Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ताेरीबारीमा टिकटक बनाउनेकाे भीड


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, माघ १३ २०७९
  • 3.8K
    SHARES

काठमाडौँ  ।  रत्नेचौर गाउँ बेनी र बागलुङकोबीचमा रहेकाे छ ।

म्याग्दीको बेनी नगरपालिका-१ मा पर्ने यो गाउँ भूपि शेरचन राजमार्गको सुविधा सम्पन्न गाउँ हो । उत्तरतिर हेर्दा चाँदी झै टल्किने सेता हिमशृङ्खलाहरू रहेका छन् । पूर्वतर्फ मोहोडा भएको समथर फाँटमा पहेंलै भएर फुलिरहेको तोरी र फाँटकोबीचमा चिटिक्कै परेको कालोपत्रे सडकमा रमाउन यहाँ यो सिजनमा आन्तरिक पर्यटकहरुको भीड लागेको छ ।

पहेलै फुलेको ताेरीकोबीचबीचमा हुर्कदै गरेको गहुँको हरियालीले यहाँ आउने सबैको ध्यान खिचेको छ । तोरी फुलेको खेतको फाँटमा कालोपत्र गरिएको चिल्लो सडक मानिसहरुको भीड-भाडले भाइरल बनेको छ । रत्नेचौर फाँटमा गहुँ र तोरी झुलिरहेको छ । झुलिरहेको गहुँ, तोरीको सौन्दर्यमा युवायुवती, सर्वसाधारणहरु टिकटक बनाउन र नाच्दै रमाउन व्यस्त भएका छन् ।

रत्नेचौर–अर्जम–ज्यामरुककोट सडकखण्ड अन्तर्गत ९ सय मिटरको कालोपत्र सडकको दायाँ र बायाँतर्फ लमतन्तै परेको खेतको फाँटमा फुलेको तोरी, खुलेको हिमाल र चिल्लो सडकलाई पृष्ठभूमीमा पारेर फोटो खिचाउन र टिकटक बनाउन यहाँ दैनिक सयौं पर्यटकहरु आउने गरेको स्थानीयवासी समेत रहनुभएका भानु माध्यमिक विद्यालयका प्रधानाध्यापक भरत खत्रीले बताउनुभयाे ।

स्थानीयवासी सुशीला महत आफ्नो तोरीबारी र घर अगाडिको सडकमा दिनहुँ भीड–भाड होला भनेर कहिल्यै नसोचेको बताउनुहुन्छ । घरअगाडि कालोपत्रे सडक आसपासमा पहेलपुर फूलेको तोरीबारीमा भीड–भाड हुन थालेपछि महत दंग पर्नुभएकाे छ । केही वर्ष अगाडिसम्म सुनसान रत्नेचौरको सडक कालोपत्रे भएपछि तोरीबारीमा बसेर फोटो, भिडियो खिच्न विभिन्न स्थानबाट सवारी साधनको प्रयोग गरी आउने गरेका छन् ।

शुक्रबार, शनिबार र सार्वजनिक बिदा भएमा अन्य दिनमा बढी भिड लाग्ने गरेको छ । म्याग्दी, बागलुङ र पर्वतका विभिन्न क्षेत्रबाट एकैपटक घुम्न आउनेहरूको भीड व्यवस्थापन गर्नसमेत हम्मेहम्मे पर्ने गरेको छ। स्थानीय नेत्रबहादुर महतका अनुसार, तोरी उत्पादन हुने सिजनबाहेक पनि कालोपत्र सडकमा तस्बीर, भिडियो खिचेर सामाजिक सञ्जाल तथा टिकटकमा राख्ने मानिसहरू मोटरसाइकल र गाडी चढेरै आउने गरेका छन् ।

चारैतिर हरियाली पहाड, उत्तरतर्फ मुसुक्क मुस्कुराइरहेको संसारकै सातौँ अग्लो धौलागिरी हिमालको दृश्यसँगै समथर फाँटको पहेंलपुर तोरीले स्थानीयवासीको व्यापारमा समेत सघाएको छ । रत्नेचौरमा यस वर्षदेखि अर्को आकर्षण पनि थपिएको छ । म्याग्दीको रत्नेचौर र बागलुङको कुडुले (फेदी) जोड्ने ३ सय ८८ मिटर लामो झोलुंगे पुलमा रमाउन पनि यहाँ दैनिक २ सय भन्दा बढी व्यक्तिहरु आउने गरेका महतले बताउनुभयाे ।

यहाँ पुलमा खेल्न, तोरीमा रमाउन, वनभोज खानका लागि बागलुङ, म्याग्दी र पर्वतका समेत मानिसहरु आउन थालेपछि थामिनसक्नुको भीड हुने गरेको स्थानीयवासी गणेश बाेगटीले बताउनुभयाे । पर्यटकहरु आउन थालेपछि हालै खुलेका होटेलको कारोबार समेत बढेको अर्का स्थानीय युवा सन्तोष महतको भनाइ छ । तोरीबारी र कालोपत्र सडकले आन्तरिक पर्यटकलाई आकर्षित गरेको यहाँका कृषकहरूले बताएका छन्।

घुम्न आउनेहरूको चहलपहललाई स्थानीयले राम्रो मानेकाे स्थानीयवासीकाे भनाइ छ । रत्नेचौर र उपल्लाचौरका करिब ५ घरधुरीले तोरी खेती गरेका छन् । घर-आँगन र खेतबारीमा लगाएको तोरीको तेल खोज्दै गाउँमा आउने ग्राहकलाई समेत बिक्री गर्न नसकिएको कृषकको भनाइ छ । तोरीबारीमा गएर तस्बीर र भिडियो खिच्दा क्षति हुने भएकाले धेरैले सडक आसपासबाटै खिचेर सामाजिक सञ्जालमा पोष्ट गर्ने गरेका छन् ।

बागलुङको मुलपानीबाट रत्नेचौरको तोरीबारी घुम्न आउनुभएकी सरिता गौतमले टिकटक लगायत सामाजिक सञ्जालमा दैनिक जसो तोरीबारीको भिडियो र तस्बीर देखेपछि घुम्न आएको बताउनुभयाे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४