काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालको राजनीति तीन जना पूर्वप्रधानमन्त्रीहरुको अखडाजस्तो भएको टिप्पणी गरेका छन् ।
पूर्वप्रधानमन्त्रीत्रय शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डप्रति संकेत गर्दै उनले ४ मंसिरको चुनावपछि नेपाली राजनीति पूर्वप्रधानमन्त्रीहरु एकले अर्कोलाई छक्याउने, ढाल्ने कुरामा मात्रै केन्द्रित भएको बताएका हुन् ।
शनिबार काठमाडौंमा आयोजित पत्रकार रामकृष्ण भण्डारीद्वारा लिखित पुस्तक ‘सत्ता संघर्षः ३० वर्षमा २८ सरकारका नालीबेली’को सार्वजनिक तथा अन्तरसंवाद कार्यक्रममा बोल्दै थापाले पूर्वप्रधानमन्त्रीहरुबीचको झेलबाट मुलुकलाई जोगाउन आवश्यक रहेको बताएका छन् ।
‘नेपालको राजनीतिक कस्तो भयो भने तीन जना भूतपूर्व प्रधानमन्त्रीहरुको अखडाजस्तो भयो । कुन चाहिँ भूतपूर्व प्रधानमन्त्रीले कुन चाहिँ भूतपूर्व प्रधानमन्त्रीलाई झुकाउनु भयो ? आइतबार फलानोले झुकाउनुभएको थियो । सोमबार अर्कोले ठहरै पार्नुभयो’ उनले भनेका छन् ।
थापाले अगाडि भने, ‘तीन जना भूतपूर्व प्रधानमन्त्रीहरु त्यो एउटा अखडाभित्र कसले कसलाई छक्याउने, कसले कसलाई ढाल्ने, तीन वटा प्रधानमन्त्रीको क्लब जस्तो भएको देखिएको छ ।
महामन्त्री थापाले नेपालको राजनीतिलाई सही ठाउँमा ल्याउन संसदमा सबै राजनीतिक दलका सांसदहरुले मिलेर बहसलाई अघि बढाउनुपर्ने बताएका छन् ।