Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

साँघुरो भयो कैदीबन्दीलाई केन्द्रीय कारागार


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, पुष १८ २०७९
  • 4.9K
    SHARES

काठमाडौं । कारागारको क्षमताभन्दा बढी कैदीबन्दी हुँदा काठमाडौँको जगन्नाथदेवलमा रहेको देशकै सबैभन्दा पुरानो ‘केन्द्रीय कारागार’ व्यवस्थापनमा चुनौती बन्दै गएको छ । विसं १९७१ मा ४३ रोपनी क्षेत्रफलमा स्थापना भएको केन्द्रीय कारागारमा अहिले क्षमताभन्दा दुई गुणा बढी कैदीबन्दी रहेका छन् । केन्द्रीय कारागार परिसरभित्र हाल केन्द्र, भद्र र महिला गरी तीन वटा जेल रहेका छन् ।

केन्द्रीय कारागार सुन्धाराका कारागार प्रशासक ईश्वरीप्रसाद पाण्डे एक हजार पाँच सय क्षमता रहेको केन्द्रीय कारागार सुन्धारामा हाल तीन हजार चार सय ४८ कैदीबन्दी रहेको बताउँछन् । ‘कारागारको क्षमताभन्दा दुई गुणा बढी कैदीबन्दी अहिले केन्द्रीय कारागारमा छन्’, उनले भने । हाल केन्द्रीय कारागार परिसरभित्र रहेको केन्द्र जेलमा एक हजार नौ सय दुई, भद्र जेलमा एक हजार एक सय २२ र महिला जेलमा चार सय २४ कैदीबन्दी रहेका छन् । जसमध्ये केन्द्रीय कारागारमा एक हजार सात सय २० कैदी, एक हजार सात सय ३८ थुनुवा र १४ नाबालक रहेका छन् । जसमा दुई सय ५८ विदेशी कैदीबन्दी छन् ।

अदालतबाट मुद्दा फैसला भई कारागार सजाय भोगिरहेकालाई ‘कैदी’ र अदालतमा मुद्दा चलिरहेका तर फैसला नभई कारागार सजाय भोगिरहेकालाई ‘बन्दी’ भनिन्छ । देशको राजधानी काठमाडौँमा धेरै आपराधिक क्रियाकलाप हुने भएका कारण पनि अपराध गरेर कारागारभित्र आउनेको सङ्ख्या बढी भएको कारागार प्रशासक पाण्डे बताउँछन् । विसं १९७१ मा निर्माण गरिएका संरचनाबाहेक अहिले केही संरचना निर्माण भए पनि कैदीबन्दीलाई भने अझै अपुग भएको छ ।

केन्द्रीय कारागारको जिम्मा नेपाल प्रहरीले दिँदै आएको छ । काठमाडौँको केन्द्रीय कारागार, डिल्लीबजार कारागार र नख्खु कारागारको सुरक्षाका लागि नेपाल प्रहरीले प्रहरी नायब उपरीक्षक (डीएसपी)को कमाण्डमा तीन सय ७६ प्रहरी परिचालन गरेको छ । केन्द्रीय कारागारसहित तीनवटै कारागारको सुरक्षामा खटिएका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापा कारागारभित्र सिसी क्यामरा जडान गरिएका कारण कैदीबन्दीको सुरक्षामा सहजता भएको बताउँछन् । हाल केन्द्रीय कारागारमा दुई सय ५० र बाँकी दुई कारागारमा एक सय २६ प्रहरी कारागारको सुरक्षामा खटाइएको उनको भनाइ छ । केन्द्रीय कारागारबाहेक हाल डिल्लीबजार कारागारमा छ सय ३४ र नख्खु कारागारमा एक हजार तीन सय ९७ कैदीबन्दी रहेका छन् ।

यस्तै केन्द्रीय कारागारभित्र कारागार अस्पतालसमेत सञ्चालनमा रहेको छ । छ जना विशेषज्ञ डाक्टरसहित रहेको उक्त अस्पताल ३० शय्याको रहेको छ । सो अस्पतालबाट कैदीबन्दीको छाला, मधुमेह, जन्डिस, श्वासप्रश्वास, फोक्सोको समस्या, हातगोडा पाक्ने र सुन्निनेलगायतका रोगको उपचार हुँदै आएको छ । केन्द्रीय कारागार साँघुरो हुँदै गएपछि सरकारले नुवाकोटको विदुर नगरपालिका वडा नं ६ खम्बाली क्याम्पमा केन्द्रीय कारागार निर्माणको कामलाई अगाडि बढाएको छ भने बाँकेको झुम्कामा क्षेत्रीय कारागार निर्माण गर्न लागेको छ ।

विसं २०७० चैत २० को मन्त्रिपरिषद्को बैठकले काठमाडौँस्थित केन्द्रीय कारागारलाई नुवाकोटमा स्थानान्तरण गर्ने निर्णय गरेअनुसार नुवाकोटमा केन्द्रीय कारागार निर्माणको कामले तीव्रता पाएको हो । उक्त कारागारमा सात हजार कैदीबन्दी अटाउनेछन् भने बाँकेमा तीन हजार कैदीबन्दी अट्नेछन् । कारागार व्यवस्थापन विभागका अनुसार हाल देशभरका ७२ जिल्लामा ७४ कारागार रहेका छन् । काठमाडौँ र दाङमा दुई/दुई वटा कारागार रहेका छन् भने भक्तपुर, बारा, धनुषा, पूर्वी नवलपरासी र पूर्वी रुकुममा कारागार छैनन् । अहिले देशभर २५ हजारको हाराहारीमा कैदीबन्दी रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४