Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रचण्डलाई रोक्न एकपछि अर्का नेतालाई ओलीको राष्ट्रपति प्रस्ताव


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, फाल्गुन ९ २०७९
  • 2K
    SHARES

काठमाडौं । नयाँ राष्ट्रपति चयन गर्न १३ फागुनमा उम्मेदवारी दर्ता गर्नुपर्ने भएकाले शीर्ष नेताहरुको दौडधुप बढेको छ । राष्ट्रपति लिने निर्णय सार्वजनिक गरेरै नेपाली कांग्रेसका नेताहरु सत्ता गठबन्धन भत्काउन लागिपरेका छन् ।

त्यसका लागि नेकपा माओवादी केन्द्रलाई नेकपा एमालेबाट अलग गराउने उनीहरुको प्रष्ट लक्ष्य छ । जवाफमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि गठबन्धन जोगाउन राष्ट्रपतिका लागि एकपछि अर्को नेतालाई प्रस्ताव गरिरहेका छन् । नेकपा एमालेका एक पदाधिकारी, गठबन्धन जोगाउन अनेक विकल्पमा प्रयत्न भइरहेको स्वीकार्छन् । ‘राजनीतिक स्थिरताका लागि पनि यो गठबन्धन जोगिनुपर्छ भनेर अनेक विकल्पमा अध्यक्ष कमरेडले प्रयत्न गरिरहनुभएको छ’, ती पदाधिकारी भन्छन् ।

तर राष्ट्रपतिमा सहयोग गर्ने नेपाली कांग्रेसलाई बचन दिइसकेका प्रचण्डले मन नबदलेसम्म ओलीको कार्डले काम गर्ने सम्भावना न्यून रहेको नेताहरु बताउँछन् । आइतबार साँझ बालुवाटारमा भएको छलफलमा नेपाली कांग्रेसलाई राष्ट्रपतिमा सघाउने बचन प्रचण्डले दिइसकेका स्रोतहरु बताउँछन् ।

प्रचण्डको त्यही बचनपछि नै नेकपा एमालेले पनि दल बाहिरबाट एकपछि अर्का नेतालाई राष्ट्रपति प्रस्ताव गर्न थालेको हो । नेकपा एमालेसम्वद्ध स्रोतका अनुसार माधवकुमार नेपाल, झलनाथ खनाल र अमिक शेरचनलाई राष्ट्रपतिमा प्रस्ताव गरिएको छ ।

नेकपा माओवादी केन्द्रबाट लुम्बिनीको प्रदेश प्रमुख रहेका अमिक शेरचनलाई नेकपा एमालेका नेताहरुले राष्ट्रपति स्वीकार गर्न सक्ने सन्देश पठाएका थिए । लगत्तै, शेरचनले प्रधानमन्त्री प्रचण्डका साथै नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग कुराकानी गरेका थिए । तर देउवाले ‘ढिला भयो’ भन्ने जवाफ दिएपछि उनी रोकिएका छन् ।

यो बीचमा नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईलाई राष्ट्रपति बनाएर अहिलेको सत्ता गठबन्धन जोगाउनुपर्ने भन्दै नेताहरुले लबिङ थालेका थिए । नेसपा सहअध्यक्ष एवं बाग्मती प्रदेशका आन्तरिक मामिलामन्त्री गंगा नारायण श्रेष्ठ लगायतले नेकपा एमाले महासचिव शंकर पोखरेल लगायतका नेताहरुलाई भेटेका थिए । स्रोतका अनुसार नेकपा एमालेका नेताहरुले भट्टराईलाई स्वीकार गर्छौं पनि भनेनन्, अस्वीकार पनि गरेनन् ।

यस बीचमा प्रधानमन्त्री प्रचण्ड,नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेसपा अध्यक्ष भट्टराईबीच भेटवार्ता गराउने प्रयास पनि भएको थियो । तर त्यसले मूर्त रुप लिएन । प्रचण्डले आफूलाई अघि सार्ने सम्भावना नदेखेपछि भट्टराईले नेकपा एमाले र नेकपा माओवादी केन्द्र दुबैले स्वीकार गर्ने वामपन्थी पृष्ठभूमिका व्यक्ति खोज्न आग्रह गरेका थिए ।

त्यसक्रममा नेकपा एमालेका नेताहरुले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई पनि राष्ट्रपतिको प्रस्ताव राखेका छन् । अध्यक्ष नेपालसँग त ओली आफैंले सांसद किसान श्रेष्ठको निवासमा भेटवार्ता गरेका थिए ।

नेताहरुका अनुसार,नेकपा एकीकृत समाजवादीसँग पार्टी एकता गर्ने र नेपाललाई राष्ट्रपति बनाउने ओलीको प्रस्ताव थियो । पूर्व प्रधानमन्त्री नेपालले पनि राष्ट्रपति बन्न चाहना देखाएका छन् । तर नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले समर्थन गर्ने अवस्था आएमात्र अघि बढ्ने उनको सर्त छ ।

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरु भने नेपाललाई राष्ट्रपति बनाउने पक्षमा देखिएका छैनन् । दुबै दलका नेताहरु ओलीको प्रस्तावलाई बन्न लागेको सहमति भाँड्ने प्रयासका रुपमा अथ्र्याउँछन् । नेकपा माओवादी केन्द्रका एक पदाधिकारी भन्छन्, ‘यदि माधव नेपाललाई राष्ट्रपति प्रस्ताव गरेको हो भने नेकपा एमालेले औपचारिक रुपमा निर्णय गर्नुपर्‍यो । राष्ट्रिय सहमति जुटाउन बैठक बोलाउनुपर्‍यो नि ! त्यसपछि मात्र नेकपा माओवादी केन्द्रले यो विषयमा बोल्ने उनले बताएका छन्  ।

नेपाली कांग्रेसका नेताहरु पनि प्रचण्डलाई आफूहरुसँग सहमति गर्न गाह्रो होस् भनेर मात्र नेकपा एमाले अध्यक्ष ओलीले नेताहरुलाई राष्ट्रपतिको प्रस्ताव राख्दै हिँडेको बताउँछन् । एक नेताका अनुसार, आइतबार साँझ प्रधानमन्त्री प्रचण्डसँग भएको छलफलमै नेकपा एमाले अध्यक्ष ओलीले चाल्नसक्ने कदमबारे आंकलन गरिएको थियो ।

‘प्रचण्डलाई ५ वर्ष प्रधानमन्त्री दिन्छु भन्छन्, माधव नेपाल र झलनाथ खनाललाई पालापालो राष्ट्रपतिको प्रस्ताव गर्छन् । भएन भने नेपाली कांग्रेसलाई राष्ट्रपति दिन्छौं, दुबै दल मिलेर सरकार चलाउँ भन्न सक्छन्,’नेपाली कांग्रेसका एक नेता भन्छन् ।

तर कसलाई राष्ट्रपति बनाउने भन्ने प्रचण्डको हातमा भएकाले ओलीको प्रस्तावको कुनै अर्थ नहुने नेपाली कांग्रेसका नेताहरुको बुझाइ छ । उनीहरुका अनुसार प्रचण्डलाई राष्ट्रपति को भन्ने जति चिन्ता छ, त्यो भन्दा धेरै सरकार सञ्चालनमा चासो छ । र, ओलीसँग बसेर सरकार सञ्चालन गर्न सकिन्न भन्ने निष्कर्षमा उनी पुगिसकेका छन् । स्रोतका अनुसार बन्द कोठामा हुने छलफलहरुमा प्रचण्डले सरकार बनेको ‘४८ घण्टामै ओलीसँग आजित भएँ’ भनेर सुनाउने गरेका छन् ।

ओलीले संसदको पहिलो बैठकमै संविधानसभा विघटनको वकालत गरेपछि त आफ्नो राजनीतिक लाइन पनि नमिलेको प्रचण्डको भनाइ छ । ‘विकल्प नभएको भए दबिएर भए पनि बस्थे होलान, तर नेपाली कांग्रेसले विकल्प दिएपछि उनी नेकपा एमालेसँग नबस्ने मुडूमा छन्’ एक नेता भन्छन् ।

नेकपा एमालेका एक पदाधिकारीले पनि राष्ट्रपतिको विषय प्रधानमन्त्री प्रचण्डका लागि बाहना मात्र भएको बताउँछन् । राष्ट्रिय–अन्तराष्ट्रिय शक्ति केन्द्रको दबावमा रहेको र प्रचण्डले नेपाली कांग्रेससँग सहकार्य नै ‘कम्फर्टेबल’ मानेको उनको बुझाइ छ ।

माधव नेपालको इन्ट्रीले हलचल

माधवकुमार नेपाललाई राष्ट्रपति बन्न ओलीले राखेको प्रस्तावले पनि आइतबार बालुवाटारमा जुटेको समझदारी नभत्किनेमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरु ढुक्क देखिन्छन् । माधवकुमार नेपाल स्वयं पनि ओलीतिर जाने पक्षमा नभएको उनीहरुको बुझाइ छ । तर, राष्ट्रपति बनाउने ओलीको प्रस्तावले शक्ति बाँडफाँटमा नेपाललाई पनि समावेश गर्नुपर्ने परिस्थिति भने सिर्जना भएको उनीहरु बताउँछन् ।

एक नेताका अनुसार प्रचण्ड, माधवकुमार नेपाललाई छाड्न चाहन्नन् । किनकी नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीलाई साथमा राखेर समाजवादी मोर्चा बनाउने योजनामा प्रचण्ड छन् । यसका लागि उनले मिल्नेहरुसँग पार्टी एकता नै गर्ने भनेर नेकपा माओवादी केन्द्रको नाम र चुनाव चिह्न नै फेर्ने प्रस्ताव अघि बढाएका छन् । पार्टी एकता नभए समाजवादी मोर्चा बनाउने उनको योजना छ ।

नेपाली कांग्रेसका नेताहरु पनि उनलाई नेकपा एमालेतिर जान दिने पक्षमा छैनन् । १० सांसद भएको नेकपा एकीकृत समाजवादीले एमाले (७९) सँग एकता गर्ने हो भने तत्काल संसदको सबभन्दा ठूलो दल बन्नेछ । साथै, भोलिका दिनमा नेकपा एमालेसँगको चुनावी प्रतिस्पर्धा कठिन बन्नसक्ने नेपाली कांग्रेसका नेताहरुको बुझाइ छ । त्यसैले माधवकुमार नेपाललाई शक्ति बाँडफाँटमा समावेश गर्दै साथमा राख्ने नेताहरु बताउँछन् ।

चुनावपछि भएको छलफलहरुमा पनि २/२/१ वर्ष प्रधानमन्त्री हुने छलफल भएको थियो । यो पटक प्रचण्ड तीन वर्ष प्रधानमन्त्री हुने र बाँकी २ वर्ष नेपाली  कांग्रेसले सरकारका नेतृत्व गर्ने समझदारी थियो । अब माधव नेपाललाई समेत समावेश गरेर पावर शेयरिङमा नयाँ समझदारी खोज्नुपर्ने भएको नेताहरु बताउँछन् ।

माधवकुमार नेपालले पनि शक्ति बाँडफाँटमा आफ्नो दलको भूमिका हुनुपर्ने बताएका छन् । मंगलबार दाङ पुगेका उनलाई सञ्चारकर्मीहरुले राष्ट्रपतिका लागि नेकपा एमालेले राखेको प्रस्तावबारे सोधेका थिए । यसबारे बोल्न हतार नगर्ने बताएका उनले भने, ‘तर पावर शेयरिङमा हाम्रो पार्टीको भूमिका हुनु पर्दछ । अरुका निम्ति मात्रै हामी सधैंभरि बलिदान हुने र अरुले चाहिँ त्यसको फाइदा उठाउने हुन सक्दैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४