काठमाडौँ । नेकपा माओवादी केन्द्रले राष्ट्रपतिको बारेमा आधिकारिक निर्णय गर्ने भएको छ । फागुन १३ गतेअघि नेकपा माओवादी केन्द्रले राष्ट्रपतिको बारेमा आधिकारिक निर्णय गर्ने स्थायी कमिटी सदस्य तथा पार्टी सचिब देवेन्द्र पौडेलले बताएका छन् । यही साताभित्र नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बसेर राष्ट्रपतिका बारेमा निर्णय लिने बताउँदै उनले यसका लागि पार्टीभित्र गृहकार्य भइरहेको समेत जानकारी दिएका हुन् ।
यो पार्टी वा त्यो पार्टी भन्दा पनि सहमतिमा राष्ट्रपति कसलाई बनाउने विषयमा छलफल हुने उनले बताएका छन् । नेपाली कांग्रेसलाई राष्ट्रपति दिने विषयमा छलफल भइरहेको छ तर आधिकारिक निर्णय भएको होइन’ उनले भने, नेकपा‘माओवादी केन्द्रले सबै दलसँग परामर्श गरिरहेको छ, बैठकबाट ती सबै कुराको टुङ्गो लगाउँछ, यी सँगै राष्ट्रपतिका बारेमा पनि आधिकारिक धारणा नेकपा माओवादीले बाहिर ल्याउँछ ।
नेकपा एमालेले राष्ट्रपति आफूले पाउनुपर्ने गरी नेकपा माओवादी केन्द्रसँग सहमति भइसकेको दाबी गर्दै आइरहेको छ । उसले नेकपा माओवादी केन्द्रको नेतृत्वमा सरकार बनाउँदा प्याकेजमै सबै पदमा सहमति भएको भन्दै राष्ट्रपति आफूहरूको भागमा परेको बताउँदै आएको हो । नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले यो विषयमा दुवै अध्यक्ष (ओली र प्रचण्ड) का बीचमा सहमति भइसकेको बताएका छन् । उनले सोही सहमति अनुसार सबै कुरा अगाडि बढ्ने विश्वास व्यक्त गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डले सहमतिलाई कायम राख्नेमा आफूहरू विश्वस्त रहेको समेत गुरुङले बताएका छन् । तर नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिका विषयमा कुनै दलसँग सहमति नभएको बताउँदै आएका छन् । उनले राष्ट्रपति सबै दलको सहमतिमा निश्चित गर्ने धारणा राख्दै आएका छन् । त्यसैले पनि प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीको बीचको दुरी बढ्दै गएको छ । राष्ट्रपतिको चुनावसँगै सत्ता समीकरणमा हेरफेर हुने चर्चा पनि सुरु भएको छ । नेपाली कांग्रेसले राष्ट्रपतिमा उम्मदवार उठाउने निर्णय गरिसकेको छ भने त्यसका लागि नेकपा माओवादीले साथ देला भन्नेमा सो पार्टी ढुक्क देखिएको छ ।