Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कांग्रेसको दाउ : मधेश, बाग्मती र सुदूरपश्चिममा एमाले–माओवादी इतरको सरकार


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, पुष २१ २०७९
  • 2.5K
    SHARES

कांग्रेस सभापति शेरबहादुर देउवाले मधेश, बागमती र सुदूरपश्चिमममा एमाले-माओवादी इतरको सरकार निर्माणका लागि जसपा, राप्रपा र नागरिक उन्मुक्ति पार्टीसँग छलफल अघि बढाइरहेका छन् ।

काठमाडौं । सत्ता गुमेपछि धुम्बाराहीस्थित भाडाको घरमा चुपचाप बसिरहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिहीबार जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवसंग भेट गरेका छन् ।

बुधबार साँझसम्म सत्ता साझेदार दलहरुको बैठकमा सहभागी यादव बिहीबार विहान १० बजेपछि धुम्बाराहीस्थित देउवा निवास पुगेका थिए । चुनावअघि कांग्रेस नेतृत्वको गठबन्धन छाडेर एमालेसँग तालमेल गर्न पुगेका यादव १० पुसमा प्रचण्डले प्रधानमन्त्रीमा दाबी गर्दा साथ दिन बलकोटस्थित केपी शर्मा ओलीको निवासमा पुगेका थिए ।

तर मंगलबार सकिएको पार्टीको राजनीतिक समितिको बैठकले सरकारको न्यूनतम साझा कार्यक्रम र शक्ति बाँडफाँटका आधारमा सरकारमा जाने वा नजाने तय गर्ने निर्णय गरेको छ ।

न्यूनतम साझा कार्यक्रम बनाउने कार्यदलमा रकम चेम्जोङ जाने गरेका छन् भने शीर्ष नेताहरुको बैठकमा अध्यक्ष यादव आफैं उपस्थित हुने गरेका छन् । तर संविधान संशोधन लगायतका मुद्दा र सम्मानजनक शक्ति बाँडफाँट भए मात्र सरकारमा जाने नेताहरु बताउँछन् ।

जसपाको अलमललाई बुझेका देउवाले बिहीबार अध्यक्ष यादवसँग भेट गरेका हुन् । कांग्रेस नेताहरुका अनुसार यो भेटमा केन्द्रसँगै प्रदेशका सरकारबारे छलफल भएको छ । ‘सत्तारुढ दलहरुले समर्थन जुटाउन खोज्नु र विपक्षीले नपुगोस् भनेर प्रयास गर्नु स्वभाविक हो’, कांग्रेसका एक नेता भन्छन्, ‘उहाँ (उपेन्द्र यादव) सँग पनि यही विषयमा कुराकानी भएको छ ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २६ पुषमा विश्वासको मत लिने तय भएको छ । हाल सरकारमा सहभागी एमाले (७९), माओवादी केन्द्र (३२), राष्ट्रिय स्वतन्त्र पार्टी (२०) र जनमत पार्टी (६) गरी १३७ मत सुरक्षित देखिन्छ । प्रधनमन्त्रीमा दाबी पेश गर्दा साथ दिएका स्वतन्त्र सांसदद्वय अमरेशकुमार सिंह र प्रभु साहले मात्र मत दिए पनि प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभाको विश्वास छ भन्ने प्रमाणित गर्न आवश्यक १३८ सांसदको समर्थन पाउने छन् ।

साथै राप्रपा (१४) र नागरिक उन्मुक्ति पार्टी (४) ले पनि विश्वासको मत दिने सम्भावना छ । १० सांसद भएको एकीकृत समाजवादीले भने २६ गते मात्र निर्णय गर्ने बताएको छ । त्यसैले जसपा र कांग्रेस एक ठाउँमा उभिँदा पनि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाउने प्रष्ट देखिन्छ ।

कांग्रेस नेताहरुका अनुसार जसपाको साथ संघीय सरकारका लागि मात्र खोजिएको होइन । मधेश, बागमती र सुदूरपश्चिम प्रदेशमा एमाले–माओवादी इतरको सरकार बनाउन कांग्रेसले प्रयास गरिरहेको छ ।

मधेश प्रदेशको दोस्रो ठूलो दल कांग्रेससँग २२ प्रदेशसभा सदस्य छन् । जसपासँग १६ र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सँग ९ प्रदेशसभा सदस्य छन् । १०७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ५४ प्रदेशसभा सदस्यको साथ चाहिन्छ ।

जसपाले साथ दिएको अवस्थामा जनमत पार्टी र स्वतन्त्र प्रदेशसभा सदस्यको समर्थन जुटाएर सरकार बनाउन कांग्रेसले कसरत थालेको छ । सरकार गठनका लागि कांग्रेसले प्रयास गरिहेको स्वीकार गर्दै संसदीय दलका नेता कृष्ण यादव जन प्रहारलाई भन्छन्, ‘एक घण्टामा सबथोक परिर्वतन हुनसक्छ भने यहाँ केन्द्रमा भन्दा फरक गठबन्धन नबन्ला भन्न सकिन्न ।

बाग्मती प्रदेशमा भने राप्रपाको साथ लिएर सरकार बनाउने कांग्रेस नेताहरुको प्रयास छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले बिहीबार दुई वा दुईभन्दा बढी दलको समर्थन जुटाएर मुख्यमन्त्रीमा दाबी पेश गर्न दलहरुलाई पुस २५ गते अपराह्न ४ बजेसम्म दिएका छन् ।

११० सदस्यीय प्रदेशसभामा बहुमतका लागि ५६ प्रदेशसभा सदस्य चाहिन्छ । सबभन्दा ठूलो दल कांग्रेसका ३७ प्रदेशसभा सदस्य छन् भने एमाले (२७) र माओवादी केन्द्रका (२१) सँग ४८ प्रदेशसभा सदस्य छन् । १४ प्रदेशसभा सदस्य भएको राप्रपाले जसलाई साथ दिन्छ, उसकै सरकार बन्ने अवस्था रहेको छ ।

एमाले र माओवादीले केन्द्रमा प्रधानमन्त्रीले विश्वासको मत लिएपछि प्रदेशको शक्ति बाँडफाँटबारे छलफल गर्न चाहेका थिए । तर २५ गतेभित्र दाबी पेश गर्नुपर्ने भएपछि उनीहरु अफ्ठ्यारोमा परेका छन् । यही बेला कांग्रेस नेताहरुले राप्रपा नेताहरुलाई मुख्यमन्त्री दिन तयार रहेको सन्देश दिएका छन् । कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना भन्छिन, ‘कुराकानी भइरहेको छ, सरकारको नेतृत्वबारे खुला छौं भन्ने पनि भनेका छौं ।

राप्रपाले एमाले–माओवादीसहितको गठबन्धनमा पनि बागमती प्रदेशमा आफूहरुलाई मुख्यमन्त्री दिनुपर्ने माग गरेको छ । प्रदेशसभा संसदीय दलका नेता उद्धव थापाले पहिलो पालोमा आफूहरुलाई सरकारको नेतृत्व दिन माग गरेको बताएका छन् । सरकार गठनका लागि कांग्रेसले पनि प्रस्ताव गरिरहेको भन्दै उनी भन्छन्, ‘राजनीतिमा असम्भव भन्ने केही छैन ।

कांग्रेसले एमाले–माओवादी इतर सरकार बनाउने प्रयास गरिरहेको अर्को प्रदेश हो, सुदूरपश्चिम ।

५३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि २७ प्रदेशसभा सदस्यको समर्थन चाहिन्छ । सबभन्दा ठूलो दल कांग्रेसँग १९ प्रदेशसभा सदस्य छन् भने एमाले (१०) र माओवादी केन्द्र (११) सँग पनि २१ जना मात्र छन् । ७ प्रदेशसभा सदस्य भएको नागरिक उन्मुक्ति पार्टीले जसलाई समर्थन गर्छ, उसले सरकार बनाउने सम्भावना छ । यहाँ नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्री दाबी गरिरहेको छ ।

मुख्यमन्त्री बनाउने गरी प्रदेश इन्चार्ज खगराज भट्टलाई प्रदेशसभामा पठाएको माओवादी केन्द्र प्रदेश सरकारको नेतृत्व छाड्ने पक्षमा छैन भने एमालेको पनि दाबी कायमै छ । त्यसलाई बुझेका कांग्रेस नेताहरुले नागरिक उन्मुक्तिका नेताहरुसँग मुख्यमन्त्रीबारे छलफल गर्न सकिने सन्देश दिएका छन् ।

कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले सरकार गठनका लागि प्रयास भइरहे पनि केही भनिहाल्ने अवस्था नभएको बताएका छन् । कांग्रेसका एक केन्द्रीय सदस्यका अनुसार पार्टीका केही नेता सरकार बन्ने विश्वासका साथ प्रयासरत छन् । भन्छन्, ‘राष्ट्रिय राजनीतिसँग जोडिएका मुद्धाहरुका कारण एमाले–माओवादीतिरै जाने सम्भावना देख्छु ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४