विराटनगर । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनलाई हेरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको बताएका छन् ।
बिहीबार विराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै उनले निर्वाचन अझै बाँकी रहेको र ती निर्वाचनलाई हेरेर प्रधानमन्त्रीलाई विश्वासको मत दिएको बताएका छन् ।
‘म सभामुख उपसभामुखको कुरा गरिरहेको छैन, अरु निर्वाचनहरु पनि बाँकी छन् । ती निर्वाचनमा हामीहरु उम्मेदवारी दिन्छौं’ उनले भने, ‘…राष्ट्रपतिको निर्वाचन, उपराष्ट्रपतिको निर्वाचनमा प्रदेशका सांसदले पनि भोट हाल्नुहुन्छ, यो सबैलाई विचार गरेर हामीले भोट हालेका हौं ।
नेता कोइरालाले ती निर्वाचनमा माओवादीले कांग्रेसका उम्मेदवारलाई साथ दिने ग्यारेन्टी नभएको, तर पार्टीले मतको आशा भने गर्न पाउने बताएका हुन् । ‘हामीले आफ्नो उम्मेदवार दिंदा सहयोग हुन्छ कि भन्ने सोच त बनाउँछ नि पार्टीले’ उनले भने ।
आफूहरु प्रतिपक्षमा नै बस्ने र सरकारको गुण र दोषका आधारमा भूमिका खेल्ने नेता कोइरालाले बताएका छन् ।