठकबाट टुंगो लाग्ने ती नेताले बताएका छन् । सत्ता साझेदार दलका कतिपय नेताहरुले कार्यदल बनाएर मन्त्रालय भागबण्डा टुंगो लगाउनुपर्ने बताएका छन् ।
प्रचण्ड नेतृत्वको सरकारमा नेकपा माओवादी केन्द्र सहित नेपाली कांगेस, जनता समाजबादी पार्टी जसपा,नेकपा एकीकृत समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र केही स्वतन्त्र सांसदले समेत सरकारमा जान इच्छा देखाएका छन् । नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री प्रचण्डको काँधमा १६ मन्त्रालयको जिम्मेवारी थपिएको छ ।