Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

यो हिउँदमा किन परेन पानी ?


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, माघ ८ २०७९
  • 3K
    SHARES

काठमाडौं । माघको पहिलो सातासम्म पनि काठमाडौंमा ठिहिर्‍याउने चिसो छैन । विगतका हिउँदसँग तुलना गर्ने हो भने यतिबेला वर्षा हुनुपर्ने हो । हिमाली भेगमा हिउँ पर्ने र तराईमा शीतलहरसंगै हुस्सुको प्रभाव देखिनुपर्ने हो ।

हिउँदको समय भएपनि मौसम भने हिउँदको जस्तो छैन । काठमाडौं उपत्यकामा विहान बेलुका चिसो भए पनि दिउँसो चर्को घाम लाग्छ । यसवर्ष देशका अधिकांश ठाउँमा हिउँदे वर्षा भएको छैन । हिमाली भेगमा हिउँ परेको छैन । त्यसैले जल तथा मौसम विज्ञान विभागका अधिकारीहरु भन्छन्, ‘यो न्यानो हिउँद’ हो ।

‘काठमाडौंमा यतिखेर मिनपचासको बिदा हुने समय हो’, जल तथा मौसम विज्ञान विभागका पूर्व महानिर्देशक डा. मदनलाल श्रेष्ठ भन्छन्, ‘कठ्याग्रिंने चिसो हुने समय हो यो । तर, यसपटक चिसो छैन ।’ जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा पानी पार्ने पश्चिमी वायु सक्रिय नभएका कारण यसपटक हिउँदले आफ्नो स्वभाव गुमायो ।‘पश्चिमी वायु सक्रिय भएन’, मौसम पूर्वानुमान महाशाखाका मौसमविद सञ्जीव अधिकारी भन्छन्, ‘भूमध्य सागरबाट पानी बोकेको हावा पर्याप्त मात्रामा आएन ।

नेपालमा पानी पर्न पूर्व र पश्चिमबाट पानी बोकेको हावा चल्नुपर्छ । बंगालको खाडीबाट पूर्वी बाटो हुँदै नेपाल छिर्ने हावाले बर्खामा पानी पार्छ । ‘बर्खामा पश्चिममा भन्दा पूर्वमा धेरै पानी पर्छ’, अधिकारी भन्छन् । हिउँदमा भने पानी पार्ने हावा भूमध्य सागरबाट आउँछ । तर, यो हावाको बाटो भने प्रशान्त महासागरमा हुने हावाको दबावले निर्धारण गर्छ । पश्चिमी प्रशान्त महासागर चिसो भयो भने नेपालमा हिउँदमा कम पानी पर्छ ।

त्यहाँ तातो भयो भने त्यहाँबाट तातो हावा हिन्द महासागर र भूमध्य सागर हुँदै नेपाल आउँछ’, विभागकी वरिष्ठ मौसमविद् डा. इन्दिरा कँडेल भन्छिन्, ‘त्यसैले हिउँदे वर्षा गराउँछ ।’ हिउँदे वर्षा गराउने हावा पश्चिम नेपालबाट छिर्ने भएकाले हिउँदमा पूर्वमा भन्दा पश्चिममा धेरै पानी पर्छ । तर, यसपकट भूमध्य सागरबाट आएको पश्चिमी हावामा पर्याप्त मात्रामा आद्रता छैन । ‘यसपटक पश्चिमी वायु निकै कमजोर छ’, मौसमविद् अधिकारीले प्रष्ट्याए, ‘अर्थात प्रशान्त महासागर, हिन्द महासागर पर्याप्त मात्रामा तातेका छैनन् । त्यहाँ पानी तातो भयो भने त्यो उडेर हावासंगै बहदै नेपाल छिर्छ ।’

जल तथा मौसम विज्ञान विभागकी वरिष्ठ मौसमविद्ध डा. इन्दिरा कँडेलका अनुसार पश्चिमी वायु नेपाल प्रवेश गरिसकेको छ । ‘हिउँदमा पानी, हिउँ पार्ने पश्चिमी वायु नेपाल छिरेको अस्ति नै हो । तर, त्यो वायुमा पर्याप्त मात्रामा पानी भएन ।’ विभागका अनुसार सोमबार बेलुका भने पश्चिम नेपालका हिमाली र उच्च पहाडी भेगमा पानी र हिउँ पर्ने सम्भावना छ । तर, अन्यत्र भने पानी पर्ने सम्भावना न्यून छ ।

१५ मंसिरदेखि १५ फागुनसम्मलाई नेपालमा हिउँद मानिन्छ । हिउँद सकिन अब डेढ महिना मात्र बाँकी छ । ‘अब पनि पानी पर्ने संभावना कम छ’, डा. कँडेल भन्छिन्, ‘यो न्यायो हिउँद हो ।’ नेपालमा हुने कुल वर्षाको करिब चार प्रतिशत मात्र हिउँदमा हुने गर्छ । तर, यस वर्ष हिउँदका डेढ महिना बितिसक्दा पनि ०.१ मिलिमिटर मात्र वर्षा भएको छ । हिउँदमा औसत ६०.९ मिलिमिटर वर्षा हुने गर्छ ।

हिउँदमा कम वर्षा हुने वर्षलाई मौसमवविद्हरु ‘लानिना’ भन्ने गर्छन् । ‘यस्ता वर्षमा हिउँदमा कम वा न्यून वर्षा हुन्छ र बर्खामा बढी हुन्छ,’ डा. कँडेलले भनिन् ‘यो भनेको समुन्द्रको पानी चिसो नै हुने मौसमी चक्र हो । अर्थात लानिनाको वर्षमा हिउँदे वर्षा गराउन सक्नेगरी समुन्द्रको पानी तात्दैन । यसको विपरीत ‘एलनिनो’ वर्षमा भने हिउँदमा पनि पर्याप्त मात्रामा वर्षा हुन्छ । ‘सन् २००५ र २००६ पनि यस्तै लालिना अर्थात हिउँदमा कम पानी पर्ने वर्ष थिए’ डा. कडेलले सुनाइन् । ‘हिउँद त्यसै पनि सुख्खा समय हो,’ डा. कडेल भन्छिन्, ‘यो हिउँद सुख्खा मात्र होइन न्यानो हिउँद हुन्छ ।

हिउँदमा पानी नपर्नु सामान्य मौसमी चक्र भएपनि न्यानो हुनु भने जलवायु परिवर्तनको उपज भएको बताउँछन् डा. श्रेष्ठ । ‘पछिल्ला वर्षहरुमा हिउँद पनि न्यानो हुन थालेको छ’, डा. श्रेष्ठले भने, ‘हिउँद न्यानो हुनु भनेको ग्लोबल वार्मिङकै असर हो ।’ हिउँद लागेर पनि जाडो नहुँदा, पानी नपर्दा खेतीपातीको उत्पादनमा असर पर्ने बताउँछन् डा. श्रेष्ठ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४