Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

तारुकामा आगामी माघ १ र २ मा २८ हल गोरु जुधाइने


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, पुष २४ २०७९
  • 2.7K
    SHARES

काठमाडाैं / नुवाकोटको तारुकामा यस वर्ष २८ हल गोरु जुधाइने भएको छ । तारकेश्वर गाउँपालिका–३ तारुका, चन्दनीस्थित कटहरबोट पाटोमा हरेक वर्ष जस्तै यो वर्ष माघेसङ्क्रान्ति मेलाको अवसरमा जुधाउन २८ हल गोरु दर्ता भएको ‘माघे सङ्क्रान्ति गोरु जुधाइ महोत्सव’ व्यवस्थापन समितिका अध्यक्ष मदन श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार समितिले किसानलाई यही पुस २३ गतेसम्म दर्ता गर्न जारी गरेको सूचनाअनुसार २८ हल गोरु जुधाउन दर्ता भएका छन् । अघिल्ला वर्षजस्तै यस वर्ष आगामी माघ १ र २ गते गोरु जुधाउन लागिएको छ । यस वर्ष गोरु जुधाइ मेलालाई ‘महोत्सव’का रूपमा सञ्चालन गर्न लागिएको समितिका सचिव अमित अधिकारीले जानकारी दिनुभयो । गोरु जुधाइ प्रतिस्पर्धालाई व्यवस्थित, आकर्षक, रोचक र थप मनोरञ्जनात्मक गतिविधिसमेत संलग्न गराइने भएकाले यस वर्ष दुई दिन गोरु जुधाउन लागिएको हो ।

“अघिल्ला वर्ष मेलाका रूपमा मनाइने गरिएको भए पनि यो वर्ष महोत्सवका रूपमा दुई दिन मनाउन लागिएको छ”, उहाँले भन्नुभयो, “गोरुलाई समय निर्धारण नगरी जुधेसम्म जुधाइनेछ भने राष्ट्रिय तथा स्थानीय कलाकारमार्फत लोकदोहोरीलगायतका अन्य मनोरञ्जनका गतिविधिसमेत समावेश गराउन लागिएको छ ।”

माघे सङ्क्रान्तिको अवसरमा जुधाउन दर्ता भएका गोरुलाई एकले अर्कोसँग (वान भर्सेज वान) प्रतिस्पर्धा गराउन लागिएको छ । प्रतिस्पर्धामा विजेता हुने गोरु, धेरै समयसम्म जुध्ने गोरु, उत्कृष्ट प्रस्तुतिका साथ जुध्ने गोरुलगायतका शीर्षकमा गोरुधनी किसानलाई नगदसहित सम्मान गरिने आयोजकले जनाएको छ ।

स्पेनी बुलफाइटको झल्को

नुवाकोटको तारकेश्वर गाउँपालिका–३ तारुका, चन्दनीस्थित कटहरबोट पाटोमा जुधाइने गोरुले स्पेनी बुलफाइटको झल्को दिने र नेपालका लागि बिल्कुलै नयाँ प्रतियोगिताका रूपमा परिचित छ । यहीको गोरु जुधाइलाई अनुसरण गर्दै अहिले नुवाकोटसहित देशका विभिन्न स्थानमा गोरु जुधाउन थालिएको भए पनि उपयुक्त स्थान, आकर्षक गोरु, रोमाञ्चक प्रतिस्पर्धा, ऐतिहासिक महत्वलगायतका कारण तारुकाको गोरु जुधाइको आकर्षण र महिमा सबैभन्दा उत्कृष्ट रहेको समितिका अध्यक्ष मदन श्रेष्ठले बताउनुभयो ।

“पशु जुधाएर मनोरञ्जन लिन हुँदैन भनेर विरोधका आवाज उठ्नेदेखि धेरैपटक कार्यक्रम रोक्न पनि खोजियो”, विगतलाई स्मरण गर्दै उहाँ भन्नुहुन्छ, “गोरु जुधाइको ऐतिहासिक तथा सांस्कृतिक महत्वलाई बचाउन र उनीहरूको जुध्ने रहर पूरा गर्न निरन्तरता दिइएको हो ।”

तारुकाको गोरु जुधाइको अवलोकन गर्न आन्तरिकसरह नै बाह्य पर्यटक पुग्ने गर्दछन् । टेलिभिजनको पर्दामा स्पेनको बुलफाइट हेर्नेलाई हजारौँको बीचमा बसेर बारीको पाटोमा जुधाएको गोरुलाई स्पेनी झल्को मेटिनेमात्रै होइन त्यो भन्दा उत्कृष्ट हुने गरेको सहभागीको प्रतिक्रिया रहन्छ ।

यहाँ जुधाउने गोरु किसानले आफ्नो खेतीपातीमा जोत्न सघाउन पाल्ने गोरुलाई नै विशेष स्याहारसुसार गर्ने गरेका छन् । जुधाउनका लागि नै भनेर किसानले गोरुलाई बलियो बनाउन, जुरो उमार्नलाई अण्डा, चामल, मासलगायतका घरमा उत्पादित खुराक खुवाउने बताउनुहुन्छ गोरुपालक किसान रुपेश अधिकारी । केही किसानले त माघेसङ्क्रान्ति पर्वमा जुधाउनलाई खेतीपातीमा सघाउने समयसमेत घटाएर जुधाउन भनेर नै स्याहारसुसार गर्ने गरेको बताउनुहुन्छ गोरुपालक अर्का किसान मनोज श्रेष्ठ ।

कहिलेबाट सुरु भयो त ?

तत्कालीन बझाङ्गी राजा विक्रमबहादुर सिंहको छोरा जयपृथ्वीबहादुर सिंह नुवाकोटको तारुकास्थित मामाघरमा आएको समयमा विसंं १८८७ मा पहिलोपटक गोरु जुधाएर रमाइलो देखाइएको थियो भन्ने यहाँका बूढापाका बताउँछन् । त्यसलाई हरेक वर्ष माघेसङ्क्रान्तिको दिन निरन्तरता दिँदै आएकाले तारुकाको गोरु जुधाइको इतिहास झण्डै दुई सय वर्ष अगाडिदेखिलाई संरक्षण गरिएको हो । किसानले स्वतःस्फूर्त रूपमा जुधाउँदै आएको गोरुलाई एकीकृत गरेर व्यवस्थित भने विसं २०६२ देखि समितिमार्फत नेतृत्व लिइएको हो ।

गोरु जुधाउन आधुनिकता भित्रिन नदिई मौलिकपन कायम राखेर परम्पराको निरन्तरता, माघेसङ्क्रान्तिको अवसर जुधाइने भएकाले संस्कृतिको संरक्षणमा समेत निरन्तरता दिइएको छ । किसानले गोरु जोत्न छाडेर ट्र्याक्टरको प्रयोगले गाउँमा गोरु देख्न छाडिसके । तर जुधाउनलाई भनेर तारुका (तारकेश्वर)का किसानले जुरो पलाउने स्थानीय जातका गोरु पाल्ने, त्यसलाई खुराक खुवाएर प्रतिस्पर्धा गराउने, बारीको खुला पाटोमा हजारौँ दर्शकको बीचमा गोरु जुधाइको चलनलाई जोगाउँदै आइरहेको स्थानीय ९० वर्षीय झमबहादुर प्रधानले बताउनुभयो ।

“ट्र्याक्टर प्रयोग गर्नेलाई अनुदान दिइन्छ । गोरु पाल्ने किसानलाई केही छैन ? ”, प्रधानले गुनासो गर्नुभयो, “तारुकाको गोरु जुधाइ बचाउन हामी किसानले आधापेट खाएर भए पनि खुराक खुवाएर पालिएका गोरुलाई जुधाएर परम्परा जोगाएका छौँ ।”

कसरी जाने ?

तारुकाको गोरु जुधाइको महत्व विशेष छ । यहाँको गोरु जुधाइ स्पेनको बुलफाइटभन्दा बढी रोचक हुने हुदाँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको प्राथमिकतामा पर्दछ । तारकेश्वर गाउँपालिका–३ तारुका चन्दनीस्थित कटहरबोट पाटोमा पुग्न काठमाडौँबाट ६० किलोमिटर दूरी छ ।

काठमाडौँबाट धादिङको गल्छीसम्म (पृथ्वी राजमार्ग) ४८ किमी, गल्छीबाट बेलकोटगढी–७ रातमाटेसम्म छ किमी सडक व्यवस्थित कालोपत्र सडक छ । तारकेश्वर वडा नं ३ का वडाध्यक्ष सूर्यमान श्रेष्ठको अनुसार रातमाटेस्थित त्रिशूली नदीमा निर्माण गरिएको पक्की पुल केही समयअघिदेखि सञ्चालनमा ल्याइएको छ । रातमाटेको पक्की पुल तरेर तारुका पुग्न थप छ किमी कच्ची बाटोको दूरी यात्रा गर्नुपर्दछ । धादिङबेँसीबाट दाङसिंह हुँदै आउन पनि सकिन्छ भने सबैभन्दा सहज ‘गल्छी–रातमाटे–तारुका’ १२ किमी दूरीको सडकमार्गबाट गोरु जुधाइ हेर्न चन्दनीस्थित कटहरबोट पाटोमा पुग्न सकिन्छ । रासस

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४