Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

३ कारण, जसका लागि ओली रविलाई साथ दिइरहेका छन्


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, माघ १८ २०७९
  • 2.7K
    SHARES

काठमाडौं । रवि लामिछाने, जसको सिट संख्यालाई आधार बनाएर एमाले र माओवादी केन्द्रले नयाँ सत्ता गठजोडको गणित पुर्‍याएका थिए, तिनै रविको गुमेको मन्त्री पदका कारण यो गठबन्धन भाँडिने खतरातर्फ उन्मुख भएको छ । हिजो मंगलबारका दुई परिदृश्य राम्रोसँग नियालियो भने हामी यो आकलनमा पुग्न सक्छौं । बालुवाटारस्थित प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”को सरकारी निवास बालुवाटार पुगेर बालकोट मोडिंदै गर्दा रविलाई नेकपा एमालेका  अध्यक्ष केपी शर्मा ओलीको ठूलो आश थियो ।

सोही बमोजिम केपी शर्मा ओलीले १० पुसमा गठबन्धन बनाउँदाकै सहमति अनुरुप अबको गृहमन्त्री तोकिनुपर्ने धारणा राखेका थिए । त्यसको अर्थ भर्खरै नागरिकता प्रकरणमा गल्ती गरेका रवि लामिछाने या भागबन्डाका क्रममा गृह मन्त्रालय पाएको उनको दल राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट अब मन्त्री तोकिनुपर्ने भन्ने लाग्छ । तर एकैछिनपछिको अर्को दृश्यमा प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” फरक भावमा देखिएका छन्  । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले रवि लामिछानेको नागरिकता साथै राहदानीबारे समेतमा प्रश्नहरु उठिरहेको हुँदा आफूले केही समय विचार गर्ने वक्तव्य दिएका थिए । सँगै उनले ‘गठबन्धन जोगाउने’ दबाव रहेको पनि खुलासा गर्न पुगे ।

प्रचण्ड सरकारका एक मन्त्री भन्छन्, ‘प्रधानमन्त्रीले रविजीलाई फेरि मौका दिने सम्भावना म देख्दिनँ । हामीले सोध्यौं, ‘नागरिकता र राहदानी प्रकरण जोडिने मन्त्रालयमा फेरि रवि जाँदा स्वार्थ बाझिने भएकाले प्रधानमन्त्री सु-शासनका पक्षमा सतर्क हुनुभएको हो ? ती मन्त्रीले फरक जवाफ दिएका छन् ,सु-शासन, स्वार्थको द्वन्द्व केही होइन । यसको कारण तपाईंले केही सातामा छर्लंग बुझ्नुहुन्छ ।

केही सातामा राष्ट्रपति चुनाव हुँदैछ, जहाँ केपी शर्मा ओली नेकपा एमाले उम्मेदवार उठाउन चाहन्छन्।

ती मन्त्रीका अनुसार रवि प्रचण्डको सरकारी निवासबाट तिक्त भावसहित बाहिरिएका थिए । अब यसअगाडिको राजनीतिक खेल कसरी खेल्ने, रविलाई लगभग हेक्का छैन । त्यसैले उनी अर्को शक्ति केन्द्रतर्फ सोझिएका छन् । पछिल्ला दिनमा प्रधानमन्त्री र ओलीबीच मतान्तर बढ्दै गर्दा रविका लागि बालकोट दाहिना हुन पुगेको छ । रविकै कारण चितवनबाट गोरखा गई चुनाव लड्नु परेका प्रचण्ड अनुकूल छैनन् । कच्चा खेलाडी होइनन् ओली । उनलाई प्रचण्ड र रविका बीचमा खेलेर उत्रो फाइदा छैन । ओलीको नजर तीन कुरामा छ, जसले उनलाई राष्ट्रिय राजनीतिको केन्द्रमा सम्पूर्ण रुपले स्थापित गर्छ ।

एक – राष्ट्रपति चुनावसम्म गठबन्धन नखजमजियोस् । नेकपा एमालेका उम्मेदवारले जित्न सकुन् ।

प्रदेश चुनावमा भाग नलिएको रास्वपासँग राष्ट्रपति चुनावका लागि प्रतिनिधिसभा सदस्यको मात्र १५८० मतभार छ । ओली र प्रचण्डबीच १० पुसको सहमति अनुसार राष्ट्रपति र सभामुख नेकपा एमालेले पाउनुपर्ने हुन्छ । तर एकातिर विगतमा शक्ति अभ्यासको केन्द्र बनेको राष्ट्रपति पद समेत नेकपा एमालेलाई दिंदा आफू कमजोर बनिने बुझाइमा प्रचण्ड छन् । अर्कातिर संवैधानिक परिषदमा ओली निकटका मानिसहरु हाबी बन्दा प्रचण्ड थप कमजोर हुन सक्छन् ।

नेकपा एमाले उपमहासचिव विष्णु रिमाल भन्छन्, ‘रविजीलाई गृहमन्त्री बनाउने/नबनाउने निर्णय त प्रधानमन्त्रीकै हो, तर हाम्रो धारणा चाहिं सत्ता गठबन्धन बनाउने बेला जुन सहमति भएको छ, त्यसै बमोजिम जानु उपयुक्त होला भन्ने लाग्छ । अहिले राष्ट्रिय सहमतिको नारा घन्किंदै गर्दा अन्तर्यमा नेकपा एमालेको विकल्प खोज्ने तयारी भइरहेको छ । त्यसैले ओली महत्वपूर्ण घटक रास्वपालाई आफूबाट टाढा पुर्‍याउन चाहँदैनन् । रवि गृहमन्त्री बनुन् या नबनुन्, ओली आफूले सख्त प्रयास गरेको सन्देश उनीकहाँ पुर्‍याउन चाहन्छन् ।

रास्वपाभित्र भने राष्ट्रपति चुनावकै कारण ओली–प्रचण्डबीच दरार आउने भएकाले भोट नदिई बस्नुपर्ने मत उठ्न थालेको छ । रास्वपाका एक नेताले जन प्रहारलाई भने, ‘उहाँहरुको झगडामा एउटा कित्तातिर लाग्नुभन्दा चुनावमा हामीले उठाएको बाचापत्र कार्यान्वयन गरौं भन्ने हाम्रो जोड हो । उनले इंगित गरेको वाचापत्रमा १० वर्षसम्म कुनै पनि पार्टीमा नबसेको गैरदलीय राष्ट्रपतिको माग छ, जुन प्रकारको उम्मेदवार उठाउन कुनै दल तयार छैनन् । त्यही निहुँ देखाउँदै रास्वपामा भोट नदिई बस्नुपर्ने माग बढ्दो क्रममा छ ।

दुई– नयाँ दल र नेताको रहस्योद्घाटन ।

गिरिजाप्रसाद कोइराला ठान्थे– कम्युनिस्टहरुलाई ठेगान लगाउने एउटै उपाय छ, मन्त्री बनाइदिने । त्यसपछि उनीहरु भित्रको वास्तविक हाल बुझेर चर्का कुरा गर्न छाडिहाल्छन् । धेरथोर भ्रष्ट भए भने त्यसैले एक्स्पोज पनि भइहाल्छन् । कोइराला जुन परीक्षण नेकपा एमाले,नेकपा माओवादी केन्द्रका हकमा गर्न चाहन्थे, अहिले ओली त्यही परीक्षण वैकल्पिक, नयाँ आदि नाममा खुलेका दलहरुमा गर्न चाहन्छन् ।

नयाँ दलहरु पनि विधिको शासन पालनामा पुरानै ड्याङमा छन् भन्ने प्रमाणित गरिदिएपछि पुराना दललाई हाइसन्चो । त्यही कथ्यको बलमा अर्को चुनाव लड्न आफ्ना उम्मेदवारलाई सहज पर्ने उनको दाउ छ । नेकपा एमालेका अर्का एक पदाधिकारीले भने, ‘रविजी सरकारमा नभए पनि रास्वपाका साथीहरु छँदै हुनुहुन्छ । पार्टीको पर्फर्मेन्स त भएकै छ नि । देखिरहनुभएको छ ।

तीन – चितवन २ मा एमाले उम्मेदवार उठाउने ।

अघिल्लो चुनावमा रविले भारी अन्तरले चुनाव जित्दैगर्दा चितवन २ मा पाँच वर्षअघि जितेका एमाले उम्मेदवार कृष्णभक्त पोखरेल तेस्रो बन्न पुगेका थिए । संसदमा तुलनात्मक रुपमा बढी काम गर्नेमध्येका पोखरेल हार्ने मुख्य कारणमध्ये एक थियो, रवि चितवन ३ या १ मा उठ्ने निर्णय त्यागेर चितवन २ मा आउने निर्णय । तर यही गठबन्धन कायम रहे अब रास्वपाले उम्मेदवार उठाउँदा नेकपा एमाले र नेकपा माओवादी केन्द्रसँग पनि परामर्श गर्नुपर्छ । चुनाव रास्वपाले जितेको भए पनि नागरिकता र राहदानी प्रकरणका कारण रवि स्वयंलाई फेरि उम्मेदवारी दिन सहज हुने छैन । त्यसैले केन्द्रमा भएको ‘गठबन्धनको स्पिरिट’ अनुसार त्यो सिट नेकपा एमालेले पाउन सक्छ ।

यस्तो अवस्थामा ओलीले कृष्णभक्त पोखरेलको साटो महासचिव शंकर पोखरेललाई चितवन पठाउन सक्ने अड्कलबाजी राजनीतिक वृत्तमा चलेको छ ।नेकपा एमालेका नेताहरु भने त्यस्तो सम्भावना नकार्छन् । निर्वाचन आयोगले उपचुनावको तिथि तोक्नै बाँकी छ । अहिले यो भविष्णवाणी गर्नु हतारो हुन्छ’,  नेकपा एमालेका एक पदाधिकारीले भनेका छन् ।

 राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका चितवन जिल्ला सभापति धर्मेन्द्र सापकोटाले आजै पार्टी छाडेको घोषणा गरेका छन् । रास्वपाभित्रको आन्तरिक खिचातानी, अनि नेकपा एमाले लगायत पुरानै दलहरुसँगको यसको सामीप्य समेतलाई कारण देखाउँदै उनले दल छाडेको घोषणा गरेका हुन् । चितवनमा उनी समेत राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका प्रत्यासी मानिन्थे। उनको बहिर्गमनबारे रास्वपाले यसबारे आधिकारिक रुपमा मुख खोलेको छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४