Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पृथ्वी जयन्तीको बधाई थापिरहेका राजेन्द्र लिङ्देन


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, पुष २७ २०७९
  • 5K
    SHARES

काठमाडौं । भृकुटीमण्डपको चौरमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई नेता कार्यकर्तासंग ‘सेल्फी’ खिचाउन भ्याइ नभ्याइ भएको थियो ।

पृथ्वीजयन्तीको अवसर पारेर पार्टीले आयोजना गरेको चियापानमा राप्रपा अध्यक्ष लिङ्देनसंगै कुनै समयका ‘भाइरल म्यान’ ज्ञानेन्द्र शाही मोबाइल क्यामेराको केन्द्रमा थिए ।

राप्रपाले यसपटक सरकारमा सहभागी हुन पृथ्वी जयन्तीमा सार्वजनिक विदा दिनुपर्ने शर्त राखेको थियो । प्रचण्ड नेतृत्वको सरकारले सार्वजनिक विदा दिने निर्णय गरेपछि उसले यसलाई जितको रुपमा लिएको छ ।

त्यसैले विगतमा नेपाल पुलिस क्लब, राष्ट्रिय सभागृहमा गर्दै आएको चियापान कार्यक्रमलाई उसले यस वर्ष अलि फराकिलो भृकुटीमण्डपमा सार्‍यो ।

मंगलबार प्रतिनिधिसभामा प्रचण्डलाई विश्वासको मत दिने वचन दिँदा लिङ्देनले संसदबाटै चियापानमा आउन सांसदहरुलाई निम्ता दिइसकेका थिए । चियापानमा राप्रपाका नेता कार्यकर्ता त आउने भइहाले, विभिन्न दलका शीर्ष नेता, सांसदहरु, संवैधानिक आयोगका प्रमुख, प्रशासक, विभिन्न पेशा व्यवसायका व्यक्ति र सर्वसाधारणसम्म राप्रपाको निम्तो स्वीकारेर भृकुटीमण्डप पुगेका थिए ।

राप्रपाको निम्तो मान्न पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेकपा माओवादीका केन्द्रका बरिष्ठ उपाध्यक्ष तथा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, उपप्रधान तथा गृहमन्त्री राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राप्रपा नेपालका अध्यक्ष कमल थापालगायतका नेताहरुको बाक्लो उपस्थिति रहेको थियो ।

पृथ्वीनारायणको फोटोमा फूलमाला चढाउँदै मञ्चमा उक्लेका नेताहरुले राप्रपा अध्यक्ष लिङ्देनलाई बधाई दिएका थिए  । उपलक्ष्य पृथ्वी जयन्तीको भएपनि लिङ्देनलाई नेताहरुले उनको पार्टीको आयतन फैलिएकामा बधाई दिइरहेका थिए ।

०६२/०६३ को जनआन्दोलनपछि खुम्चिएको राप्रपाको नेतृत्वमा लिङ्देन आएपछि संघीय संसदमा १४ सांसद निर्वाचित भए भने सबै प्रदेशसभामा उसको प्रतिनिधित्व छ ।

३०१ वर्ष अगाडि जन्मेका पृथ्वीनारायण शाहपछि मुलुकले राणा शासन, प्रजातन्त्र, पञ्चायतहुँदै लोकतान्त्रिक व्यवस्था भोगिसक्यो । तर पृथ्वीनारायणलाई लोकतान्त्रिक गणतन्त्रमा पनि सान्दर्भिक बनाउन सक्नुलाई राप्रपाले आफ्नो जितका रुपमा ‘सेलिब्रेट’ गरिरहेको छ । राप्रपाको सेलिब्रेसनमा सहभागी भएका कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पृथ्वीनारायण शाहलाई राष्ट्रिय एकताको प्रतीकका रुपमा अर्थ्याएका थिए ।

‘नेपालमा पृथ्वीनारायण शाह नभएको हामी अहिले नेपाली हुने थिएनौं’, पौडेलले भने, ‘अहिले हामीलाई राष्ट्रिय एकताको खाँचो छ त्यही भएर हामीले हिजो(मंगलबार) एकै ठाउँमा भोट हाल्यौं ।

मञ्चको बायाँपट्टी पृथ्वीनारायण शाहको ठूलो फोटोसंगै ‘मेरा साना दुःखले आज्र्याको मुलुक होइन,सबैलाई चेतना भया’ लेखिएको पोष्टरलाई पृष्ठभूमिमा पारेर विजय भावमा उभिएका राप्रपा अध्यक्ष लिङ्देनको हाईहाई गर्दै नारा लगाउने कार्यकर्ताको कमी थिएन ।

एक वर्षअघि राप्रपाको अध्यक्ष भएका लिङ्देनलाई भृकुटीमण्डपकै मञ्चबाट एमाले अध्यक्ष ओलीले आफ्नो चिरपरिचित उखान टुक्का शैलीमा ‘बाच्छो’ भन्दै ब्यंग्य गरेका थिए ।

बुधबार भने राप्रपाको सेलिब्रेसनमा ओली पनि सहभागी भएका थिए । पृथ्वीनारायण शाहको तस्वीरमा फूलमाला चढाउँदै मञ्चमा उक्लिएका ओलीले लिङ्देनलाई बधाई दिएका थिए ।

लिङ्देनसंगै चियाखाजा खाएका ओलीले पनि पृथ्वीनारायण शाहको योगदानबारे चर्चा गरेका थिए । ‘पृथ्वीनारायण शाहले एकीकरण गरेर नेपाल बन्यो, हामी नेपाली बन्यौ, त्यसकारण यसमा खुसियाली मनाउनुपर्छ’ उनले भनेका थिए ।

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले त पृथ्वीनारायण शाहलाई राष्ट्रिय एकताको नायक नै घोषणा गरे । पृथ्वीनारायण शाहको भुमिकाका बारेमा कुनै विवाद गर्न नहुने तर्क गर्दै श्रेष्ठले पृथ्वीनारायण शाहको सम्मानमा विदा दिएको सुनाएका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पनि पृथ्वीनारायण शाहको चर्चा गरेर सार्वजनिक विदालाई निरन्तरता दिने प्रतिज्ञा गरेको सुनाएका छन् ।

नेपाल लोकतान्त्रिक गणतन्त्रको युगमा प्रवेश गरेपछि सरकारले पृथ्वी जयन्तीमा दिँदै आएको सार्वजनिक विदा काटिदिएको थियो । त्यसपछि राप्रपाले पृथ्वी जयन्तीमा सार्वजनिक विदा दिनुपर्ने माग गर्दै आएको थियो ।

यसपटक भने उसको माग पूरा भयो । राप्रपा नेता दीपक सिंह आफूहरुको एजेण्डा यसपटक स्थापित भएको बताएका थिए । ‘सबैले हाम्रो एजेण्डा स्वीकार गरे’, सिंहले भने, ‘यो राप्रपासंगै सबै नेपालीको जित हो ।

चियापानमा राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र पनि एउटा आकर्षण थिए । राप्रपा छाडेर राप्रपा नेपाल दल खोलेका कमल थापा पनि लिङ्देनले आयोजना गरेको चियापनमा आइपुगेका थिए ।

थापाको चित्त भने प्रसन्न थिएन । ‘पृथ्वी जयन्ती मात्र भनेर विदा दिइयो, यसलाई राष्ट्रिय एकता दिवस भन्नुपर्ने थियो’, थापाले गुनासो गरेका छन् । सञ्चारकर्मीसंग गुनासो गरेपनि थापाले लिङ्देनलाई बधाई भने दिएका थिए ।

बिहान १० बजेदेखि नै चियापानमा निम्तालुको स्वागत गरिरहेका लिङ्देनले दिनभर बधाई थापे । कार्यक्रमको समापनसंगै लिङ्देनले २७ पुसलाई राप्रपाको विजयोत्सवका रुपमा अर्थ्याएका थिए ।

संसदमा रहेका सबै दललाई पृथ्वीजयन्ती सेलिब्रेसनमा सहभागी गराउने समथ्र्य बनाएका लिङ्देनले २७ पुसलाई अबका दिनमा राष्ट्रिय उत्सवका रुपमा मनाउनुपर्ने माग राखेका छन् । कार्यकर्ताको हुटिङसंगै लिङ्देन कार्यकर्ताको सेल्फी क्यामेराले घेरिएका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४