Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सत्ता बाहिर दोधारे कांग्रेस : कतै सहयोगी, कतै प्रतिस्पर्धी


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, माघ ६ २०७९
  • 3K
    SHARES

नयाँ सरकार गठन भएयता कांग्रेस दोधारमा छ । एकै प्रकारको निर्णय गरेर अघि बढ्न सकिरहेको छैन । प्रधानमन्त्रीलाई विश्वासको मत दिएको कांग्रेसले सभामुखमा आफ्नै उम्मेदवार उठायो । प्रदेशमा पनि कतै सहयोगी बनेको कांग्रेस कतै प्रतिस्पर्धी बनेको छ ।

काठमाडौं । संघीय संसदमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको कांग्रेसले सभामुखमा भने सत्तापक्षका उम्मेदवार देवराज घिमिरेलाई मत दिएन, बरु ईश्वरी न्यौपानेलाई आफ्नै उम्मेदवार बनायो । केन्द्रमा मात्र होइन, प्रदेशहरुमा पनि कांग्रेसको व्यवहारमा एकरुपता छैन ।

कतै सरकारलाई विश्वासको मत दिएको छ, कतै दिएको छैन । सभामुखमा पनि कतै उम्मेदवार बनाएको छ, कतै बनाएको छैन । कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभाका विभिन्न पदमा प्रतिस्पर्धा गरे पनि जित हासिल गरेको छैन, किनभने सबै प्रदेशसभा सत्ता गठबन्धनमा रहेका दलहरुको बहुमत छ ।

यो व्यवहारबाट कांग्रेसको स्पष्ट नीति के हो खुल्दैन, आफैं अलमलिएको हो कि भन्ने आशंका हुन्छ । कांग्रेसको दोहोरो भूमिकालाई लिएर पार्टीभित्रै प्रश्न समेत उठेको छ । केन्द्रीय सदस्य जीवनबहादुर शाही भन्छन्, ‘विश्वासको मत हामीले दिने हो भने कांग्रेस सत्ता पक्ष भएन र ? कि सत्ता पक्ष हौं भन्न पर्‍यो ।

  • एमालेलाई असहयोग

कांग्रेसले सभामुख र मुख्यमन्त्रीमा एमालेका उम्मेदवारलाई असहयोग गरेको छ । उसले प्रतिनिधिसभा र प्रदेशसभामा एमालेका उम्मेदवार रहेको ठाउमा आफ्नो पनि उम्मेदवार बनाएको छ र एमालेका नेता मुख्यमन्त्री बन्दा विश्वासको मत दिएको छैन ।

प्रतिनिधिसभाको सभामुखमा एमालेका देवराज घिमिरेसँगको प्रतिस्पर्धामा कांग्रेसले ईश्वरी न्यौपानेलाई उठायो । एमालेबाट मुख्यमन्त्री भएका प्रदेश १ का हिक्मतकुमार कार्की, गण्डकीका खगराज अधिकारी, लुम्बिनीका लिला गिरीलाई विश्वासको मत दिएन ।

सुदूरपश्चिमका राजेन्द्र रावललाई पनि विश्वासको मत नदिने कांग्रेसबाट प्रदेशसभा सदस्य बहादुरसिंह थापाले बताएका छन् । ‘अरु तिर केन्द्रले के निर्देशन दियो, त्यही अनुसार निर्णय लिएका होलान् । सुदूपश्चिममा कांग्रेसले विश्वासको मत दिने सोंच बनाएको छैन, दिदैन’, थापाले भने ।

एमालेबाट सभामुखको उम्मेदवार बनेका मधेशका रामचन्द्र मण्डल, कर्णालीकी नन्दा गुरुङलाई पनि सर्वसम्मत हुन दिएन । मधेशमा जंगीलाल रायलाई र कर्णालीमा खडक पोखरेललाई उम्मेदवार बनायो ।

  • माओवादीलाई कतै सहयोग, कतै प्रतिस्पर्धा

कांग्रेसले प्रतिनिधिसभामा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दियो । प्रदेशहरुमा भने उसको व्यवहार समान छैन ।

बागमतीका मुख्यमन्त्री माओवादीका शालिकराम जमकट्टेललाई कांग्रेसले विश्वासको मत दियो, तर कर्णालीका मुख्यमन्त्री माओवादीकै राजकुमार शर्मालाई विश्वासको मत नदिने कर्णाली प्रदेशसभा सदस्यसमेत रहेका कांग्रेस नेता जीवनबहादुर शाही बताउछन् ।

सभामुखमा माओवादीको उम्मेदवार रहेका प्रदेश १ र लुम्बिनीमा कांग्रेसले प्रतिस्पर्धा गरेन । त्यसैले प्रदेश १ मा बाबुराम गौतम र लुम्बिनीमा तुलाराम घर्ती सर्वसम्मत सभामुख बनेका हुन् ।

संसदको साझा व्यक्ति भएकाले सभामुख पदलाई सर्वसम्मत बनाउन सहयोग गरेको कांग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले बताए ।

तर गण्डकी र सुदूपश्चिमको सभामुखमा भने कांग्रेसले माओवादीसगै प्रतिस्पर्धा गर्‍यो । गण्डकीमा माओवादीका कृष्ण धितालसँग कांग्रेसबाट नेता सरस्वती अर्यालले प्रतिस्पर्धा गरिन् भने सुदूरपश्चिममा माओवादीका भीम भण्डारीसँग काग्रेसका मानबहादुर रावलले प्रतिस्पर्धा गरेका छन् ।

  • राप्रपालाई पनि असहयोग

कांग्रेसले राप्रपाका उम्मेदवारलाई पनि सहयोग गरेको छैन । राप्रपाले सत्ता गठबन्धनको भागवण्डामा बागमती प्रदेशको सभामुख पाएको थियो ।

जसमा महामन्त्री भुवन पाठकलाई उम्मेदवार बनाएको थियो । तर कांग्रेसले शिवराज अधिकारीलाई उम्मेदवार बनायो ।

  • जसपालाई निकट राख्ने प्रयत्न

कांग्रेसले जनता समाजवादी पार्टीलाई भने निकट राख्ने प्रयत्न गरेको छ । मधेशको मुख्यमन्त्री बनेका जसपा नेता सरोजकुमार यादवलाई कांग्रेसले विश्वासको मत दिदा उनले प्रदेशसभाको शत प्रतिशत मत पाएका छन् ।

मधेश प्रदेशसभा संसदीय दलका नेता तथा प्रदेश सभापति कृष्ण यादव सरकारलाई काम गर्ने वातावरण बनाउनका लागि मुख्यमन्त्रीलाई विश्वासको मत दिएको तर्क गर्छन् ।

‘विश्वासको मत दिएका हौं । सरकारलाई समर्थन दिएका होइनौं । दोहोरो भूमिका कांग्रेसले देखाएको छैन’, यादवले भने,’सरकारलाई राम्रो काम गर्न विश्वासको वातावरण बनाइदिएका हौं । सरकारले राम्रो काम गरेन भने विश्वासको मत तुरुन्त फिर्ता लिन्छौं ।

कांग्रेसले मधेशमा सरकारमा परिवर्तन हुने अवस्था आएमा मधेशवादी दलको साथले सत्तामा पुग्ने आशा राखेको छ । संसदीय दलको नेता यादवले पनि यसलाइ नकारेनन् । ‘पछिको कुरा के हुन्छ अहिले कसरी भन्ने ?’ उनी भन्छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४