काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को शपथसँगै आजै सानो आकारको मन्त्रिपरिषद् गठनको तयारी भएको छ ।
पहिलो चरणमा एमाले र माओवादीबाट मात्र मन्त्री नियुक्त हुने र त्यसपछि साना दलले निर्णय गरेपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने नयाँ गठबन्धनको तयारी रहेको छ । आज दिउँसो ४ बजे प्रधानमन्त्रीको शपथअघि नयाँ गठबन्धनबीच छलफल हुँदैछ । एमाले, माओवादी लगायतका दलको आन्तरिक बैठक पनि बस्दैछ ।
एमालेले विष्णु पौडेलको नेतृत्वमा सरकारमा जाने तयारी गरेको छ । यसअघि पौडेल केपी शर्मा ओलीको पछिल्लो सरकारमा करिब ९ महिना अर्थमन्त्री बनेर सफल अर्थमन्त्रीको रूपमा बाहिरिएका थिए । यस पटक पनि उनले अर्थमन्त्री पाउने सम्भावना रहेको जनाइएको छ ।