काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले सभापति देउवालाई उम्मेदवारी फिर्ता लिएर नेपाली राजनीतिमा ऐतिहासिक स्थान बनाउन आग्रह गरेका छन् । संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ता गराएपछि थापाले सभापति देउवालाई उम्मदेवारी फिर्ता लिन आग्रह गरेका हुन् ।
सिंहदरबारस्थित दलको कार्यालयमा उम्मेदवारी दर्ता गरेपछि महामन्त्री थापाले आफ्ना प्रस्तावक र समर्थक नेताहरुलाई धन्यवाद दिदै वरिष्ठ नेता रामचन्द्र पौडेललाई कांग्रेसको भविष्यप्रति चिन्ता गरेर परिवर्तनको सन्देश बुझ्न आग्रह गरेका थिए । उनले पौडेलप्रति कटाक्षा गर्दै इतिहासको मागलाई अहिले नै नबुझे पछि पछुताउनुको विकल्प नरहने बताएका छन् ।
थापाको प्रस्तावकमा डा. शेखर कोइराला बसेका छन भने समर्थनमा उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेल रहेका छन् । उनीभन्दा अगाडि सभापति देउवाले आफ्नो उम्मेदवारी दर्ता गरेका थिए । महामन्त्री थापाले शान्त मनले सोच्न र आफ्नो उम्मेदवारी फिर्ता लिने ऐतिहासिक निर्णय लिन सभापति देउवालाई दाहोर्याउदै आग्रह गरेका छन् । उनले कांग्रेसका सांसदहरुलाई जनमतको सम्मान गर्न र परिर्वतनको पक्षमा उभ्याउन पनि आग्रह गरेका छन् ।
