काठमाडौं । मुम्बईमा उपचाररत नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीको आज दुई शल्यक्रिया गरिंदै छ । बिहान १०ः३० बजे पहिलो र दिउँसो १ः३० बजे दोस्रो शल्यक्रिया हुने भण्डारीसँगै मुम्बईमा रहेका नेपाली कांग्रेसका नेता योगराज कँडेलले जानकारी दिएका छन् ।
काठमाडौंको बुद्धनगरस्थित निवासमा बुधबार राति ग्याँस सिलिण्डर दुर्घटनामा परेर भण्डारी र उनकी आमा हरिकला जलेका थिए । आमाको बिहीबार कीर्तिपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । भण्डारीको श्वासनली र फोक्सोमा गम्भीर असर देखिएपछि उपचारका लागि बिहीबार नै भारत लगिएको थियो ।
आज दुईवटा शल्यक्रिया गरिने भएको छ । बिहान साढे १० बजे र पहिलो र दिउँसो साढे १ बजे दोस्रो शल्यक्रिया गर्ने तय भएको न्यौपानेले बताएका छन् । सांसद भण्डारीलाई बिहीबार दिउँसो श्री एयरलाइन्सको चार्टर्ड विमानमार्फत मुम्बई लगिएको हो ।
उनी भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरको भेन्टिलेटरमा छन् । गएराति साढे १० बजे डा. सुनिल केस्वानीले र साढे ११ बजे डाक्टर सन्दीप मिस्त्रीले उनको स्वास्थ्य परीक्षण गरेका थिए ।
डा. केस्वानीको भनाइ उद्धृत गर्दै कँडेलले भनेअनुसार भण्डारीको शरीरमा फ्लुइडको मात्रा डबल गरी बिहान १०ः३० बजे पहिलो र दिउँसो १ः३० बजे दोस्रो सर्जरी गरिने छ । अर्का डाक्टर संदीपले भने अनुसार भण्डारीका सबै पारामिटरहरू नर्मल रहेका छन् । तर उनलाई ४८ घण्टा भेन्टिलेटरमै राखिने छ ।
भण्डारीकी ८६ वर्षीया आमा हरिकला भण्डारीको भने बिहीबार बिहान उपचारका क्रममा कीर्तिपुर अस्पतालमा निधन भएको छ । काठमाडौँको बुद्धनगरस्थित घरमा बुधबार राति साढे १० बजे ग्यास लिक हुँदा भएको आगलागीमा भण्डारी र उनकी आमा जलेर घाइते भएका थिए । उनीहरूलाई बुधबार राति नै कीर्तिपुर अस्पताल लगिएको थियो ।