Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सिधा कुरा आफ्नैसँग : प्रश्नबाट भाग्न मिल्छ र ?


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, माघ १९ २०७९
  • 1.2K
    SHARES

कहिले बालुवाटार र कहिले बालकोट पुग्नमा जुन ऊर्जा नाश भइरहेको छ, त्यसलाई पार्टी निर्माणमा लगाऔँ । जुन राजनीतिक दल र नेतालाई हामीबाट सबैभन्दा बढी खतरा छ, उनीहरूले नै हामीलाई जोगाइदिन्छन् भन्ने भ्रम कहाँबाट सल्क्यो ? त्यागौँ ।

राजनीतिमा मैले यतिसम्म नजानेका कुराहरू छन् कि मैले खासमा जानेको कुरा के हो भन्ने पनि जानेको छैन । जान्नुपर्ने अनेक छन् । नजानेका कुरा जान्नका लागि मलाई आफ्ना हरेक भूमिका र समय हेर्दै, भोग्दै, सिक्दै, भन्दै हिँड्न मन पर्छ । यो पहिलेदेखि र अहिलेसम्म गरिरहेको विषय हो । कुनै पार्टीमा आबद्ध नभएको निर्दलीय नागरिकका रूपमा म आफूले देखेका, भोगेका कुराहरू प्रस्ट भन्दै हिँड्न सकिरहेको थिएँ । रमाइलो थियो । सकेसम्म तार्किक र स्पष्ट प्रश्नहरू र धारणाहरू राख्न खोज्थेँ । त्यस्तै जवाफदेहिताको अपेक्षा गर्थेँ । कुनै पदीय जिम्मेवारीमा बसेकाहरूको स्पष्ट जवाफ र धारणाहरू नआउँदा त्यो मान्छे नै गलत हो वा पद पाएर बिग्रियो भन्ने जस्ता धारणाहरू बनाउथेँ । तर आफ्नै आनिबानी र आफ्नै कुराहरू अचम्मले फेरिँदा रहेछन् । फेर्नै पर्ने, परिवर्तन हुनैपर्ने अवस्था बन्दो रहेछ । म सिक्दै छु, जानेको कति नै छ र ?

दलमा लागेर जानेको कुरा

हरेक कोही मान्छेको जीवनमा प्रश्न गर्ने र जवाफ दिने दुवै स्थान सुरक्षित हुन्छ । एउटा क्षेत्रमा प्रश्न गरिरहेको मान्छेले अर्को क्षेत्रबाट प्रश्न खाइरहेको हुन्छ । कसैले प्रश्न गर्नुभन्दा प्रश्नको सामना धेरै गर्नुपर्छ । कसैले भने प्रश्नको सामना कम, प्रश्न धेरै गर्ने सुविधामा पाएका हुन्छन् । हिजो मसँग प्रश्नै प्रश्न हुन्थे । मैले जवाफ दिनुपर्ने जिम्मेवारी पनि थिए, तर सामाजिक र राजनीतिक अर्थमा ती गौण थिए । गत स्थानीय तहको निर्वाचनका बेला बालेनको पक्षमा गरेको निर्दलीय राजनीति र पछि राष्ट्रिय स्वतन्त्र पार्टीको जिम्मेवार केन्द्रीय सदस्यको रूपमा गरेको पदीय राजनीतिको कारण आज म माथि पनि धेरै प्रकारका प्रश्नहरू आउँछन् । मसँग जवाफै नभएको वा उनीहरूले उठाएको बिषयप्रति मेरो धारणा नै नभएको अवस्था अवश्य होइन । तर व्यक्त गर्न म समय पर्खिन्छु । वा आलटाल गर्छु । वा देखेको नदेखै गर्छु ।

यो असाध्यै धेरै ठूलो संख्यामा प्रश्नहरू आउने भएर होइन, बरु मेरो विचारभन्दा महत्वपूर्ण कुरा पार्टीको आबद्धता भएर चैँ हो । मैले दिएको जवाफ र धारणाले तुरुन्तै अर्को प्रश्न वा प्रतिक्रिया उत्पादन गर्छ । मैले दिएको वास्तविक जवाफले म सम्बद्ध पार्टी, त्यसका नेताहरूको राजनीतिक जीवनका बारेमा नोक्सान गर्न सक्छ । नोक्सान गर्न नदिन म जवाफसँग जोगिन्छु । मेरो जोगाइ हिजोअस्ति मैले आफू पार्टीमा नहुँदा प्रश्न सोध्ने अरु पार्टीमा भएकाहरूको जोगाई जस्तै नै हो सायद । सिधाकुरा गरेर आफ्नो पार्टी वा आफ्ना सहकर्मी वा नेताहरूको गलतलाई गलत कसरी भन्नु ? आफूलाई नै गलत हो भन्ने लागेको कुरालाई पनि सही हो भन्दै आफैंलाई गलत कसरी बनाउनु ? सबै कुरा सार्वजनिक गरेर उदाङ्गो कसरी बनाउनु ? सबै कुरा लुकाएर अपारदर्शी र जवाफहीन कसरी बन्नु ? कुनै यस्तै राजनीतिक जिम्मेवारीमा बस्दाका यी अप्ठयारा सायद सनातनदेखि चलिरहेकै छन् । यसैले नै हो कि पदमा बस्नु अगाडि पद र गोपनीयताको सपथ खुवाइने ! नत्र लोकतन्त्रमा चाहिएको त आम जीवन र पारदर्शीताको सपथ पो हो । कि उदाङ्गो हुनु र खुला हुनुको फरक यहाँ पनि छ ? र, त्यो फरक मैले जान्नु पर्ने छ ? मैले माथि नै भनिसकेँ, राजनीतिमा मैले यतिसम्म नजानेका कुराहरू छन् कि मैले खासमा जानेको कुरा के हो भन्ने पनि जानेको छैन । जान्नुपर्ने अनेक छ ।

मैले जानेका कुराहरू सीमित छन्

मैले २०७४ सालको चुनावमा विवेकशील र साझा पार्टीले रञ्जु दर्शना र किशोर थापामार्फत थुतेको काठमाण्डौँको परम्परागत पार्टीहरूको ४२ हजार भोटको बारेमा जानेको छु । मैले विवेकशील साझाका रवीन्द्र मिश्रले बिराएको राजनीतिक बाटो र सोही पार्टीका उनी इतरकाले हिँड्न नसकेको व्यवहारिक बाटोको कथा जानेको छु । मैले गत स्थानीय तहको निर्वाचनका बेला वैकल्पिक शक्तिहरू शक्तिहीन र शानहीन भएको अवस्थामा जनताले ‘भोट केमा हाल्ने होला ?’ भनेर गरेको छटपटी जानेको छु । त्यो बेला देशव्यापी आन्दोलनका रूपमा आम नागरिकले किन स्वतन्त्र उम्मेदवारी दिए ? त्यसको अन्तर्य जानेको छु । चुनाव जित्ने बालेन र हर्क मात्रै होइनन्, चुनाव हार्ने पोखराका गनेस पौडेल, कोहलपुरका देव अर्याल अथवा डोल्पा ठुलीभेरीका प्रेम बोहोरोजस्ता हजारौँ नागरिकले स्वतन्त्र उम्मेदवारी नदिएको भए वैकल्पिक राजनीति अहिले कहाँ पुग्थ्यो, त्यो जानेको छु ।

त्यही स्वतन्त्र उम्मेदवारहरूको अभुतपूर्व उभार र बालेन-हर्कको जीतको उत्साहबाट खडा भएको राष्ट्रिय स्वतन्त्र पाटीको बारेमा पनि जानेको छु । मैले त्यो उत्साहमा आफ्नो उत्साह मिसाउन पुगेको आफूलाई जानेको छु । मैले आफू र आफू संलग्न दलमात्रै होइन, ‘लौरो बोकेपछि जितिन्छ, लौरो भनेकै विचार हो’ भन्ने जस्तो गरेर खुलेको अर्को यौटा दललाई पनि जानेको छ । दूर्भाग्यबस केही साथीहरू त्यहीँ लौरोमा किन झुण्डिरहेका छन् ? त्यो पनि जानेको छु । गत स्थानीय निर्वाचनमा पोखरामा मेयरका निर्दलीय उम्मेदवार मित्र गनेस पौडेलले कहिलेकाहीँ मलाई जिस्क्याउँछन्, ‘विवेकशील साझाले लत्तो छोडेको बेला स्थानीय तहको निर्वाचनपछि वैकल्पिक तथा स्वतन्त्र राजनीतिको समर्थनमा विशाल फुटबल मैदान पुनर्निमाण गरेका थियौँ । यौटाले मैदान कब्जा गर्‍यो । अर्कोले फुटबल । हामी मैदान पुनर्निमाण गर्नेहरू अहिले दर्शक बनिराछौँ । र, मैले उनलाई जवाफ दिने गरेको छु, ‘लोकतन्त्रमा दर्शक भनेकै वास्तविक खेलाडी हुन् । वास्तविक प्रशिक्षक र रेफ्री पनि हुन् ।

जहाँ छौँ, त्यहीँ उदाहरण बनाउन जान्नुपर्ने हो

चुनावमा जाँदै गर्दा विपक्षीलाई गालीगलौज मात्रै लिएर जाने इच्छा कसैको थिएन । उडन्ते आश्वासनका थैला बोकेर जानु थिएन । हामीसँग पार्टीको स्पष्ट नीति र कार्यक्रमहरू साथै रहून् भन्ने थियो । यसका लागि पार्टीको राजनीतिक धारणा र वाचापत्र बनायौँ । पार्टीको राजनीतिक धारणा लेख्न आफूले जिम्मा पाउँदा र वाचापत्र लेख्ने समूहमा क्रियाशील हुँदा गौरव र जिम्मेवारीबोध महसुस भएको थियो । राजनीतिक धारणाले हाम्रो पार्टीको नीतिगत छवि बनाउने थियो, वाचापत्रले हाम्रो पार्टीका प्राथमिकता र कार्यक्रम बुझाउने थियो । चुनावका लागि मात्रै होइन, सधैँका लागि पार्टीको सम्पत्ति हुने कुरामा प्रत्यक्ष सहभागी हुन पाउनु पक्कै पनि गौरव र उत्साहप्रद बिषय हो । कयौँ रात कुर्सीहरू मिलाएर त्यसमै निन्द्रा पुर्‍याएर खटिएँ भन्न पाउँदा मलाई झन् जिम्मेवारीबोध गराउँछ । लाग्थ्यो, जहाँ जुन भूमिकामा रहे पनि त्यो भूमिकाका लागि एउटा मानक बनाउन सक्छौँ ।

सामूहिक प्रयत्नले उदाहरण बनोस् । असल चरित्र निर्माण होस् । त्यही चरित्रमा बाँधिएर चलोस् । यसैले हामीले चुनाव जति नजिक आउँदै गर्छ, झन् विनम्र र झन् स्पष्ट हुने रणनीति अपनायौँ । पार्टीको उपस्थिति सामाजिक सञ्जालमा समेत फरक र प्रभावकारी रहोस् भनेर सामाजिक सञ्जाललाई उच्चतम सदुपयोग गर्‍यौं । पार्टीले चुनावताका फेसबुक, टिकटक लगायतका सामाजिक सञ्जाललाई उपयोग गर्ने कुरामा राष्ट्रिय स्वतन्त्र पार्टीबाट सिक्नुपर्ने धेरै कुरा हुन सक्छन् । यसको नेतृत्व मैले लिएर जिम्मेवारीलाई सफलतापूर्वक सम्पन्न गरेँ नै भन्ने लाग्छ । उम्मेदवारका रूपमा पार्टीले चुनावमा पनि उदाहरण पेश गर्‍यो । चुनावी अभियान आक्रामक थिएन । जाइलाग्ने किसिमको थिएन । सभ्य र सहनशील थियो । खर्चिलो थिएन । उम्मेदवारहरूले चर्का नाराबाजी गरेनन् । चुनावमा ऐतिहासिक उपस्थिति देखाएर हाम्रो चुनावी अभियान नै अबको चुनावी अभियानको मुलधार हो भन्ने भाष्य स्थापित गर्‍यौं । उम्मेदवारका रूपमा पार्टीले पेश गरेको गर्विलो उदाहरण थियो त्यो ।

उदाहरण बनाउन चुकेको अवसर

हामीले संघीय संसदमा २० सिट जित्यौँ । जित लगत्तै हाम्रो ध्यान थप सिक्नुतर्फ जानुपर्ने थियो । हामीले उदाहरण बनेर देखाउनै बाँकी थियो, सांसद भनेको यस्तो हुनुपर्छ । बाटो अप्ठ्यारो पनि थिएन । सरल थियो । सजिलो थियो । सरकारका राम्रा कामहरूको सरकारले भन्दा पनि राम्रो समर्थन गरे पुग्थ्यो । सरकारका खराब कामको विरुद्धमा चनाखोपूर्ण र रचनात्मक प्रतिक्रिया जनाए पुग्थ्यो । मान्छेहरू पत्याउँदैनन्, तर राजनीतिमा खराब हुनभन्दा असल हुन धेरै सजिलो छ । त्यहाँ विल्कुल सांसदकै रूपमा जान्नुपर्ने कुराहरू थिए । बनाउनुपर्ने उदाहरणहरू थिए ।

एकपटक आफैं सरकारमा गइसकेपछि त्यहाँबाट निस्किए पनि परम्परागत प्रतिपक्ष मात्रै बन्नुपर्ने खतरा थियो । चुनावपछि एउटा पार्टीले पढ्नै पर्ने कक्षा त्यो पनि थियो । त्यसपछि मात्रै उक्लिनु पर्थ्यो सरकारको कक्षामा । राजनीतिको कोर्श अगाडि बढेर निकै पर पुगिसके पछि फेरि त्यही भनेर अब समय फेरिंदैन । तर पनि भन्नै पर्नेछ किनकि, जानेका कुराहरूको दस्तावेजीकरणले अरु कसैले पुनः सोही गल्ती नगर्न सक्छ । मैले यहाँनेर पुग्दा जानेको एउटा कुरा यो पनि हो ।

नबनाउनु पर्ने उदाहरण

हालका सबै कुराहरू छायाँमा पारेर सबैभन्दा अगाडि आएको छ, सभापति रवि लामिछानेको नागरिकता प्रकरण । एक पाना फारम नबुझाएको आधारमा हाम्रो सभापतिको नागरिकता खारेज भएको छ । पार्टी सभापति र सांसद पद खोसिएको छ । उपप्रधान तथा गृहमन्त्रालय गुमाउनु परेको छ । नागरिकता र पार्टी सभापति पद पुनः प्राप्तिसँगै गृहमन्त्रालय पुनः प्राप्त गर्न गरिएको कसरतका धेरै कोणबाट प्रतिक्रियाहरू आएका छन् । समर्थन र आलोचना मिश्रित छन् ।

सर्वोच्च अदालतको फैसलापछि पूणर्पाठ पनि नआउँदै सम्बन्धित मन्त्रालयकै दाबीले सन्देह अवश्य उब्जाउँछ । सभापतिको राहदानीको बारेमा दिएको जाहेरी प्रहरीले लिन नमान्दा अहिले जे कारण भनिन्छ, हिजो नै सभापति गृहमन्त्री बनिसकेको अवस्था भए त्यही कारण भनिन्थ्यो होला ? त्यसले पार्टी र स्वयम सभापतिकै छविमा गर्ने प्रहार क्षणभङ्गुर हुन्थ्यो होला र ? कम्तिमा यस्ता प्रश्नहरूको सामना गर्नु नपर्ने स्थितिमा रहन पर्ने थियो । अहिले जे उदाहरण प्रस्तुत भइरहेको छ, ती कहिलै नबनाउनु पर्ने उदाहरणहरू हुन् ।

कहिँ न कहि त गलत भयो । तर कहाँ भन्ने ? कसरी भन्ने ?

पार्टीको एउटा केन्द्रीय सदस्यका रूपमा म आफू साक्षीमात्र बन्न सकेको छु । धेरै कुराहरू त म आफूले सञ्चारमाध्यमबाट मात्रै थाहा पाउँछु । तर यस्तो कुराको ‘खुलासा’ गर्दा मेरो आफ्नो मात्रै बदनामी होला कि हाम्रो पार्टीहरूमा हुने निणर्य प्रक्रियाका बारेमा जानकारी दिएको मानिएला ? मैले जानी सकेको छैन । त्यो जानकारीले पार्टीको निणर्य प्रक्रियामा मलाई एक्लो वा टाढा बनाउला कि पार्टीलाई सामूहिक निणर्यबाट चल्ने बनाउला ? जान्न खोज्दैछु । हरेक बैठकमा ‘समय कम छ, एकजनाले पालो नदोहोर्‍याई दुई तीन मिनेटमा कुरा सक्नु है’ भन्ने निर्देशनसहितको समयभित्र नभनेका वा भनिनसकेका कुराहरू बाहिर भन्न मिल्छ कि मिल्दैन ? सिक्नु छ । जान्नुपर्ने धेरै कुराहरू छन् । र, यही समयभित्र जानेका केही कुराहरू छन् । ती जानेका कुराहरूलाई फेरि पालो नदोहोर्‍याई दुई तीन मिनेट भित्र सक्नेगरी भन्न जान्ने हो कि सार्वजनिक थलो प्रयोग गरेर भन्ने हो ? उदाहरण हेर्नुछ ।

म फेरि यही आलेखको शिरानमा पुगेर एक पल्ट कुनै पार्टीमा आबद्ध नभएको आम जनता भएर सिधाकुरा गर्दा के भन्छु ? यहाँसम्म भोगिसक्दा र लेखिसक्दा मैले यति जानेको छु । सधैँ नेता हुन खोजेर हुन्न । सधैँ म सही छु भनेर हुन्न । सिधा प्रश्नबाट भागेर कहीँ पुगिंदैन । कहिलेकाँही जनता भएर आफैंले आफूलाई, आफ्नै पार्टी र आफ्ना नेतालाई पनि भन्नुपर्छ । प्रश्न गर्नुपर्छ । मैले जानेको छु, म यसरी ‘आम जनता’ हुने बित्तिकै मैले पार्टीका निर्वाचित नेतासँगको पहुँच गुमाउँछु । म ‘आम जनता’ हुने बित्तिकै पार्टीको निर्णय प्रक्रियाबाट अलग हुन्छु । म ‘आम जनता’ हुने बित्तिकै नेतालाई कुरो सुनाउने सम्पर्क गुमाउँछु । र, मेरो अभिव्यक्तिको भागमा सार्वजनिक थलो र राजनीतिक मञ्च हुने छैनन् ।

तर पनि मसँग सुझावहरू बाँकी नै हुने छन्

म भन्ने थिएँ, सरकार र मन्त्रालयको छिनाझप्टीमा हामी फसिरहेका छौँ । उम्कौँ । जनताले यसपटक मन्त्री हुन होइन, सांसद भएर पुराना विकृतिहरूको सात्तो खान पठाएका हुन् । त्यही गरौँ । हाम्रा सभापतिको सांसद पद गएको हो, भाग्य गएको होइन, प्राण गएको होइन भनेर समर्थकहरूले भनिरहेका छन् । त्यसको अन्तर्य बुझौँ, जिउँदो बनौँ । कहिले बालुवाटार र कहिले बालकोट पुग्नमा जुन ऊर्जा नाश भइरहेको छ, त्यसलाई पार्टी निर्माणमा लगाऔँ । जुन राजनीतिक दल र नेतालाई हामीबाट सबैभन्दा बढी खतरा छ, उनीहरूले नै हामीलाई जोगाइदिन्छन् भन्ने भ्रम कहाँबाट सल्क्यो ? त्यागौँ । मान्छे हौँ, कमजोरी छन् र गल्ती हुन्छन् । भोगौँ, सुधारौँ । सबै बिग्रिसकेको छैन, भएको बचाऔँ । नेता बन्न पद चाहिन्न, समर्थकहरू चाहिन्छ । पद होइन, समर्थकहरू बनाऔँ ।

यसरी एक अनुच्छेदमा लेखिन सक्ने सुझाव भन्न मैले यति लामो भूमिका लेख्नुपर्छ । तिमीहरूको ‘कथनी र करनी’ किन मिल्दैन, र्‍याखर्‍याख्ती पार्छ । यो चुनावमा झुक्याउनका लागि मात्रै ‘वाचापत्र’ लेखिएको थियो ? आफूले पालना गर्नुपर्दैन ? प्रश्नहरू तेर्साउँछ । फोटो हेर्‍यो, हाम्रै धारणा र वाचापत्रहरूको हिस्सा छन् – जहाँ स्वार्थ बाझिने नियुक्ति गर्नेलाई पनि कारबाही गर्ने भनेर लेखिएको हुन्छ । जहाँ चोरदैलोबाट मन्त्री हुन रोकिने भनेर लेखिएको हुन्छ । जहाँ पारदर्शिता, सुशासन, नैतिकता र जवाफदेहिताका आशय मिलेका वाक्यहरू हुन्छन् ।

आफैंले गौरव गरेको कुरा अहिले आफ्नै लागि हतियार भएको टुलुटुलु हेर्नुपरेको छ । जवाफ छ तर त्यो जवाफ हतियार बन्ला र आफ्नैलाई झन् प्रहार गर्ला भनेर जोगिनु परेको छ । रातरातभर पनि जागेर, लेखेर, उत्साहित भएका दस्तावेजहरूका फोटो सामाजिक सञ्जालमा राखेर कसैले सोध्ने प्रश्नबाट भाग्नु परेको छ । केन्द्रीय सदस्यका रूपमा रहेको गणेश कार्कीका त यति धेरै सीमाहरू बन्ने रैछन् । सभापतिका कति होलान् ? मैले जानेको छैन । तर जब कुनै नेताका सीमाहरू झन् बढ्दै जान्छन् नेता झन्-झन् खुम्चिदै जानुपर्दो रहेछ भने भन्ने कुरा चाहिँ मैले छोटो समयमैँ जानेको छु । अरुमा देखेको छु । त्यो खुम्च्याइले बेला बेला निस्सासिने बनाउँछ कि भन्ने सोच्छु । तर त्योभन्दा बढी निस्सासिने त्यो दौडाइ हुन्छ, जो आफ्नो सम्पूर्ण विचार, धारणा र अस्तित्वबाट भाग्नका लागि गरिन्छ । झन् निस्सासिने दौडमा भाग नलिऔँ । प्रश्नहरूको सामना गरौँ ! आफ्ना पखेटा आफैं नकाटौँ । उड्नलाई अझै पनि आकाश आफ्नै शिरमाथि छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४