Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चार्ल्स–निहिताबीच ब्रेकअप !


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, पुष ९ २०७९
  • 2.9K
    SHARES

आफूलाई शोभराजको श्रीमतीको रुपमा चिनाउन समेत चाहिनन् । शोभराज ‘पहिलो पक्ष’ भएको भन्दै उनले सुरक्षित रुपमा फ्रान्स पुर्‍याउन कानुन व्यवसायीको रुपमा जे गर्नुपर्छ, आफूले त्यही गर्ने बताइन् ।

काठमाडौं । ‘ऐसी उलझी नजर उनसे हट्ती नहीं
                       दाँत से रेशमी डोर कट्ती नहीं
                       उम्र कब कि बरस के सुफेद हो गयी
                       कारी बदरी जवानी की छटती नहीं
                       वल्ला ये धड्कन बढ्ने लगी है’

यो हिन्दी चलचित्र इस्कियाको गीत हो, जुन कुख्यात विकिनी किलर चार्ल्स शोभराजको जीवनसँग ठ्याक्कै मेल खान्छ । जब ६६ वर्षका शोभराज आफूभन्दा ४४ वर्ष कान्छी युवतीसँग प्रेममा पर्छन्, त्यसपछिको परिस्थिति बुझाउन यो गीत काफी छ ।

भनिन्थ्यो, चार्ल्सका लागि यस्ता कुनै जेल छैन, जसलाई उनले तोड्न नसकून् । हुन पनि उनले अफगानी कारागारदेखि भारतको सबभन्दा सुरक्षित तिहाड जेलसम्म तोडेका थिए ।

तिहाड जेलमा सुरक्षाकर्मीलाई जन्मदिन पार्टी दिएर सबैलाई बेहोस बनाउँदै उनी रहस्यमय तरिकाले फरार भएका थिए । भारतबाहेक पनि शोभराज कम्तीमा ८ देशका लागि ‘मोस्ट वान्टेड’ थिए ।

नेपालको जेल पनि उनका लागि अरुभन्दा कठिन थिएन । किनकि, कुनै बेला उनका लागि कारागारको सेलमा कम्प्युटरको मात्र व्यवस्था थिएन, साथमा मोबाइल पनि हुन्थ्यो । चाहेको बेला जोसुकैसँग कुरा गर्न सक्थे ।

त्यति मात्र कहाँ हो र ! संसारका लागि कुख्यात विकिनी किलर शोभराज जेलमै प्रेम लीला मच्चाइरहेका हुन्थे । अरु कैदीबन्दीका लागि भने आफन्त भेट्न पनि सहज थिएन । कुख्यात विकिनी किलरका लागि भने ठिक विपरित थियो ।

उनले २३ असोज २०६५ मा जेलभित्रै २२ वर्षीया युवती निहिता विश्वाससँग विवाह गरे । जेलरले यसको भेउ पाएनन् ।

इस्कियाको गीतमा पनि भनिएको छ, ‘चेहरे की रंग त उड्ने लगी है, दिल तो बच्चा है जी, थोडी कच्चा है जी ।’ अर्थात्, अनुहारको रंग उड्न लागेको छ, तर मन चाहिं अझै कलिलै छ ।

नेपालबाट डिपोर्ट भएपछि फ्रान्स जाने क्रममा शोभराज ।
बिहेपछि पनि निहिता पटकपटक कारागार पुगिराख्थिन् । शोभराजलाई अदालतमा उपस्थित गराउँदासँगै पुग्थिन्, शोभराजको पक्षमा सञ्चारमाध्यमहरुलाई प्रतिक्रिया दिन्थिन् ।

शोभराजले कानुनी लडाइँका लागि नेपाली–फ्रेन्च ट्रान्सलेटर खोज्दै पत्रिकामा विज्ञापन नै निकालेका थिए । त्यसमा निहिताले पनि दर्खास्त दिएकी थिइन् । आमा पनि कानुन व्यवसायी भएकाले उनलाई शोभराजले छाने ।
‘उनी’ पुस्तकमा छापिएको एउटा अन्तर्वार्तामा उनले शोभराज २५ वर्षे तन्नेरीभन्दा कम फुर्तिलो नभएको बताउँदै बौद्धिक दृष्टिकोणले परिपक्व र आफ्नो उमेर जस्तै रोमान्टिक भएको बताएकी थिइन् । उनले त्यहाँ प्रश्न गरेकी छन्, ‘प्रेम थ्रोडी शरीरलाई गर्ने हो र ?’

शोभराजसँग जोडिएकै कारण उनले भारतको चर्चित रियालिटी शो ‘बिग बोस’ को सिजन –५ मा सहभागी हुने मौका समेत पाइन् ।

तर पछिल्ला वर्षहरुमा परिस्थिति फेरिएको थियो । शोभराजलाई भेट्न कारागार जान छाडिन् । शोभराजले चाहिं जेलबाट उनलाई फोन गर्न छाडेका थिएनन् । कारागार स्रोतका अनुसार निहितालाई ‘वाइफ’ भनेरै सम्बोधन गर्थे भने उनकी आमा शकुन्तला विश्वासलाई ‘मदर इन ल’ भन्थे ।

पछिल्ला वर्षहरुमा शकुन्तलाको आउजाउ पनि पातलिएको थियो । कतिपय अवस्थामा उनीसँग जेलभित्र पैसाको अभाव हुन्थ्यो । कारागार बसेर निस्किएका शोभराजबारे जानकार एक बन्दी भन्छन्, ‘कहिलेकाहीं मिठो मसिनो खाने मन जसलाई पनि हुन्छ । तर उनीसँग कैयौं पटक पैसा हुन्नथ्यो ।’

कारागारमा उनी जति कष्टकर जीवन विताइरहेका थिए, निहिता पनि त्यति नै उनको जीवनबाट टाढिंदै गएको स्रोतको दाबी छ । शकुन्तलाले पनि तीन महिना अघि आफूले चार्ल्सको मुद्दा हेर्न छाडेको बताएकी थिइन् ।

‘तपाईं आफैं गएर बुझ्नुस् अहिले अरु नै कोही उनको मुद्दा लडिरहेका छन्’ शकुन्तलाले भनेकी थिइन्, ‘यू माइट फाइन्ड इन्ट्रेस्टिङ (तिमीले केही रोचक फेला पार्न सक्छौं) ।’ उनले त्यसबेला कसले शोभराजको मुद्दा हेरिरहेको छ भन्ने खुलाइनन् ।

सन् २००३ मा हिमालय टाइम्सका लागि राजेश गुरुङले खिचेको यही तस्वीरका कारण कुख्यात सिरियल किलर चार्ल्स शोभराज नेपालमा छन् भन्ने खुलासा भएको थियो । त्यसको तीन दिनपछि नेपाल प्रहरीले उनलाई ठमेलको क्यासिनो रोयलबाट पक्राउ गरेको थियो ।

बुधबार सर्वोच्च अदालतबाट शोभराजलाई छाड्ने आदेश आएलगत्तै सञ्चारमाध्यमहरुले निहितालाई सम्पर्क गर्ने कोशिश गरेका थिए । तर उनी सम्पर्कमा आइनन् । निहिताकी आमा शकुन्तलाले चाहिं शोभराज छुट्न लागेको सुन्दा खुशी लागेको बताउँदै भोलि थप बुझ्ने प्रतिक्रिया दिएकी थिइन् ।

शोभराजको कानुनी लडाइँमा सहयोग गरेका एक सहयोगीको भनाइमा निहिता र शकुन्तलाले खुलेर सहयोग गरेका थिएनन् । ‘अदालतमा बोलाउँदा पनि निकै दुःख गर्नु परेको थियो’ स्रोत भन्छ, ‘कागजात माग्दा पनि त्यति धेरै सहयोग भएको थिएन ।’

बुधबार पनि यस्तै भयो । शोभराज जेलबाट छुट्न जिल्ला अदालत, भक्तपुरबाट पत्र ल्याउनुपर्ने थियो । स्रोतका अनुसार शोभराजका कानुन व्यवसायीहरुलाई निहिताले आफू भक्तपुर गएर चिठ्ठी ल्याउने बताएकी थिइन् । तर व्यस्तता देखाएर ल्याइनन् ।

पछि शोभराजका कानुन व्यवसायी आफैं गए । ‘सबै प्रक्रिया हिजै सक्न पाएको भए, आजसम्म दुःख हुने नै थिएन’ स्रोत भन्छ, ‘तर दिउँसो १ बजे बल्ल निहिताले म अन्तै छु, भक्तपुर जान पाइनँ भनेकी थिइन् ।’

कानुन व्यवसायीले जिल्ला अदालत, काठमाडौं र भक्तपुरको पुराना फैसलाको कागजात शकुन्तला र निहितासँग मागेका थिए । त्यसमा पनि सहयोग नभएको उनीहरुको गुनासो छ ।

बिहीबार चाहिं शोभराजलाई भेट्न कानुन व्यवसायी शकुन्तला केन्द्रीय कारागार, सुन्धारा पुगेकी थिइन् । तर कारागार प्रशासनले उनी छुटिहाल्ने भन्दै कसैलाई भेट्न दिएन । निहिता भने गइनन् ।

शुक्रबार चाहिं कारागारबाट शोभराज निस्किंदै गर्दा निहिता अध्यागमन विभागमा पुगेकी थिइन् । शोभराज पुग्दा निहिता त्यहीं थिइन्, तर चार्ल्सले भेट्न चाहेनन् । शकुन्तलासँग पनि शोभराजको भेट भएन ।

यसबारे जानकार स्रोत भन्छ, ‘उनीहरुले कानुनी प्रक्रियाका क्रममा के–के गरे भन्ने शोभराजलाई सबै थाहा थियो । त्यसैले अरुलाई पनि हायर गरिएको थियो ।’

शोभराज छुट्ने बेला उनलाई नयाँ ज्याकेट, जुत्ता लगायतका कपडा लगायत किनिएको थियो । टिकट महाराजगञ्जस्थित सिमल ट्राभल्सबाट काटिएको थियो ।

फ्रान्सबाट शोभराजका परिवार र आफन्तले खर्च पठाएका थिए भने यसको सबै चाँजोपाँजो उनका कानुन व्यवसायीहरुले नै मिलाएका थिए ।

‘हामीले टिकट काटिदिएका थियौं, लुगाफाटाे किनिदिएका थियौं’ शोभराजका कानुन व्यवसायीका एक जना सहयोगीले भने, ‘पैसा चाहिं उताबाटै आएको थियो ।

निहिताको प्रतिक्रिया – पहिल्यै मैले धेरै भन्नु नहुने थियो

अध्यागमन विभागमा भेटिएकी निहिताले पनि शोभराजसँगको सम्बन्धबारे खुलेर कुरा गर्न चाहिनन् ।

‘१२ वर्षअघि जेलमा विवाह गर्नुभयो…?’, अध्यागमन विभागमा भेटिएकी उनले प्रश्न सक्किनसक्दै जवाफ फर्काइहालिन्, ‘अहिले त्यतातिर नलागौं, त्यो निजी कुरा हो ।’

आफूलाई शोभराजको श्रीमतीको रुपमा चिनाउन समेत चाहिनन् । शोभराज ‘पहिलो पक्ष’ भएको भन्दै उनले सुरक्षित रुपमा फ्रान्स पुर्‍याउन कानुन व्यवसायीको रुपमा जे गर्नुपर्छ, आफूले त्यही गर्ने बताइन् ।

पत्रकारले शोभराजसँगको सम्बन्धबारे धेरैको चासो छ नि भन्ने प्रश्नमा उनी अलि असहज सुनिइन्, ‘चासोले कुनै उपलब्धि ल्याएन । तपाईंहरुलाई यो चासोको कुरा भन्दा पनि खुल्दुलीको कुरा मात्रै हो ।

पहिलो पत्नीसँग शोभराजको डिभोर्स भइसकेको छ । छोरी उषा अमेरिकी सरकारसँग जोडिएर ‘काउन्टर टेरोरिज्म’ र ‘होमल्याण्ड सेक्युरिटी’का लागि काम गर्छिन् ।
उनले आफ्नो निजी जीवन आफैंसँग राख्न चाहने बताइन् । ‘मैले पहिले धेरै भन्नु नहुने थियो । तपाईंहरुले त्यसलाई पातको पतंग बनाइदिनुभयो’ निहिताले भनिन्, ‘अहिले मुख्य कुरा सुरक्षाको राम्रो व्यवस्थापन गरेर मात्र रिलिज गर्नु जरुरी हो ।’

‘तपाईं फ्रान्स जानुहुन्छ ?’, उनलाई अर्को प्रश्न सोधियो । जवाफमा उनले चार्ल्ससहित अरु सेवाग्राहीहरुका केश पनि बराबर सम्बोधन गर्नुपर्ने बताइन् । भनिन्, ‘मेरा केही दायित्व छन्, त्योबाहेक परिवार र दूतावाससँग समन्वय गर्नुपर्ने सबै कुराहरु गर्छु ।’

निहिता र शोभराजको पहिलो भेट कहिले भयो भन्ने यकिन छैन ।

शोभराजका सहयोगीहरुले बताएअनुसार शोभराजले कानुनी लडाइँका लागि नेपाली–फ्रेन्च ट्रान्सलेटर खोज्दै पत्रिकामा विज्ञापन नै निकालेका थिए । त्यसमा निहिताले पनि दर्खास्त दिएकी थिइन् । आमा पनि कानुन व्यवसायी भएकाले उनलाई शोभराजले छाने । कुराकानीको दुई हप्तामै उनीहरु प्रेम सम्बन्धमा गाँसिएको निहिताले नै एक अन्तर्वार्तामा खुलाएकी छन् ।

पेरिसमा शोभराजकी जेठी श्रीमती छन्थल कम्पाग्नन र छोरी उषा छन् । पहिलो छन्थलसँग पनि उनले प्रेम विवाह गरेका थिए । सन् १९६९ मा एक पार्टीमा उनलाई भेटर जुन दिन विवाहको प्रस्ताव राखेका थिए, त्यही दिन उनी कार चोरीको आरोपमा पक्राउ परेका थिए । ८ महिनापछि छुटेर उनले विवाह गरेका थिए ।

उनीसँग शोभराजको डिभोर्स भइसकेको छ । छोरी उषा अमेरिकी सरकारसँग जोडिएर ‘काउन्टर टेरोरिज्म’ र ‘होमल्याण्ड सेक्युरिटी’का लागि काम गर्छिन् ।

शोभराजसँग उनीहरुको अहिले सम्पर्क नभएको बताइन्छ । यद्यपि, शोभराज कारागारमा रहँदा हप्तामा दुईदेखि तीन पटकसम्म पेरिसमा सम्पर्क गरिराख्थे । त्यहाँ उनको परिवारका अन्य सदस्यहरु भएको बताइन्छ । त्यसो त कतिले फ्रान्समा उनको सम्पत्ति पनि भएको बताउँछन् । यद्यपि यसको स्वतन्त्र पुष्टि भएको छैन ।

शोभराजले बाँकी जीवन आफूलाई गलत तरिकाले प्रस्तुत गर्ने र फसाउनेविरुद्ध मुद्दा मामिला गरेर विताउने बताएका छन् ।

आफ्नोबारे गलत डकुमेन्ट्री बनाउने बीबीसी, नेट्फिल्क्स लगायतलाई मुद्दा हालेर क्षतिपूर्ति दाबी गर्ने शोभराजको प्रतिक्रिया छ । उनले केन्द्रीय कारागारमा रहँदै भनेका छन्, ‘बाँकी जीवन मैले कानुनी लडाइँ गरेर पैसा कमाउने हो ।

नेपाल सरकारविरुद्ध पनि मुद्दा हाल्ने शोभराजको प्रतिक्रिया छ ।

‘विकिनी किलर’ भनेर चिनिने शोभराज २ असोज २०६० मा काठमाडौंको क्यासिनो रोयलबाट पक्राउ परेका थिए । उनलाई जिल्ला अदालत, भक्तपुरले कर्तव्य ज्यान सम्बन्धी मुद्दामा सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।

शोभराजले २१ डिसेम्बर १९७५ मा भक्तपुरमा आरमण्ड लरेन्ट क्यारियरे र त्यसको दुई दिनपछि कोनिजो ब्रान्ची नामक युवतीको हत्या गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४