काठमाडौँ । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले भावी राष्ट्रपतिका लागि उपयुक्त पात्रको खोजी भइरहेको बताएका छन् । राष्ट्रिय सहमति जुट्न सक्ने खालको व्यक्तिलाई राष्ट्रपतिका रूपमा अघि सार्नुपर्ने पनि उनले बताएका छन् ।
नेकपा माओवादी केन्द्रले राष्ट्रपतिमा उम्मेदवारी नदिने भन्दै गुरुङले दाबी गरेको नेपाली कांग्रेस र नेकपा एमालेले सबैलाई मान्य हुने उम्मेदवार दिन सुझाएका छन् ।
‘संविधानको भावना र मर्मलाई समात्नुपर्छ । विगतमा त्यो भएन,’ उनले भने, ‘हिजो दल विशेषको हिसाबले सीमित करण गर्ने प्रयास भयो । कहिले सरकारको सिफारिसलाई अवमूल्यन गर्ने, कहिले संसदको सिफारिसलाई अवमूल्यन गर्ने काम भयो । अहिले त्यो पाठ सिकेर निर्णय लिनुपर्छ ।
उनले अहिलेसम्म पात्रको खोजी भैनसकेको बताएका छन् । ‘अहिले जटिल र संकटको अवस्था छ । शक्ति केन्द्रहरू खेलिरहेको अवस्था छ । यो अवस्थामा सहमतिलाई दह्रो बनाउनुको विकल्प छैन,’ गुरुङ भन्छन्, ‘राष्ट्रपति जस्तो पदलाई साझा रूपमा स्थापित गर्न सक्नुपर्छ । त्यो भएन भने मुलुकको स्थिरता माथि गम्भीर संकट पैदा हुन सक्छ ।’
उनले राष्ट्रपतिको प्रस्तावक जो भएपनि संविधानको संरक्षक र मुलुकको परिवर्तनलाई आत्मसात् गर्ने मान्छे दिनुपर्ने सुझाव दिएका छन् । राष्ट्रपतिमा नेकपा एमाले र नेपाली कांग्रेसले उम्मेदवार उठाउने तयारी गरिरहेका छन् ।
पोखरामा प्रेस सेन्टरले आयोजना गरेको पत्रकार भेटघाटमा उनले पहिले झैँ राजनीति भन्दा बाहिरबाट राष्ट्रपति ल्याउन नहुने बताएका छन् । पूर्व राजालाई राष्ट्रपति बनाउँदा के हुन्छ भन्ने प्रश्नमा गुरुङ भन्छन्, ‘कोरा राष्ट्रवादले नेपालको रक्षा हुँदैन । केवल शाब्दिक रूपमा राष्ट्रियताको कुरा उठाएर मात्रै हुँदैन । पूर्व राजाले दिनुभएको वक्तव्यले विचारमा आत्मसातीकरण छैन । यो अवस्थामा उहाँसँग सहकार्य गर्न सकिँदैन । महासचिब गुरुङले भनेका छन् ।