काठमाडौं । नेपाली कांग्रेसले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबाट एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपतिको उम्मेदवार बन्न प्रस्ताव आएको भनेर भ्रम सिर्जना गर्न खोजिएको बताएको छ । राष्ट्रपतिमा नेपाली कांग्रेसको उम्मेदवारलाई प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साथ दिने नेपाली कांग्रेस महामन्त्री गगनकुमार थापाले जन प्रहारलाई बताएका छन् ।
नेकपा एमालेका अध्यक्ष ‘केपी शर्मा ओलीले माधवकुमार नेपाललाई राष्ट्रपतिको उम्मेदवारका रुपमा अगाडि सारेको भनेर हल्ला चलाइएको छ । त्यो सबै कन्फ्युजन क्रियट गर्ने कुरामात्र हो,’ उनले भने, ‘राष्ट्रपतिका सन्दर्भमा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच भएको सहमतिमा कुनै फरक पार्दैन । प्रचण्डले राष्ट्रपतिमा नेपाली कांग्रेसको उम्मेदवारलाई सहयोग गर्नुहुन्छ ।
नेकपा माओबादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग निरन्तर संवादमा रहेका नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाका अनुसार केपी शर्मा ओलीले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति बन्ने सम्भावना छैन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फैलाएको हल्लाको भरमा नेपाली कांग्रेसले माधव नेपाललाई राष्ट्रपतिको उम्मेदवारका रुपमा अगाडि नसार्ने उनको भनाइ छ । नेपाली‘कांग्रेसले रामचन्द्र पौडेललाई अगाडि सार्ने निश्चित भएको छ । अरु दायाँ–बायाँ हुने अवस्था छैन,उनले भनेका छन् ।
नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पनि नेपाली कांग्रेसबाट पौडेल उम्मेदवार बन्ने सम्भावना प्रबल रहेको बताएका छन् । उनले भने, ‘राष्ट्रपतिमा नेपाली कांग्रेसले उम्मेदवारी दिने औपचारिक निर्णय गरिसकेको छ । राष्ट्रपतिको उम्मेदवारबारे मात्र निर्णय हुन बाँकी हो । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल उम्मेदवार हुने ९९ प्रतिशत सम्भावना छ ।
नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाको सचिवालयका अनुसार गत पुस ६ गते भएको संसदीय दलको निर्वाचनमा पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने संस्थापन पक्षमा सहमति भएको थियो । सोही सहमति अनुसार संसदीय दलको निर्वाचनमा रामचन्द्र पौडेल देउवाको प्रस्तावक बसेका थिए । नेता एनपी साउदले पनि राष्ट्रपतिको उम्मेदवार पौडेल नै बन्ने दाबी गरेका छन् । तर नेपाली कांग्रेसमा नेताहरु कृष्ण प्रसाद सिटौला, गोपलमान श्रेष्ठ, मानबहादुर विक पनि राष्ट्रपतिको उम्मेदवारका लागि लबिङमा रहेका छन् ।
नेपाली कांग्रेसबाट राष्ट्रपति बनाउने कुरामा दुविधा नभएकाे महामन्त्री गगनकुमार थापा भनाइ छ । उनका अनुसार केपी शर्मा ओलीको प्रस्तावमा माधवकुमार नेपाल राष्ट्रपतिको उम्मेदवार हुने कुरा नेकपा एमालेकै राष्ट्रपति भएजस्तै हो । ‘यो कुरा प्रचण्डले मान्ने सम्भावना छैन । अहिले प्रचण्ड नेकपा एमालेको गठबन्धनमा रहने कि कांग्रेसको गठबन्धनमा भन्ने मुल प्रश्न हो । को राष्ट्रपति बन्ने भन्ने होइन,’ उनले भने, ‘हामीले बाहिर छलफल नै गलत गरिरहेका छौं । प्रचण्डले राष्ट्रपति को हुने भन्ने सुन्नुभएकै छैन ।
नेपाली कांग्रेसले प्रस्ताव नगरेसम्म माधवकुमार नेपाल राष्ट्रपति बन्ने अवस्था नरहेको उनको जिकिर छ । ‘प्रचण्डले नेपाली कांग्रेससँगको गठबन्धनमा बस्ने निर्णय गरेपछि नेपाली कांग्रेसले जसलाई अगाडि बढाउँछ, उही राष्ट्रपति बन्छ । माधव नेपाल कांग्रेसको प्रस्तावमा मात्र राष्ट्रपति बन्न सक्नुहुन्छ । त्यसका लागि नेपाली कांग्रेसले प्रस्ताव गर्नुपर्छ,’ उनी भन्छन् ।
उनका अनुसार नेपाली कांग्रेसले कुनै फाइदा हेरेर माधवकुमार नेपाललाई राष्ट्रपति बनाउछौं भनेर आयो भने मात्र उनी राष्ट्रपति बन्ने हो । नेपाली‘कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति हुने कुरामा कन्फ्युजन छैन । अब केपी शर्मा ओलीले कसैलाई भनेर केही हुन्न । राष्ट्रिय राजनीति केपी शर्मा ओलीको कोर्टभन्दा बाहिर गइसक्यो,’ महामन्त्री गगनकुमार थापाले भनेका छन् ।
उनका अनुसार प्रचण्डले नेकपा एमालेसँगै कै गठबन्धन कायम राखिराख्छु भन्दा नेकपा एमालेले कसलाई प्रस्ताव गर्छ भन्ने कुराको अर्थ हुन्थ्यो । यसका लागि प्रचण्डले नेकपा एमाले नेतृत्वकै गठबन्धनमा बस्छु भनेर कित्ता क्लियर गर्नुपर्ने उनको भनाइ छ । ‘अहिले प्रचण्डले नेपाली कांग्रेससँग बस्ने मन बनाएको हो नि ! नेपाली कांग्रेससँग बस्ने मन बनाएको ठाउँमा नेकपा एमालेले कसलाई प्रस्ताव गर्यो भन्ने कुराको के अर्थ भयो र ? महामन्त्री गगनकुमार थापाले भनेका छन् ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाका अनुसार नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच औपचारिक तहमा छलफल सुरु भइसकेपछि सत्ता समीकरण फेरबदल गर्ने सहमति ‘अन द स्पोट’ भइसकेको छ । तर अहिले प्रक्रियाको हिसाबले प्रचण्डले राष्ट्रिय सहमति भनिरहेका छन् । नेपाली‘कांग्रेसले पनि अहिले हाम्रो प्राथमिकता भएको बेलामा औपचारिक ढंगले सत्ता गठबन्धन फेरबदल गर्ने विषय प्रवेश गराउनु त भएन,’ उनले भने, ‘अहिले राष्ट्रपतिमा प्रचण्डले नेपाली कांग्रेसलाई मद्दत गर्ने र प्रचण्डको सरकारको निरन्तरताका लागि नेपाली कांग्रेस सहयोगी रहनेमात्र औपचारिक सहमति भएको छ ।
उनका अनुसार नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेसलाई राष्ट्रपतिमा सहयोग गर्दा पनि नेकपा एमाले सरकारबाट नबाहिरिए के गर्ने भनेर नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच छलफल भइरहेको छ । ‘तर त्यसमा पनि परिस्थितिले धकेल्दै नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको हिजोको गठबन्धन बिउँतिने अवस्थामा पुर्याउँछ, उनी भन्छन् ।
- देउवा र नेपालकाे वार्ता तयारी
संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस भएकोले राष्ट्रपतिमा उम्मेदवारी दिने छ। तर अहिलेसम्म उम्मेदवार भने टुंगो लागेको छैन। ‘माधवकुमार नेपालजी वा अरूको कुरा, ओलीले भेट्नुभयो भन्दैमा हामीले उम्मेदवार नदिने भन्ने सोच राख्या पनि छैन राख्दा पनि राख्दैनौं,’नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले भनेका छन् ।
२५ गते हुने राष्ट्रपति चुनावका लागि फागुन १३ गते मनोनयन दर्ता गर्ने कार्यतालिका छ। थापाका अनुसार नेपाली कांग्रेसले राष्ट्रपतिमा उठाउने उम्मेदवारलाई ५ दलीय गठबन्धनले सबैका तर्फबाट मत हाल्ने गरी समझदारी बनिसकेको छ । औपचारिकता दिन मात्रै बाँकी रहेको भन्दै केही दिनमै निर्णय हुने उनको भनाइ छ ।
नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी निरन्तर संवादमा रहेको भन्दै केपी शर्मा ओलीले सिर्जाना गरेको भ्रम निवारण गर्न आज छलफलको थापाले बताएका छन् । उनका अनुसार आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ताको तयारी छ ।
अहिले दाङको भालुवाङमा रहेका नेकपा एकीकृत समाजवादी अध्यक्ष माधबकुमार नेपाल अपराह्न ४ बजे काठमाडौं आउने छन् । त्यसपछि देउवा र नेपालबीच भेटवार्ता हुने उनले बताएका छन् ।
