काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मंगलबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन् ।
बालकोटमा भएको भेटमा रवि लामिछानेले सत्ता गठबन्धनमा भएको सहमति अनुसार गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीले पाउनुपर्ने धारणा राखेका थिए । जवाफमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरु पनि समझदारी कार्यान्वयन हुनुपर्ने पक्षमा रहेको बताएको नेकपा एमाले स्रोतले बताएको छ ।
‘सरकार निर्माण गर्दा जे समझदारी हो, त्यही नै कार्यान्वयन हुनुपर्छ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भनाइ उधृत गर्दै स्रोतले भन्यो, ‘तर प्रधानमन्त्रीको कुरा हो ।
रवि लामिछानेसँगको भेटमा केपी शर्मा ओलीसँगै नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेल पनि सहभागी भएका थिए ।
सर्वोच्च अदालतको फैसलापछि पदमुक्त भएका रवि लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएपछि फेरि गृह मन्त्रालयमा नै फर्किन खोजेका छन् । त्यसका लागि उनले प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”लाई पनि दबाव दिएका छन् । त्यही सिलसिलामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पनि भेटेका हुन् ।