काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको नेतामा पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र पार्टीका महामन्त्री गगनकुमार थापाबीच प्रतिस्पर्धा हुँदैछ । उनीहरूले मंगलबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।
सभापति देउवाको प्रस्तावकमा बरिष्ठ नेता रामचन्द्र पौडेल रहेका छन् भने महामन्त्री थापाको प्रस्तावकमा अर्का बरिष्ठ नेता डा. शेखर कोइराला रहेका छन् । देउवालाई उपसभापति पूर्णबहादुर खड्का समर्थक बसेका छन् । त्यस्तै, थापालाई उपसभापति धनराज गुरुङ महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रिय सदस्य प्रदीप पौडेलले समर्थन गरेका छन् ।
नेता रामचन्द्र पौडेल आफू नै संसदीय दलको नेताको आकांक्षी भएको दाबी गर्दै आएका थिए । तर, देउवा आफ्नो अडानबाट पछि नहटेपछि पौडेलले देउवालाई समर्थन गर्न बाध्य भएका हुन् ।
कोइराला समूहमा प्रदीप पौडेलको प्रवेश भएको छ । आफ्नो समर्थनमा जति सक्दो धेरै सांसद जुटाउने प्रयासमा कोइराला समूह रहेका बेला पौडेल पुगेका हुन् । दलको नयाँ नेता चयनका लागि आज बिहान ८ बजे निर्वाचन हुनेछ । संसदीय दलको नेता छान्न कांग्रेसले भीष्मराज आङ्देम्बेदे संयोजक रहेको तीन सदस्यीय निर्वाचन समितिका बनाएको छ ।
- यस्तो छ सम्भावित अंकगणित
अहिलेसम्मको अवस्थामा देउवाको पक्षमा ५६ र थापाको पक्षमा ३३ जना सांसद उभिने देखिएको छ । तर, यो संख्यामा निर्वाचनको दिन तलमाथि हुनसक्छ । कांग्रेसका ८९ सांसदमध्ये मनाङबाट निर्वाचित टेकबहादुर गुरुङले भोट हाल्न पाउँदैनन् । अदालतमा मुद्दा विचाराधीन रहेकाले संस्थापन पक्षका उनी मतदानमा सहभागी हुने छैनन् ।