काठमाडौं । नेपाली कांग्रेसमा प्रधानमन्त्री बन्नका लागि पार्टी संसदील दलको नेता बन्नै पर्ने अनिवार्य प्रावधान छ । पद एउटा छ । तर, आकांक्षी छन् ६ जना । हाल प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवा, महामन्त्री गगनकुमार थापा, वरिष्ठ नेता रामचन्द्र पौडेल, डा.शेखर कोइराल, डा.शशांक कोइराला र नेता प्रकाशहमान सिंह अहिले कांग्रेसमा भावी प्रधानमन्त्रीका दावेदार हुन् ।
प्रधानमन्त्री बन्न संसदीय दलको नेता पहिले बन्नुपर्छ । नेता बन्न मंसिर ४ मा सम्पन्न भएको निर्वाचनबाट प्रत्यक्ष र समानुपातिकबाट आएको सांसदहरुको बहुमत चाहिन्छ । तर, दलको नेता बन्न धेरै मत देउवाका पक्षमा छ भने बाँकी रहेको मत डा. शेखर कोइरालासँग छ । सिधै हिसाव गर्दा ५५ मत देउवाका पक्षमा छ भने ३४ मत शेखरका पक्षमा । महामन्त्री गगन पनि अहिलेसम्म कोइराला पक्ष उभिएका छन् ।
देउवा पक्षको भनिएको अर्का महामन्त्री विश्वप्रकाश शर्माको मत कता जान्छ अहिलेसम्म पत्तो छैन् । उनले महामन्त्री थापालाई सहयोग गर्ने बचन यस अगाडी दिएका थिए । तर, थापा संसदीय दलको नेता बन्ने लक्षण हाल स्पष्ट भइसकेको छैन् । यद्यपी नेताहरु भने एकले अर्कोलाई जितको शुभकामना दिने बहानामा आफुलाई संसदीय दलको नेता मान्न आग्रह गरिहेका छन् ।
सभापति देउवा आफै संसदीय दलको नेता बन्न कसरतमा लागि रहेका बेला मंगलबार पूर्वमहामन्त्रीसमेत रहेका नेता शशाांक कोइरालाले सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलसँग भेट गर्दै भोट मागेका छन् । कांग्रेस नेता पौडेल र कोइरालाबीच पनि यसै विषयमा भेटवार्ता भएको छ । प्रत्यक्षतर्फको निर्वाचन परिणाम आइसकेको र पार्टीभित्र संसदीय दलको नेता चयनका विषयमा बहस चलिरहेका बेला पौडेल र कोइरालाबीच भेटवार्ता भएको हो । मंगलबार बिहान पौडेल महाराजगञ्जस्थित कोइराला निवास पुगेका थिए ।
चुनाव जितेर आएका दुई नेताबीच बधाई साँटासाट भएको भनिएपनि कारण थियो संसदीय दलको नेता नै । नेताहरूबीच समसामयिक राजनीतिक विषयमा समेत छलफल भएको थियो । दुवै नेता पार्टीको संसदीय दलको नेताका आकांक्षी हुन् । दुवैले प्रधानमन्त्रीका लागि दाबी गरिरहेका छन् । तर पार्टीमा भने गत महाधिवेशनदेखि दुवै नेताहरू पाखा लागेका छन् । १४ औँ महाधिवेशनमा चुनाव नलडेका पौडेल र कोइरालाले सभापतिमा शेरबहादुर देउवालाई सघाएका थिए ।
पौडेल र कोइरालाबीच भेट भएपछि प्रधानमन्त्री एवम सभापति देउवालाई भेट्न पुगेको शशांक लाई उल्टै देउवाले संसदीय दलको नेतामा फेरि इच्छा व्यक्त गरेका छन् । मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेता डा. शशांक कोइरालासँग भएको भेटवार्तामा पार्टीको संसदीय दलमा आफूलाई सघाउन आग्रह गरेपछि फेरी भेट्ने बाचा गर्दै कोइराला फर्किए ।
चुनाव जितेर काठमाडौं फर्किएका कोइराला र देउवाबीच भएको भेटमा एक अर्कालाई बधाई ज्ञापन गरेका थिए भने चुनावी परिणाम र सरकार गठनका विषयमा छोटो कुराकानी भएको थियो । देउवाले संसदीय दलको नेता म लड्दैछु, मलाई सघाउनुहोला भनेपछि कोइरालाले त्यसबारे सल्लाह गरौँला भनेर जवाफ दिएर हिँडेका थिए । यसअघि निर्वाचनको परिणाम आएलगत्तै कोइरालाले आफू पनि संसदीय दलको नेताका लागि योग्य भएको र प्रधानमन्त्रीको दाबेदार रहेको सन्देश दिएका थिए ।