काठमाडौं । पर्साका ५७ वर्षीय ध्रुवबहादुर खड्का राष्ट्रिय विमा संस्थानको जागिरबाट केही वर्ष अघि मात्रै सेवा निवृत्त भएका थिए । अवकाशपछिको जीवन साथीभाइसँग जमघट र भेटघाटमा बितिरहेको थियो । सोमबार एक जना साथीले बत्तिसपुतलीमा पार्टी राखेका थिए । त्यसैले उनी दिउँसो श्रीमती र छोरालाई साथीको पार्टी छ भन्दै घरबाट निस्किएका थिए । तर राति जे घटना भयो, त्यसले उनलाई अब कहिल्यै फर्किन नसक्ने बाटोमा पुर्याएको छ ।
एसएसपी डा. केसीका अनुसार थपााको उद्देश्य लुटपाट मात्रै देखिन्छ । तर, त्यसबेला हिर्काउँदा लागेको गम्भीर चोटका कारण खड्काको मृत्यु भएको देखिएको छ । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा गरिएको पोष्टमार्टमको प्रारम्भिक रिपोर्टले पनि त्यही चोटपटकका कारण खड्काको मृत्यु भएको देखाएको छ । सोमबार बेलुकी ९ बजेपछिको यो घटना भएपनि भोलिपल्ट बिहान ६ बजेतिर मात्रै प्रहरीले यसबारे जानकारी पाएको थियो ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी सीताराम रिजालका अनुसार बिहान लडिरहेको अवस्थामा पुरुषको शव देखेपछि स्थानीयले प्रहरी कन्ट्रोल १०० मा फोन गरेर जानकारी गराएका थिए । लगत्तै काठमाडौं प्रहरी र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली घटनास्थलमा पुगेको थियो । त्यसक्रममा अधिकृतहरुले अगाडिको घरकाले राखेको सीसी टीभी क्यामरा फुटेको अवस्थामा फेला पारेका थिए ।
‘हार्डडिस्क लिएर हेर्दा एक जना व्यक्तिले फुटाएको पनि देखियो, त्योभन्दा अघिको सबै दृश्य देखियो’, अनुसन्धानमा संलग्न एक अधिकृत भन्छन्, ‘फुटेजमा खड्कालाई लात्ता र मुक्काले हानेर कुटपिट गर्दै गरेको दृश्य कैद भएको छ । प्रहरीका अनुसार कुटपिटपछि खड्काको मोबाइल र अरु सामान लिएर निस्किने बेला थापाले अगाडि रहेको सीसी क्यामरा देखेका थिए । त्यसपछि उनले क्यामरा फुटाइदिएको पाइएको अनुसन्धान अधिकृतहरु बताउँछन् ।
हत्यापछि थापा पटकपटक साइकलमा घटनास्थल छेउछाउ आएको पाइएको छ । खड्का जीवित छन् या छैनन् भन्ने बुझ्न आएको हुनसक्ने अधिकृतहरुको अनुमान छ । सीसी टीभी फुटेजबाट अनुसन्धान गर्दै जाँदा थापा काठमाडौं–६, सरस्वतीनगरबाट पक्राउ परेका छन्’, काठमाडौंका एसएसपी कार्की भन्छन्, ‘पक्राउ पर्दा पनि उनले त्यही हुडी लगाएका थिए, जुन हत्या भएका बेला उनले लगाएको सीसी टीभी फुटेजमा देखिन्छ ।
प्रहरीले थापाको साथबाट चोरिएको सामान मध्ये खड्काको फोटो, सीम कार्ड लगायतका कागजात रहेको पर्स धुम्बाराहीस्थित बाँसको झाडीबाट बरामद गरेको छ । उनकै बयानका आधारमा ती सामग्री बरामद भएको हो । थापाविरुद्ध ज्यानसम्बन्धी कसूरमा जिल्ला अदालत, काठमाडौंबाट ५ दिन म्याद थप गरेर विस्तृत अनुसन्धान थालिएको एसपी रिजालले बताएका छन् ।
