काठमाडौं । संसदीय दलको नेतामा साझा उम्मेदवार बनाउन नेपाली कांग्रेस इतर समूहका नेताहरूबीच छलफल चलिरहेको छ । छलफल लैनचौरमा रहेको होटेल एम्बासडरमा भइरहेको छ । बैठकमा समूहका शिर्ष नेताहरूको सहभागिता रहेको छ ।
कांग्रेस संसदीय दलको निर्वाचन बुधबार हुँदै छ । यो समूहबाट नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापा संसदीय दलको नेता लड्ने तयारीमा छन् । संस्थापन समूहबाट सभापति शेरबहादुर देउवा एकल उमेदवार छन् । आइतबार बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संसदीय दलको निर्वाचन गराउन सहमहामन्त्री भिष्मराज आङदेम्बेको नेतृत्वमा तीन सदस्यीय निर्वाचन समिति बनाएको थियो ।
संसदीय दलको नेता छान्नुभन्दा ४८ घन्टाअघि कांग्रेस सभापति शेरबहादुर देउवाको इतर समूहले निर्णायक छलफल थालेको हो । उपसभापति धनराज गुरुङले आफ्नो पहलमा राजधानीको होटल एम्बासडरमा आज सोमबार छुट्टाछुट्टै बैठकहरु राखेका हुन् । बिहानैदेखि चलेका अलग अलग मिटिङका सुरु चरणमा थापा र कोइराला दुवैलाई सहभागी नगराइ छलफल गरिँदैछ ।