काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले सत्ता साझेदार दलहरुबीचको एकतालाई जसरी पनि जोगाउने बताएका छन् ।
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले यस्तो प्रतिक्रिया दिएका हुन् । आइतबार संघीय संसद नयाँ बानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै उनले सत्ता साझेदार दलहरुबीचको एकतालाई जसरी पनि बचाउनुपर्ने बताएका छन् ।
‘राष्ट्रिय सहमति नै गरौं भनि राखेको छु भने त हाम्रो सत्ता साझेदार बीचको एकतालाई त जसरी पनि बचाउनुपर्छ भन्ने हो मेरो’ उनले भने,अदालतको निर्णय पछि पक्कै पनि उहाँहरुलाई केही असहज त भएकै थियो । अब उहाँसँग रवि लामिछानेसँँग फेरि भेटेर कुरा गर्छु ।
रास्वपाले सरकारबाट बाहिरिए पनि समर्थन फिर्ता नलिएको बताएका छन् । उनले भने,मैले उहाँहरुले गरेको पूरै निर्णय हेर्न पाएको छैन । भर्खरै सुनेँ। बिहान उहाँसँग रवि लामिछानेसँग भएको कुरा अनुसार सरकारलाई समर्थन फिर्ता चाहिँ होइन मन्त्रीहरु बाहिर निक्लने विषय छलफल भइरहेको छ भन्नुहुन्थ्यो । फेरि हामी छलफल गर्छौं । यसलाई हल गर्नेतिर नै जान्छौं ।